उपाधि ‘रोम’ जाने की ‘होम’ ?

युरो कप

काठमाडौं । इङ्ल्यान्डको राजधानी लन्डनस्थित ‘वेम्बली’ मैदानले भोलि (आइतवार) राती हुने युरो कप २०२० फाइनल खेलको आयोजना गर्दैछ।

गत ‘जुन ११’ देखि शुरू भएको यस संस्करणको युरो कपमा ११ आयोजक सहर रहेका थिए। तर ‘जुलाई ११’ सम्म आइपुग्दा मात्र एक सहर र दुई दावेदार राष्ट्र बाँकि छन्। आइतवार खेलिने फाइनल खेलमा इङ्ल्यान्ड आफ्नो घरेलु मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्न तयार देखिन्छ। ‘इट्स कमिङ होम’, यो नारा हरेक इंग्लिश समर्थकको मन्त्र नै बनिसकेको छ। इटाली पनि उपाधिलाई आफ्नो राजधानी रोम नै लिएर जान आतुर देखिन्छ । एक वाक्यमा भन्नु पर्दा दुवै टोलीलाई भोलिको फाइनल खेल आ-आफ्नो कारणले अपरिहार्य रहेको छ।

सन् १९६६ मा फिफा विश्वकपको उपाधि जिते पश्चात् पहिलो पटक कुनै पनि प्रमुख प्रतियोगितको फाइनलमा पुगेको इङ्ल्यान्ड घरेलु मैदान र घरेलु समर्थकमाझ आफ्नो पहिलो युरोपियन उपाधि उचाल्न चाहन्छ।

त्यस्तै सन् १९६८ मा आफ्नो एकमात्र युरो कप उपाधि जितेको इटाली पनि इङ्ल्यान्डलाई हराउँदै आफ्नो पुरानो घाउ मेट्न चाहन्छ। पुरानो घाउ भन्नाले सन् २००० र २०१२ को युरो कप फाइनलमा इटालीले पराजय भोगेको थियो। अझै सन् २०१८ फिफा विश्वकपमा त इटाली छनोट पनि हुन सकेको थिएन। फुटबलमा गर्विलो इतिहास बोकेको एउटा राष्ट्रलाई सो कुरा कदापि मन्जुर हुन सक्दैन।

यस प्रतियोगितामा शानदार फुटबल प्रदर्शनी गरेका दुई टोली अन्ततः फाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्दैछन्। समूह चरणदेखि अहिलेसम्म शत प्रतिशत नतिजा निकालेको इटाली यस प्रतियोगितामा उत्कृष्ट फुटबल खेल्ने टोलीमा पर्दछ। बलिया र दावेदार मानिएका राष्ट्र बेल्जियम र स्पेनलाई पाखा लगाउँदै फाइनलसम्मको यात्रा तय गरेको इटालीलाई इङ्ल्यान्डको चुनौती सजिलो भने छैन।

६ मध्ये ५ खेल घरेलु मैदानमा खेलेको इंग्लिश टोलीले प्रदर्शनी भने उच्च स्तरको देखाएको छ। सेमी फाइनलसम्म आइपुग्दा इङ्ल्यान्डले मात्र एक गोल खाएको छ। त्यो पनि डेनमार्कविरुद्धको सेमी फाइनल खेलमा फ्रिकिक मार्फत गोल खाएको इंग्लिश टोलीले ‘ओपन प्ले’मा भने आफ्नो पोस्टमा गोल हुन दिएको छैन।

समग्रमा भन्नु पर्दा डिफेन्समा सधैं सशक्त देखिएको इटालीलाई यस प्रतियोगितामा कडा टक्कर दिएको टोली इङ्ल्यान्ड नै हो। दुई उत्कृष्ट डिफेन्सिभ टोली एक आपसमा भिड्दा कुन टोलीले बाजी मार्ने हो, त्यो भने कौतुहलताको विषय बनेको छ।

 

वेम्बलीमा फाइनल

सन् २००२ मा भत्काइएको पुरानो वेम्बली मैदानमा सन् १९९६ को युरो कप फाइनल आयोजना गरिएको थियो। सो खेलमा ‘ओलिभर बियरहोफ’को गोल्डेन गोलको मद्दतले जर्मनीले चेक गणतन्त्रलाई पराजित गर्दै आफ्नो तेस्रो युरोपियन उपाधि उचालेको थियो।

त्यो भन्दा ३० वर्ष पहिले, सन् १९६६ मा इङ्ल्यान्डले वेम्बली मैदानमा विश्वकप उपाधि उचालेको थियो। पश्चिम जर्मनीलाई ४-२ गोलले पराजित गरेको इङ्ल्यान्डले आफ्नो पहिलो तथा एकमात्र विश्वकप उपाधि घरेलु मैदानमा नै जितेको थियो।

नविकरण पछि सन् २००७ मा खुल्ला गरिएको वेम्बलीले सन् २०११ र सन् २०१३ को ‘युईएफए च्याम्पियन्स लिग’ फाइनल खेल आयोजना गर्यो। सन् २०११ मा स्पेनिश क्लब बार्सिलोना र सन् २०१३ मा जर्मन क्लब बायर्न म्युनिखले सो फाइनल खेल जितेका थिए।

 

सर्वाधिक युरो कप फाइनल खेल्ने राष्ट्र

जर्मनी र स्पेन सर्वाधिक युरो कप जित्ने राष्ट्र हुन्। यी दुवै राष्ट्रले समान ३/३ पटक युरो कप उपाधि उचालेका छन्। सबैभन्दा धेरै युरो कपको फाइनल पुगेको राष्ट्र भने जर्मनी हो। जर्मनीले जम्मा ६ पटक युरो कप फाइनल खेलेको छ।

 

के आयोजक राष्ट्रले युरो कप उपाधि उचालेको छ ?

सन् १९६४ मा स्पेन, १९६८ मा इटाली र १९८४ मा फ्रान्सले आफ्नो घरेलु मैदानमा युरो कप जितेका थिए। तसर्थ अहिलेसम्म तीन पटक आयोजक राष्ट्रले युरो कप उपाधि उचालेका छन्।

तर आयोजक राष्ट्र फाइनलमा पराजित नभएका भने होइनन्। सन् २००४ मा पोर्चुगलले घरेलु मैदानमा ग्रीससँग फाइनल खेलमा पराजय भोगेको थियो भने सन् २०१६ मा पोर्चुगलले फ्रान्सलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आफ्नो पहिलो युरो कप उपाधि जितेको थियो।

 

युरो कप फाइनलमा सबैभन्दा धेरै गोल भएको खेल

सन् २०१२ युरो कप फाइनलमा स्पेनले इटालीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। युक्रेनको राजधानी ‘किभ’मा भएको फाइनल खेल नै युरो कप फाइनलमा सर्वाधिक गोल भएको खेल हो।

त्यस्तै सन् १९७६ मा चेकोस्लोभाकिया र जर्मनी बिचको खेलमा पनि २-२ गोल भएको थियो। अन्ततः सो खेलमा जर्मनीले पेनाल्टीमा ५-३ गोलले पराजय भोगेको थियो।

 

को हुन् युरो कप २०२० फाइनलका रेफ्री ?

यस पटकको युरो कप फाइनलमा ‘बोर्न कुइपर्स’ले रेफ्रीको जिम्मेवारी निभाउनेछन्।

४८ वर्षीय डच रेफ्री कुइपर्स सन् २००६ देखि अन्तराष्ट्रिय खेलहरूमा रेफ्रीको भूमिका निभाउँदै आएका छन्। उनले सन् २०१३ र सन् २०१८ को ‘युईएफए युरोपा लिग’ फाइनलमा पनि रेफ्रीको जिम्मेवारी लिएका थिए। त्यस्तै उनले सन् २०१४ को ‘युईएफए च्याम्पियन्स लिग’मा पनि निर्णायकको भुमिका निर्वाह गरिसकेका छन्।

 

एकै वर्षमा युईएफए च्याम्पियन्स लिग र युईएफए युरो कप जित्ने खेलाडी

अहिलेसम्म ९ खेलाडीले एकै वर्षमा ‘युईएफए च्याम्पियन्स लिग’ र ‘युईएफए युरो कप’ उपाधि जितेका छन्।

१९६४: लुइस सुवारेज (इन्टर मिलान र स्पेन)
१९८८: हान्स भान ब्रु केलेन, रोनाल्ड कोमान, बेरी भान एरले, जेराल्ड भानेनवर्ग (पीएसभी आइन्डोभन र नेदरल्यान्ड्स)
२०१२: फर्नान्डो टोरेस, जुवान माटा (चेल्सी र स्पेन)
२०१६: क्रिस्टियानो रोनाल्डो, पेपे (रियल मड्रिड र पोर्चुगल)

 

सन् २०२०/२१ को च्याम्पियन्स लिग इंग्लिश क्लब चेल्सीले जितेको हुँदा भोलिको फाइनल खेल जित्ने टोलीबाट निम्नलिखित खेलाडीले यस सूचीमा नाम लेख्नेछन्।

इङ्ल्यान्डले जितेको खण्डमा: बेन चिलवेल, रिस जेम्स, मेसन माउन्ट
इटालीले जितेको खण्डमा: जोर्जिन्हो

 

युईएफए युरो कप फाइनल आयोजना गरेका रंगशाला

सन् १९६० मा पहिलो पटक आयोजना भएको युरो कपको १५औं संस्करण सकिँदासम्म १२ राष्ट्रको १३ विभिन्न स्थानले फाइनल खेल आयोजना गरिसकेका छन्।

१९६०: पार्क डेस प्रिन्सेस, पेरिस, फ्रान्स
१९६४: सान्टियागो बर्नेबाउ, मड्रिड, स्पेन
१९६८: ओलम्पिक स्टेडियम, रोम, इटाली
१९७२: रोई बाउडोइन, ब्रसेल्स, बेल्जियम
१९७६: एफके किर्भेन जेभेडा स्टेडियम, बेलग्रेड, युगोस्लाभिया
१९८०: ओलम्पिक स्टेडियम, रोम, इटाली
१९८४: पार्क डेस प्रिन्सेस, पेरिस, फ्रान्स
१९८८: ओलम्पियास्टेडियन, म्युनिख, जर्मनी
१९९२: उल्लेभी, गोथेन्वर्ग, स्वीडेन
१९९६: वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
२०००: फाइनरवुड स्टेडियम, रोटरड्याम, नेदरल्यान्ड्स
२००४: लिसबोवा बेन्फिका स्टेडियम, लिस्बन, पोर्चुगल
२००८: अर्नस्ट ह्याप्पल स्टेडियम, भिएना, अस्ट्रिया
२०१२: एनएसके ओलाम्पिस्की, किभ, युक्रेन
२०१६: स्टाडे डे फ्रान्स, सेन्ट डेनिस, फ्रान्स

 

युरो कप २०२० को मास्कट

युरो कप २०२० को मास्कट ‘स्किल्जी’ रहेको छ। स्किल्जी फ्रि-स्टाइल, सडक र प्यान्ना संस्कृतिबाट प्रेरित काल्पानिक पात्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?