काठमाडौं । नेकपा(एमाले)का नेता प्रभु शाहले माओवादी केन्द्र खारेजीको पर्याप्त आधार हुँदाहुँदै पनि आयोग अमुक व्यक्ति तथा समुहको प्रभावमा परी आयोगले संविधानको मर्म र भावना विपरितको निर्णय लिएको बताएका छन् ।
आईतवार सामाजिक सञ्जालमार्फत् नेता शाहले निर्वाचन आयोगले माओवादी केन्द्र खारेजीको लागि पर्याप्त आधार र कारणहरु हुँदाहुँदै पनि आयोगले संविधान विपरित काम गरेको भन्दै असंवैधानिक निर्णयको प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
‘पर्याप्त आधारहरु निवेदकको मागदाबीमा स्पष्ट उल्लेख हुँदाहुँदैं घामझैं छर्लङ्ग विषयमा पनि निर्वाचन आयोग जस्तो संवैधानिक संस्थाले कुनै अमुक व्यक्ति/समुहको प्रभावमा परी संविधानको मर्म र भावना विपरीतको निर्णय लिनु आफैंमा अप्रत्याशित एवं अशोभनीय विषय हो ।’ नेता शाहले भनेका छन्, ‘यस असंवैधानिक एवं अशोभनीय निर्णयको चौतर्फी रुपमा भण्डाफोर गरी राजनितिक एवं कानूनी प्रतिवाद गर्न जरूरी छ ।’
प्रभु शाह, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरुले माओवादी केन्द्र अवैधानिक रुपमा र राजनीतिक दल सम्बन्धी ऐनको विपरित चलिरहेको भन्दै दल दर्ता खारेजीको माग गरी निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले उनीहरुको उक्त निवेदन आइतवार खारेज गर्दै माओवादी केन्द्र वैध रहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया