कृष्णको करिया पढेपछिको मनोभावना

लोकपथ
1.1k
Shares
  • मीना रेग्मी

करिया उपन्यासमा लेखकीय विचार, अन्र्तवस्तु, शीर्षक, उपशीर्षकका बिचमा कृष्ण अविरलले सुन्दर तालमेल गराएका छन । कृति भित्रका पात्र, घटना, कथानक परिवेश (देश,काल, वातावरण) शीर्षक, उपशीर्षक एक आपसमा पानीमा चिनी घुले जस्तैगरी गरी समन्वय गरी जीवनको अर्थ प्रतिपादन गर्ने काममा शीर्षक उपशीर्षकले अग्रणी भूमिका खेलेको छ ।

उपन्यासको शीर्षक ‘करिया’ राखिएको छ भने उपन्यासको शुरु देखि अन्त्यसम्म नै करियाको जीवनका कथा, ब्यथा, वेदना उनीहरुमाथि भएका अन्याय, अत्याचार, शोषण,अमानवीय ब्यवहार र उनीहरुले करियाबाट मुक्त हुन गरेको संघर्ष शशक्त रुपमा प्रस्तुत गरिएकोले शीर्षक उपयुक्त, सार्थक र सान्दर्भिक रहेको छ ।

यस उपन्यासको नायक मणिरत्नले अनेकौ परम्परागत अन्धविश्वास, विकृति आदि करिया प्रथाले निम्ताएका मानवता विरोधी सङ्किर्ण विचार धारालाई परिवर्तन गरे । करियाहरुको जीवनमा सुनौलो बिहानी ल्याईदिएका छन । उनले करिया मुक्तिलाई आफ्नो जीवनको मूल मन्त्र बनाइ अगाडि बढेका छन । अन्ततः करिया जस्तो कुप्रथालाई जरै देखि उखालेर फाल्न सफल भएका छन् ।

यस दृष्टिले हेर्दा उपन्यासको शीर्षक र अन्तर्वस्तु बीच समुचित सम्बन्ध रहेको छ । अर्कोतर्फ यो उपन्यासका पात्रहरु भीमे, जिते, दाउरी, धने, डम्मरी, जमुनिया आदि चरित्रहरु पुस्तौ पुस्तादेखि करियाका रुपमा रहन बाध्य भएका छन् । कथाका अधिकांश पात्र करिया नै छन । उनीहरु ज्ञानको अभावमा करिया जस्तो नारकीय जीवन ज्यून बाध्य भएका छन् । करियाहरु बाँच्ने अधिकार खोसिदा पनि मुखमा बिर्को लाएर बस्न विवश छन् । यस उपन्यासको कथावस्तु, पात्र, घटना यसको अन्त मिश्रिणबाट बनेको विषयवस्तुलाई एकात्मकता प्रदान गर्ने योग्यता यो शीर्षकमा रहेको छ ।

उपन्यासको वाह्य संरचना ३०९ पृष्ठमा विस्तारित छ । यो संरचना मुख्यत पृष्ठभूमी खण्डका ६ पृष्ठ र मूल खण्डका ३०३ पृष्ठमा यो उपन्यासको वाह्य बनोट निर्मित छ । यस उपन्यासको अन्त्यतिर कृतज्ञता ज्ञापन र पाँचौ पृष्ठमा उपन्यासमा प्रयोग भएका कठिन शब्द र तिनको अर्थ लेखिएको छ । उपन्यासको आकार मझ्यौला छ । उपन्यासको कभरमा अन्याय, शोषण, दमनमा परेका करङ गन्न सकिने जगल्टा फिजाँएजस्ता लाग्ने अस्थिपञ्जर रुपि करियाको चित्र छ ।
उपन्यासमा ३८ वटा उपशीर्षक राखिएको छ । आयामका दृष्टिले सबैभन्दा सानो उपशीर्षक उज्यालो हुनु अघि, दिवास्वप्न, लगन, करिया रहेका छन ।

जंगबहादुर महाराजले वि.स. १९१० पुस ७ मा मुलुकी ऐन जरीगरी १२ वर्ष मुनिका कमारा कमारी बेचबिखन गर्न निषेध गरेतापनि जमुनी उसकी छोरी चमेली र छोरा कैलेको बेचबिखनबाट कथानक प्रारम्भ हुन्छ ।

गुठो काजीले आफ्नो भोग्या बनाएकी जमुनी उसका छोराछोरी साहित साधु रामलाई बेचिदिन्छन् । यस घटनाले जिते (जमुनीको श्रीमानको) मन नराम्रोसँग कुडिन्छ । ऊ उपयुक्त अवसर हेरी त्यहाँबाट फरार हुन्छ । गुणेकाजी, बद्रीनाथ, दयानिधी आदि जिम्बाल, मुखियाहरु गरिब जनतालाई सहयोगका नाममा केही रुपैंया अन्न सहयोग गरेर पछि ब्याज, स्याज जोड्दै करिया बस्न बाध्य पार्ने उच्च बर्गीय पात्रहरु हुन । उनीहरुले आफ्ना घरका कमारीहरुलाई आफ्नो यौनप्यास बुझाउने खेलौनाको रुपमा लिएका छन् ।

उनीहरूले करियाहरु माथि विभिन्न किसिमका शारीरिक यौनिक शोषण गरेका छन् । मुखिया भइकन पनि साधुराम,धर्मकान्त मानवता भएका पात्रका रुपमा देखिएका छन । जमुनि र उसकी छोरी चमेलीमाथि साधुरामका छोरा लोकेन्द्रनाथले विभिन्न शारीरिक,मानसिक, यौनिक शोषण गरेको देखिन्छ । यसको यौन प्यास मेटाउँदा मेटाउँदै उसले श्रीमती बनाएकी जमुनिको छोरोको मृत्यु हुन्छ । लोकेन्द्र र उसकी जेठी पत्नीको अत्याचार, यातना सहन नसकी जमुनि साधुरामको घरवाट बेपत्ता हुन्छे । छोराको ब्यवहारले विक्षिप्त बनेका सज्जन, कोमल हृदय भएका कमाराकमारीलाई आफ्नै सन्तान जस्तै माया गर्ने साधुरामको स्वाभिमान माथि चोट लाग्दा त्यसपछि उनी बेपत्ता हुन्छन ।

दयानिधि नामका मात्रै दयानिधि हुन् । उनका मनमा कसै प्रति दयाभाव देखिदैन । उनी अरुको प्रगतिमा जल्ने इष्र्या गर्ने पात्र हुन । उनको चरित्र भिमसेनको बोकाको जस्तो छ । उनले नाबालक कमारी र आफ््नै बुहारीलाई समेत आफ्नो यौनको शिकार बनाएका छन । उनले आफ्नो यौन प्रस्ताव अस्विकार गर्ने दिपवती र रमानाथलाई विभिन्न षडयन्त्र, जालझेल गरी उठिबास लगाएका छन । उनले पैसाको लोभमा परी किशोरीहरुलाई बडाहाकिमका चढाएर मर्न बाध्य पारेका छन । उनकै कारणले गर्दा उनको छोरा अर्जुनले अकालमै मृत्यु वरण गर्न पुग्छ ।

बद्रीनाथ र उसका छोरा हस्तमान र धर्महवजको यातना सहन नसकि करियाहरुले २५ जना कमाराकमारी भागेर जंगलमा गइ बस्छन । गुमानेले उनीहहरुलाई भगाउन सहयोग गर्छ । आफ्नो हिसाब माग्दा बलेले आफ्नो ज्यान गुमायो भने दिलेले पनि आफ्नो एउटा आँखा गुमाउनु पर्यो । उनीहरुको अत्याचारबाट भागेका उनीहरुलाई गुणेकाजी, ललित प्रसाद, पोख्रेल, नन्दलालले सहयोग गर्छन । उनीहरु त्यहाबाट भागी मधेसमा गई केही समय काम गरी कमाएको पैसा लिइ शिलगुडी हुँदै चियाकमानमा गई काम गर्न थाल्छन । आफ्नो बालसखा शेर्बुको बेचबिखनबाट विक्षिप्त बनेका मणिरत्न कलिलै उमेरदेखि करिया प्रथाको बिरोधमा लागे । बिहे समेत नगरी करिया मुक्तिलाई आफ्नो जीवनको लक्ष्य बनाए ।

समाज सुधार्न पहिले आफैं सुध्रिनु पर्छ भन्ने उनले पहिले आफ्नै घरका कमारा कमारीलाई मुक्त गरिदिए । उनले गाउँ गाउँमा पुगी कमाराकमारीको अवस्थाका बारेमा जानकारी लिए । गुमाने र जितेको सहयोग लिई कमारा कमारीलाई भगाउन सफल भए । उनले आफ्नो भागमा परेको पैतृक सम्पत्ति समेत बेचबिखनगरी भाग्न चाहने कमार कमारीलाई सहयोग गरे ।

