काठमाडौं ।हृदयाघात भई काठमाडौं पुर्याइएका एक शिक्षकको उपचारमा समस्या भएको छ । यही असार २१ गते आफ्नै घर हुम्ला जिल्लाको चङ्खेली-१ रिमी बोहराबाडामा हृदयाघात भई तीन दिनपछि हेलिकप्टरबाट गङ्गालाल हृदयरोग केन्द्र लगिएका हीरा बोहरालाई काठमाडौं पुर्याउन नै ठूलो खर्च लाग्दा उपचारमा अर्थाभाव भएको हो ।
उनलाई हृदयाघात हुने बित्तिकै मुगु जिल्ला अस्पताल पुर्याउन र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर काठमाडौं पुर्याउनै आठ लाखको हाराहारीमा खर्च भयो । उपचारमा संलग्न उनकी श्रीमती सम्झना रोकायाले भनिन्, “हामीसँग भएको सबै रकम काठमाडौँ पुर्याउने भाडामै सकियो, अब उपचार गर्न ठूलो आर्थिक समस्या परेको छ ।”
बोहराको जिल्ला अस्पताल मुगुमा दुई दिन राख्दासमेत स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकप्टर चार्टर गरेर गङ्गालाल केन्द्रको सिसियुमा राखेर उपचार गर्दा दैनिक रु ३० हजारका दरले खर्च भएपछि तीन दिनमै उपचारमा अर्थाभाव भएको उनको हेरचाहमा खटिएका रोकायाले बताए ।
एक वर्षको कान्छो छोरा काखमा च्यापेर श्रीमान्को उपचारमा संलग्न रोकायाले रुँदै फोनमा भने, “क्याम्पसमा पढाएर कमाएको पैसा हेलिकप्टरको भाडा तिर्न पनि पुगेन, अब उपचारका लागि लाग्ने दैनिक रु ३० हजार कहाँबाट ल्याउने सिसियुमा मृत्युसँग लडिरहेका उनलाई मृत्युको मुखबाट फुत्काउन नसकिएला जस्तो छ ।”
घरको आर्थिक अवस्थाले उनको उपचार सम्भव हुन नसक्ने निष्कर्षमा पुगेका रोकायाले आफ्नो नाबालक छोराकै लागि भए पनि श्रीमानलाई आर्थिक सहयोग गरेर बचाइदिन सार्वजनिक रुपमा अपिल गरे ।
हीरा बचाउन अभियान शुरु
उपचारका लागि अर्थाभाव भएपछि सामाजिक सञ्जालमार्फत ‘हीरा बचाउ अभियान’ शुरु गरिएको छ ।
मुगुबाट काठमाडौँ लगिएको हेलिकप्टरको भाडा र उपचारमा दैनिक हुने खर्चकै अभाव भएपछि समाजकल्याण परिषद्का सदस्य तथा किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतवार अभियानको शुरुआत गरेका हुन् ।
काठमाडौँ ल्याउनेबित्तिकै अस्पताल प्रशासन र चिकित्सकसँगको परामर्शमा बोहरालाई उपचार गराए सञ्चो हुने खबर पाएपछि आर्थिक अभावकै कारण समस्या सिर्जना नहोस् भन्नाका लागि केही साथीको परामर्शमा अभियान शुरु गरिएको जनाउँदै शाहीले सकेको आर्थिक सहयोग गर्न देशविदेशमा रहेका सबैलाई अपिल गरेका छन् ।
अभियानमा सहयोग गर्न इच्छुकले उनकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब नं ४१९०१००००९९८२०१० मा जुनसुकै स्थानबाट पनि रकम जम्मा गर्न सकिने शाहीले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया