काठमाडौं । भारत र नेपाल सरकारबीच ‘भारत – नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्रमा हस्ताक्षर भएको छ ।
दुई देशका सरकारबीच शुक्रवार एक भर्चुअल समारोहका बीच कूटनैतिक पत्र तथा दुवै पक्षले हस्ताक्षर गरेको लेटर अफ एक्स्चेन्ज आदानप्रदान भएको भारतिय राजदूतावासले जनाएको छ ।
लेटर अफ एक्स्चेन्जको हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपोसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन् । यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवम् मूल्य प्रतिस्पर्धामा वृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरुलाई लाभान्वित तुल्याउने बताइएको छ ।
भारतका तर्फबाट सो समारोहको नेतृत्व भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य सञ्जय कुमार मोहांतीले गरेका थिए भने नेपालका तर्फबाट समारोहको नेतृत्व नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री दिनेश भट्टराईले गरेका थिए । सो समारोहमा नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत श्री नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव श्री अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव श्री तीर्थराज वाग्ले उपस्थित थिए । साथै दुवै देशका दूतावास एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुको पनि सो समारोहमा उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया