इङ्ल्यान्डलाई ३० हजार युरो जरिवाना

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय ‘युईएफए’ले इङ्ल्यान्ड फुटबल एसोसिएन (एफए)लाई ३० हजार युरो जरिवाना गरेको छ।

जारी युरो कप २०२० अन्तर्गत डेनमार्कविरुद्ध इङ्ल्यान्डको सेमी फाइनल खेलमा इंग्लिश समर्थकले खेलको ‘भावना विपरित कार्य’ गरेको आरोपमा दोषी पाइएपछि ‘युईएफए’ले इङ्ल्यान्ड एफएलाई जरिवाना तिराएको हो।

खेलमा इंग्लिश कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दा इङ्ल्यान्डले डेनमार्कलाई २१ गोलले पराजित गरेको थियो। सो पेनाल्टी प्रहार गर्ने क्रममा ड्यानिश गोलरक्षक कास्पर स्माइकलको आँखामा समर्थकहरुले हरियो ‘लेजर लाइट’ देखाएका थिए।

त्यसको बावजुद स्माइकलले केनको पेनाल्टी बचाउ गरेका थिए। तर रिबाउन्डमा केनले सो बललाई गोलमा परिणत गरेका थिए। ‘युईएफए’ले सो ‘लेजर लाइट’को विषयमा इङ्ल्यान्ड फुटबल एसोसिएसन माथि छानबिन प्रक्रिया शुरू गरेको थियो।

त्यस्तै वेम्बलीमा डेनमार्कको राष्ट्रिय गानको दौरान होहल्ला भएको विषय र समर्थकले आतिशबाजी गरेको विषयमा पनि ‘युईएफए’ले छानबिन शुरु गरेको थियो। यी छानबिनमा इंग्लिश समर्थक दोषी पाइएको खण्डमा इंग्लिश ‘एफए’ माथि ठूलो कारवाही हुने ‘युईएफए’ले बताए पनि इङ्ल्यान्ड ‘एफए’ माथि केवल जरिवाना लगाइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?