कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध

लोकपथ
130
Shares

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको हो ।

एमाले सांसदले बैठक चल्न नदिएपछि सभामुखले पर्सि असार २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । कर्णाली प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आव २०७८/७९ को बजेटबारे प्रदेशसभामा अझै छलफल प्रारम्भ हुन सकेको छैन् । सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार एमाले दलको सदस्य कायम भएका तीन मन्त्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखी लगातार प्रदेशसभा बैठकमा अवरुद्ध गर्दै आएको छ ।

प्रदेश सरकारले संविधान, संसदीय मूल्य मान्यताविपरीत एमालेलाई सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा राख्न खोजिएको भन्दै उसले आपत्ति जनाउँदै आएको छ । आजको बैठकमा बोल्दै एमाले प्रदेशसभा सदस्य पदम रोकायाले पनि मन्त्रीले राजीनामा दिनुपर्ने माग दोहोर्‍याए । उनले मन्त्रीले राजीनामा दिएपछि मात्र बजेटमाथि छलफल चलाउन सकिने बताए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढा हाल प्रदेश सरकारमा मन्त्री छन् । पार्टी निर्देशन उल्लङ्घन गरेको आरोपमा एमालेको सिफारिसमा प्रदेशसभा सचिवालयले बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट प्रकाश ज्वालासहित उनीहरु तीन जना एमालेका सदस्यका रुपमा पुनर्वहाली भएका थिए ।

मन्त्री त्रयले केन्द्रमा पार्टी विवाद नमिलेसम्म सरकारबाट नबाहिरिने अडान राखेका छन् । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन मन्त्रीको हैसियतमा सत्तापक्षको कुर्सीमा बस्दै आएका छन् । एमालेले सोही विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै बजेटमाथि छलफल शुरु हुन दिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?