युरो कप खेल ५१: इटालीले ५३ वर्षपछि उचाल्यो युरो कप उपाधि, इङ्ल्यान्ड घरेलु मैदानमै पराजित

युरो कप २०२०

काठमाडौं । युरो कप २०२० अन्तर्गत इटाली र इङ्ल्यान्ड बिच खेलिएको फाइनल खेलमा चार पटक विश्व विजेता इटालीले इङ्ल्यान्डलाई पेनाल्टी शूटआउटमा ३-२ गोलले पराजित गरेको छ।

अतिरिक्त समयसम्म खेलमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो । पेनाल्टी शूटआउटमा इङ्ल्यान्डले आफ्नो अन्तिम तीन पेनाल्टी मिस गर्दा घरेलु मैदानमा पराजय भोगेको छ।

 

इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो। पहिलो हाफको खेल किकअफ भएको दोस्रो मिनेटमा नै इंग्लिश लेफ्ट ब्याक लुक शले शानदार ‘लेफ्ट फुटेड’ गोल प्रहार गरेका थिए।

कप्तान ह्यारी केनको शानदार ‘बिल्ड अप’ पासलाई राइट फूल ब्याक केरान् ट्रिपियरले आफ्नो नियन्त्रणमा लिएका थिए। त्यसपछि उनको ‘लफ्टेड क्रस’मा शले उत्कृष्ट ‘हाफ भली’ शट प्रहार गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। उनको यो गोल युरो कप फाइनलको इतिहासकै सबैभन्दा छिटो गरिएको गोल रह्यो।

त्यसपछि खेलमा निकै सन्तुलित प्रदर्शन देखाएको इटालीले अधिकांश समय बल पोसेसनमा हैकम जमायो। पहिलो हाफको खेलमा ६५ प्रतिशत बल पोसेसन राख्न सफल भएको इटालीले जम्मा ६ शट प्रहार गरेको थियो। खेलको ३५औं मिनेटमा इटालीका फरवार्ड किएसाले प्रहार गरेको शट इंग्लिश पोस्ट भन्दा केही परबाट बाहिरिएको थियो। निकै प्रतिस्पर्धात्मक खेल खेलेपनि इटालीले खेलमा बराबरी गोल गर्न सकेन र पहिलो हाफ १-० गोलले इङ्ल्यान्डको पक्षमा गएको थियो।

दोस्रो हाफमा पनि इटालीले शानदार एट्याकिङ फुटबल पस्कियो। इटालीले निरन्तर गरेको मेहेनत फलदायी पनि सावित भयो। खेलको ६७औं मिनेटमा अज्जुरिजले बराबरी गोल गर्न सफल भयो। लोरेन्जो इन्सिन्याले प्रहार गरेका कर्नर किकलाई इटालियन मिडफिल्डर मार्को भेराट्टीले फ्लीक गरिदिएका थिए। सोही बलमा इटालीका रक्षक लियोनार्डो बोनुचीले ‘टो पोक’ फिनिश गर्दै बराबरी गोल गरे।

निर्धारित ९० मिनेटको खेलमा १९ शट प्रहार गरेको इटालियन टोलीले ती मध्ये ६ शट टार्गेटमा राख्न सफल भएको थियो। घरेलु मैदानमा निकै कमजोर देखिएको इंग्लिश टोलीले भने पुरै खेलको दौरान मात्र २ शट टार्गेटमा राख्न सफल भएको थियो।

यद्यपि दुवै टोलीले खेलमा निर्णायक गोल गर्ने निरन्तर प्रयास गरिरहे पनि निर्धारित ९० मिनेटको खेलमा विजयी गोल भने आउन सकेन। खेलमा ६ मिनेटको इन्जुरी समय थप गरियो। थपिएको ६ मिनेटको इन्जुरी समयमा पनि दुवै टोलीबाट गोल नआउँदा यस संस्करणको युरो कप फाइनल अतिरिक्त समयतर्फ गएको थियो।

अतिरिक्त समयको पहिलो हाफमा घरेलु टोली इङ्ल्यान्डले आफ्नो प्रदर्शनमा निकै सुधार गर्यो। ९० मिनेट देखि १०५ मिनेटसम्म लगातार इङ्ल्यान्डले इटाली माथि दबदबा कायम राखेपनि गोल भने गर्न सकेन। त्यसपछि थपिएको अतिरिक्त समयको दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन्। खेलको अन्तिम मिनेट, १२०औं मिनेटमा इटालीले कर्नर किक प्राप्त गरेको थियो, तर खेलको अन्तिम समयमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा खेल पेनाल्टी शूटआउट तर्फ गएको थियो।

युरो कप फाइनलको इतिहासमा पेनाल्टी शूटआउटतर्फ जाने यो मात्र दोस्रो खेल रह्यो। यस अघि सन् १९७६ को युरो कप फाइनल पेनाल्टीबाट छिनोफानो लाग्दा चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो।

पेनाल्टी शूटआउट

इटाली

१) बेरार्डी: गोल
२) बेलोट्टी: मिस
३) बोनुची: गोल
४) बर्नारडेस्की: गोल
५) जोर्जिन्हो: मिस

इङ्ल्यान्ड

१) केन: गोल
२) मग्वायर: गोल
३) राशफोर्ड: मिस
४) सान्चो: मिस
५) साका: मिस

इङ्ल्यान्डले आफ्नो अन्तिम तीन पेनाल्टी मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधि उचालेको हो। सन् १९६८ मा आफ्नो पहिलो युरोपियन उपाधि जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधि जितेको छ।

इङ्ल्यान्डको भने पहिलो युरोपियन उपाधि उचाल्ने सपना अधुरो नै रह्यो। घरेलु मैदानमा घरेलु समर्थक माझ इङ्ल्यान्ड पराजित हुँदा उपाधि ‘होम’ नभई ‘रोम’ गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?