दयानिधीको आफ्नै रक्तविज दिपवती र उनका लोग्ने रमानाथलाई दयानिधीले विभिन्न षडयन्त्रगरी गाउँबाट निकालेरै छाडे । आफ्नो यौन प्रस्ताव अस्विकार गरेका कारण आफ्नै बुहारी सावित्रीको सहयोगमा दिपवती जस्ती असल पतिव्रता, ज्ञानी महिलालाई गाउँ निकाला गरेपछि दयानिधिको दुर्गती शुरु भयो । दिपवती र कैले मिलेर दयानिधिलाई विभिन्न शारीरिक, मानसिक यातना दिए । दिपवतीले श्वेत भैरवीको रुप, धारण गरिन । जिते गुमानेले पनि मणिरत्नको सल्लाह सुझाब अनुसार धर्मध्वज र खड्मानको पैसा लुटेर नाङ्गेझार परिदिन्छन । मणिरत्नको सहयोगले लोकेन्द्र लगायत १२ वर्ष मुनिका कमाराकमारी बेच्ने जिम्वाल मुखिया थुनामा पर्छन ।

चन्द्र शमशेरलाई राममणी आचार्य दिक्षितले पनि दासप्रथा संसारबाट हटि सकेकाले करिया राख्नु हुदैन भन्ने सल्लाह दिए । यसरी बालकुमारी, राममणि, मणिरत्नको सल्लाह बमोजिम चन्द्रशमशेरले १९८२ बैशाखमा करिया उन्मूलन ऐन जारी गरी कसैले करिया राख्न नपाउने ब्यवस्था गरे । करिया अभिलेख गरेबापत सरकारबाट रकम लिन चाहने साहु महाजन जिम्वाल मुखियाहरु सबैलाई पशुपतिनाथ मन्दिरको गुठीबार ५१ हजार सात सय ८२ बालिकाको समेत भोग गर्नु सामाजिक बिसंगति हो। उनीहरुले कमार कमारी माथि गर्ने मानवताहिन अमानवीय व्यवहार समाजमा रहेको विसङगतिकै उपज हो । कमारा कमारीहरुको विद्रोह, दीपवतीको दृढ निश्चय, कमारा कमारीहरु मालिककमा घरवाट पलायन हुनु र आफ्नो ज्यान बचभाउनु अस्तित्वको रक्षा हो ।

करिया उपन्यासकार स्वयं समख्याता बनेर उपन्यासका कथावस्तु, चरित्र, संवाद, परिवेश, उद्धेश्यको औपन्यासिक निर्माण एवम संयोजन गरेका छन । यस उपन्यासमा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । बर्णात्मक शिल्प संयोजन भएको उपन्यासका रुपमा करिया रहेको छ ।

करिया उपन्यासमा प्रबृत्तिगत रुपमा सामन्ती मानसिकता बोकेका पात्रहरु छन भने अर्काथरी पात्रहरु सरल र भोलाभाला प्रकृतिका देखिन्छन । पहिलो वर्गका पात्रहरुमा दयानिधि, बद्रीनाथ, गुणेकाजी, कलानिधि, लोकेन्द्र छन भने दोस्रो खाले पात्रहरुमा जिते, रामनाथ, गुमाने, दिले, जमुनि, दाउरी आदि छन ।

यस उपन्यासमा सत पात्र र खल पात्र पनि छन । मणिरत्न, दिपवती, साधुराम, कलानिधि, रामनाथ आदि रहेका छन । यस उपन्यासमा तिनले निर्वाह गर्ने कार्यका आधारमा मुख्य, सहायक र गौंण गरी तीन प्रकारका पात्रहरु रहेको पाइन्छ । मुख्य पात्रका रुपमा मणिरत्न दिपवती र दयानिधि छन भने सहायक पात्रका रुपमा मणिरत्न,दिपवती र दयानिधि छन भने सहायक पात्रका रुपमा गुणेकाजी, भिरमान, शङकरमान, कलानिधि, जमुनी, दिले, गुमाने बद्रीमान, केदारमान आदी रहेका छन । गौंण पात्रका रुपमा शेर्बु, साईली, होमप्रसाद, लट्टेबुढा, सोममाया, अकलबहादुर, कमाने, बबिलाल, सीता, नन्दलाल आदि रहेका छन ।

