दुई पुराना प्रतिद्वन्दीको भेट, फुटबल प्रेमीका लागि ‘बोनान्जा’

कोपा अमेरिका २०२१

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत भोलि ‘आइतवार’ बिहान फाइनल खेलमा साविक विजेता ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन्।

ब्राजिलको रियो डे जिनेरोस्थित ‘माराकाना’मा भोलि फुटबल जगतका दुई पुराना प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना आमने सामने हुँदैछन्। ‘माराकाना’ त्यही स्थान हो जहाँ सन् २०१९ मा ब्राजिलले पेरूलाई पराजित गर्दै आफ्नो ९औं कोपा उपाधि उचालेको थियो। दुई वर्ष पछि ब्राजिल आफ्नो १०औं उपाधिका लागि सोही मैदानमा प्रवेश गर्दैछ। तर यस पटक ब्राजिलको विपक्षमा हुनेछ बलियो तथा पुरानो प्रतिद्वन्दी अर्जेन्टिना।

अर्जेन्टिना र कोलम्बियाले संयुक्त रूपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका २०२१ अन्तिम समयमा ब्राजिलमा सारियो। कोरोना महामारीका कारण अर्जेन्टिनालाई आयोजक राष्ट्रको सूचीबाट हटाइएको थियो। अर्जेन्टिनाको आफ्नो घरेलु मैदानमा कोपा खेल्ने चाहना पूरा भएन। यद्यपि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाउन सफल भएको छ।

फाइनलसम्म आइपुग्दा उत्कृष्ट फुटबल खेलेको अर्जेन्टिनाले समूह चरणको चार खेलमध्ये तीन खेलमा जित दर्ता गर्न सफल भएको थियो। यस प्रतियोगितामा ११ गोल गर्न सफल अर्जेन्टिनाले आफ्नो पोस्टमा केवल ३ गोल मात्र खाएको छ।

त्यस्तै ब्राजिलले पनि यस प्रतियोगितामा शानदार खेलको नमुना पस्किएको छ। कोपा अमेरिका २०२१ मा १२ गोल गरेको ब्राजिलले आफ्नो पोस्टमा मात्र २ गोल हुन दिएको छ। समग्रमा भन्नु पर्दा ब्राजिल र अर्जेन्टिना यस प्रतियोगिताकै दुई सर्वश्रेष्ठ टोली हुन्। र यी दुई बिचको फाइनल खेल केवल नेयमार र मेस्सीको भिडन्त होइन। फुटबलमा यी दुई राष्ट्रको इतिहास गर्विलो छ र महादेशीय उपाधि होडमा हार दुवै टोलीलाई मन्जुर हुने छैन।

साविक विजेता ब्राजिल घरेलु मैदानमा आफ्नो १०औं उपाधिको लागि प्रतिस्पर्धा गर्दैछ भने अर्जेन्टिना २८ वर्ष पछि कोपा उपाधि चुम्न आतुर देखिन्छ। अझै नेयमार र मेस्सीको लागि पनि यो उपाधि आफ्नो करियरकै पहिलो कोपा उपाधि हुने भएको कारणले फुटबल प्रेमीलाई भोलिको फाइनल खेल ‘बोनान्जा’ हुने निश्चित देखिन्छ।

 

ब्राजिलविरुद्ध अर्जेन्टिना

नेपाली समय: बिहान ५:४५
स्थानः माराकाना, रियो डे जिनरो, ब्राजिल
रेफ्रीः एस्तेबान ओस्तोजिच (उरुग्वे)

 

हेड टू हेड

११ नभेम्वर २०१६ ब्राजिल ३–० अर्जेन्टिना
९ जुन २०१७ ब्राजिल ०–१ अर्जेन्टिना
१६ अक्टोबर २०१८ ब्राजिल १–० अर्जेन्टिना
०३ जुलाई २०१९ ब्राजिल २–० अर्जेन्टिना
१५ नभेमबर २०१९ ब्राजिल ०–१ अर्जेन्टिना

 

सम्भावित शुरुवाती ११

ब्राजिल (फर्मेशन ४–२–३–१)
गोलरक्षकः एडरसन
डिफेन्डरः ड्यानिलो, मार्क्विनहोस, सिल्भा, लोडी
डिफेन्सिभ मिडफिल्डरः फ्रेड, कासेमिरो
एट्याकिङ मिडफिल्डर: रिचारलिसन, पाक्वेटा, एभरटन
स्ट्राइकर: नेयमार

प्रशिक्षक: टिटे


अर्जेन्टिना (फर्मेशन ४–३–३)
गोलरक्षकः एमिलियानो मार्टिनेज
डिफेन्डरः मोलिना, पेज्जेला, ओटामेन्डी, टागलियाफिको
मिडफिल्डरः रोड्रिगो डे पल, पारेडेस, लो सेल्सो
एट्याकः मेस्सी, मार्टिनेज, गोमेज

प्रशिक्षक: लियोनल स्कालोनी

प्लेयर्स टू वाच


ब्राजिल: नेयमार
अर्जेन्टिना: मेस्सी

 

कोपा अमेरिका उपाधि


ब्राजिल: ९ (२०१९, २००७, २००४, १९९९, १९९७, १९८९, १९४९, १९२२, १९१९)
अर्जेन्टिना: १४ (१९९३, १९९१, १९५९, १९५७, १९५५, १९४७, १९४६, १९४५, १९४१, १९३७, १९२९, १९२७, १९२५, १९२१)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?