उपाधि छिनोफानो गर्ने पाँच प्रमुख घम्साघम्सी

युरो कप

काठमाडौं । समय लगभग आइसकेको छ। आइतवार मध्यरातमा हामीले नयाँ युरो कप विजेता पाउनेछौँ। युरोपियन फुटबलका दुई महारथी उपाधिका लागि आमने सामने हुँदा सारा संसारकै नजर वेम्बलीमा हुनेछ।

उपाधिका लागि दुई बलिया टोली भिड्दा विजेता टोलीले युरोपियन महादेशकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित उपाधिको ताज पहिरिने छ। इङ्ल्यान्डको राजधानी लन्डनमा आज राती उपाधि जित्न सक्ने दुई दावेदार टोली हुन् इटाली र इङ्ल्यान्ड। उपाधि आज की त ‘रोम’ जान्छ, की भने ‘होम’मै रहन्छ।

पछिल्लो समयमा फुटबल प्रेमीहरु युरो कपकै प्रतीक्षामा थिए। कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको ‘मिनी वर्ल्ड कप’ प्रतियोगिता अन्ततः फाइनलसम्म आइपुगेको छ।

‘थ्री लायन्स’का नामले प्रख्यात इङ्लिश टोलीलाई घरेलु मैदान र समर्थकको फाइदा अवश्य पनि छ। तर चार पटक विश्वकप विजेता इटाली र इङ्ल्यान्ड बिचको खेलमा सबै भन्दा महत्वपूर्ण कुरा मैदान र समर्थक होइनन्। घडीको दोलकको ‘टिकटक’ शुरु भइसकेको बेला यी ५ घम्साघम्सी आजको खेलमा निर्णायक बन्नेछन्।

१) ह्यारी केनविरुद्ध लियोनार्डाे बोनुची


आजको फाइनल खेलको प्रमुख भिडन्त इंग्लिश स्ट्राइकर ह्यारी केन र इटालियन रक्षकद्वय बोनुची र केइलेनी बिच हुनेछ।

मोडर्न फुटबलका दुई उत्कृष्ट रक्षक बोनुची र केइलेनीले आफ्नो लामो करियरमा धेरै विश्वविख्यात स्ट्राइकरहरुलाई रत्याइसकेका छन्। बोनुची र केइलेनीका लागि केन मात्र अर्को स्ट्राइकर हुनेछन्।

इङ्ल्यान्डका कप्तान केनलाई भने आज ठूलो जिम्मेवारी छ। उनको प्रमुख कार्य भनेको यी दुई रक्षकलाई आफ्नो पोजिसनबाट विस्थापित गर्नु नै हुनेछ। सो कार्य गर्न केन सफल भएको खण्डमा इङ्ल्यान्डले पहिलो भिडन्त जित्नेछ।

 

२) मेसन माउन्टविरुद्ध जोर्जिन्हो

इटालियन स्टार मिडफिल्डर जोर्जिन्हो र इंग्लिश मिडफिल्डर मेसन माउन्ट दुवै जना इंग्लिश क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन्।

एउटै क्लबबाट खेल्ने दुई खेलाडीलाई एक-अर्काको बारेमा जती थाहा अरु कसलाई होला ? सोही कारणले गर्दा आ-आफ्नो राष्ट्रको लागि मिडफिल्डमा प्रमुख भूमिका निर्वाह गर्ने जोर्जिन्हो र माउन्टको भिडन्त निकै महत्वपूर्ण रहनेछ।

इटालीले स्पेनसँग सेमी फाइनल खेलमा प्रतिस्पर्धा गर्दा पनि चेल्सीका एजपिलिकुवेटा स्पेनिश टोलीको राइट ब्याकमा उपस्थित थिए। शायद उनको सल्लाहमा नै स्पेनले त्यस बेला आफ्नो रणनीति परिवर्तन गरी ‘फल्स नाइन फर्मेशन’ खेलाएको थियो। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी देखाएका जोर्जिन्होले त्यस खेलमा भने खराब प्रदर्शन गरेका थिए।

 

३) लोरेन्जो इन्सियाविरुद्ध काइल वाकर

लोरेन्जो इन्सियाले युरो २०२० मा उत्कृष्ट प्रदर्शनी देखाएका छन्। समूह चरणको टर्कीविरुद्धको पहिलो खेल देखि लिएर क्वार्टर फाइनलमा बेल्जियमविरुद्धको गोलसम्म, इन्सिया इटालीका प्रमुख खेलाडी हुन्।

तर लेफ्ट विंगरको भुमिकामा देखिएका इन्सिन्या स्पेनविरुद्ध भने निरिह देखिए। लेफ्ट ब्याक स्पिनाजोल्ला इन्जुरीका कारण प्रतियोगिताबाट बाहिरिएपछि उनको खेलको स्तरमा कमी महसुस भएको छ।

उता इंग्लिश फूल ब्याक काइल वाकर यस प्रतियोगितामा शानदार लयमा देखिएका छन्। उनको शानदार रक्षात्मक खुबीसँगै उनी इन्सिन्या भन्दा तेज, अग्ला र शारीरिक रूपमा बलिया पनि छन्।

तर लामो समयदेखि इन्सिन्या आफ्नो स्किल्स र शानदार राइट फुटले धेरै विश्वविख्यात रक्षकहरुलाई बिट गर्दै आएका छन्। आजको खेलमा यी दुईको टक्कर पनि निकै महत्वपूर्ण रहनेछ।

 

४) रहिम स्टर्लिङविरुद्ध जियोभानी डि लोरेन्जो

यस प्रतियोगितामा इङ्ल्यान्डका ‘ट्रस्टेड म्यान’ हुन् रहिम स्टर्लिङ। जब जब इङ्ल्यान्डलाई उनको आवश्यकता परेको छ, उनले ‘डेलिभर’ गरेका छन्।

जियोभानी डि लोरेन्जोले रक्षात्मक रूपमा इटालीका लागि सन्तोषजनक प्रदर्शनी देखाएका छन्। अर्का फूल ब्याक स्पिनाजोल्ला एट्याकमा साथ दिन अगाडि जाँदा उनी इटालीका लागि ‘थ्री म्यान डिफेन्स’ बनाउँदै आएका छन्।

तर बेल्जियमविरुद्धको क्वार्टर फाइनल खेलमा बेल्जियन विंगर जेरेमी डोकुले उनलाई पुरै खेलको दौरान सकस दिन सफल भएका थिए। डोकुको तिब्र गति, प्रत्यक्ष अप्रोच र अप्रत्याशित निर्णयको आगाडी लोरेन्जो निरिह देखिएका थिए।

डोकु र स्टर्लिङ उस्तै खेल खेल्छन्। अझै स्टर्लिङ पाका र एक स्तर माथिको खेलाडी हुन्। उनको खेलमा एउटै कमी भनेको उनी ‘इन्कन्सिस्टेन्ट’ खेलाडी हुन्। आजको खेलमा यी दुई बिचको भिडन्त निर्णायक बन्न सक्ने सम्भावना बलियो देखिन्छ।

 

५) सिरो इम्मोबिलेविरुद्ध ह्यारी मग्वायर

इटालियन स्ट्राइकर सिरो इम्मोबिलेले युरो कप २०२० मा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। इटालियन ‘सिरी-ए’मा सन् २०१९र२० को सर्वाधिक गोलकर्ता इम्मोबिलेले युरो कप २०२० मा सन्तोषजनक खेल प्रस्तुत गर्न सकेका छैनन्।

उता ६ खेल खेल्दा आफ्नो पोस्टमा मात्र १ गोल हुन दिएको इंग्लिश टोलीका प्रमुख रक्षक हुन् ह्यारी मग्वायर। मग्वायरले गत सिजन म्यान्चेस्टर युनाइटेडका लागि शानदार रक्षात्मक खेल प्रस्तुत गरेका थिए र लामो समय इन्जुरीको बावजुद सोही लयमा फर्किएका छन्।

मग्वायरको खेलमा एउटा कमी भने अवश्य छ। त्यो हो उनको लचकताको कमी। खेलाडीमा हुनुपर्ने ‘एजिलिटी’ उनमा कम देखिन्छ। र मेहनती स्ट्राइकर इम्मोबिलेलाई यो कुरा अवगतै छ। इम्मोबिले ‘अफ द बल’ पनि शानदार फुटबल खेल्छन् र डिफेन्डरहरुलाई निरन्तर रूपमा सताई रहन्छन्।

यी दुई बिचको प्रतिस्पर्धाले युरो कप २०२० को विजेता छिनोफानोमा ठूलो भूमिका खेल्ने निश्चित देखिन्छ।

यी पाँच प्रमुख घम्साघम्सीमा जो बलियो देखिन्छ, उपाधि उसैको हुनेछ। उपाधि ‘रोम’ जाने की ‘होम’? युरो कप फाइनल हो, भन्न सकीहाल्ने अवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?