मणिरत्न करिया उपन्यासका नायक हुन । उनी जखनीटारका मुखिया साधुरामका जेठा छोरा हुन । उनी शास्त्रका ज्ञानी भएकाले चन्द्र शमसेरकी कान्छि महारानी बालकुमारीका पूजापाठका पण्डित र खास मान्छे बन्न सफल भए । उनी आस्तिक, मानवतावादी आदर्श पात्र हुन । कोमल स्वभाव भएका उनी भावुक प्रबृत्तिका पात्र हुन । उनमा अन्तर्मुखि प्रबृति पाइन्छ । उनी इश्वरीय अस्तित्व स्वीकार गर्दछन । उनी आशावादी चरित्र हुन । उनले उपन्यासको प्रारम्भ देखि अन्त्यसम्म करिया प्रथा अन्त्यको लागि सङघर्ष गरेका छन । उनी कथानकलाई सक्रिय बनाइ गतिशिल तुल्याउने जिवन्त पात्र हुन ।

आफ्नो बालसखा शेर्बुको घटनावाट विक्षिप्त भई यसको विरोध गरेका उनले करिया उन्मुलन नै आफ्नो जीवनको लक्ष्य बनाएका छन । उनी तत्कालिन निम्न वर्गिय जीवनले भोगेका संकट, गरिबी, समाजिक कुप्रथा, संर्किण रुढी तथा अन्धविश्वास अनि ब्यथा र बेदनाले छटपटिएको नारी जीवन आर्थिक संघर्ष, सांस्कृतिक मुल्य मान्यताको विरोध गरेका छन । उनी तत्कालिन कुप्रथा प्रति असन्तुष्ट छन । तर निराश छैनन । उनमा निम्न वर्ग प्रतिको स्नेहशील भावना, अग्रज प्रतिको श्रद्धाशिल भावना, परिवर्तनकामी युग चेतना पाइन्छ । उनी एक असल पुत्र हुन । उनले आफ्नो बाबुको ऋण तिरेर र आफुले सिकेका असल ज्ञान दिएर असल छोराको कर्तब्य पुरा गरेका छन । निश्वार्थ भावले दासप्रथा मोचनमा एक्लै भए पनि लागेका उनले अन्ततः बडामहारानी बालकुमारी मार्फत चन्द्र शमसेरलाई करियाको अवस्था अवगत गराइ दास प्रथा मोचन गर्न सफल भएका छन ।

कृष्ण अविरलले करिया उपन्यासमा प्रयोग गरेको भाषाशैली चित्ताकर्षक र मनमा गहिरो प्रभाव पार्ने खालको छ । यसमा विसं १९८२ पूर्वको पूर्वी पहाडी क्षेत्र रामेछाप तिरको भाषाशैली सजिव रुपमा चित्रण गरेको छ । प्रशस्त मात्रामा थेगो, उखान टुक्का सहित आलङ्कारिक भाषालाई प्रस्तुत गरिएको छ । मुखिया र करियाहरुले बोल्ने भाषामा फरकपन देखिएको छ । कथ्य भाषाको प्रयोग र आञ्चलिकताको प्रभाव देख्न पाइन्छ । उपन्यासलाई मनमोहक बनाउन गीतको प्रयोग पनि भएको पाइन्छ । जस्तैः अल्लारे गाइको मल्लारे बाछो, भैसीले पालेको कमारी सौता चुहुने भाँडो कर्मले हारेको
यस उपन्यासमा संस्कृतका श्लोकको पनि प्रयोग गरिएको छ । यस उपन्यासमा चित्रात्मक भाष शैलीको प्रयोग गरिएको छ ।

करिया उपन्यास ऐतिहासिक बिषयबस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको उपन्यास हो । करिया उपन्यासले तत्कालिन समयको सिङ्गो इतिहास बोकेको छ । यो सामाजिक यथार्थवादी र घटना प्रधान उपन्यास हो । उपन्यासमा घटनाक्रमलाई सशक्त, सहज, स्वभाविक र पात्रलाई जीवन्त बनाइएको छ ।

यो उपन्यास मनोवैज्ञानिक उपन्यास नभएपनि यसमा मनो–विश्लेषणीय सिद्धान्तको परिपालन समेत भएको देखिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?