‘मेस्सीलाई हराउन आतुर छु’: नेयमार

काठमाडौं । फुटबल जगतका दुई सुपरस्टार खेलाडी लियोनल मेस्सी र नेयमार कोपा अमेरिका २०२१ को फाइनल खेलमा आमने सामने हुँदै छन्।बार्सिलोनामा ४ वर्ष सँगै बिताएका मेस्सी र नेयमार बिच घनिष्ट मित्रता भएपनि आइतवार खेलिने फाइनल खेलमा भने यी दुई बिच मात्र प्रतिद्वन्दीको भावना हुनेछ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी सन् १९९३ पश्चात् आफ्नो राष्ट्रको पहिलो कोपा अमेरिका उपाधिका लागि मैदान प्रवेश गर्नेछन्। मेस्सीको लागि पनि आइतवारको फाइनल खेलको उपाधि आफ्नो करियरकै पहिलो महादेशीय उपाधि रहनेछ।

उता ब्राजिलियन स्टार नेयमारको कथा पनि लगभग उस्तै छ। नेयमारले सन् २०१९ को कोपा अमेरिका इन्जुरीका कारण गुमाएका थिए। आफ्नै घरेलु मैदानमा भएको कोपा अमेरिका, र आफ्नै राष्ट्रले जितेको त्यो प्रतियोगिता, नेयमारले दुवै गुमाए। तसर्थ नेयमार पनि आफ्नो पहिलो महादेशीय उपाधि जित्ने दाउमा आइतवार मैदान प्रवेश गर्नेछन्।

“मेस्सी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन्, मैले जहिले पनि यही भन्ने गरेको छु”, आइतवारको फाइनल खेल अघि नेयमारले भनेका कुरा हुन्। “तर अहिले हामी फाइनलमा छौं, हामी केवल प्रतिद्वन्दी हौं। म आफ्नो पहिलो कोपा अमेरिका उपाधि जित्न एकदमै आतुर छु”, उनले थपे।

यद्यपि नेयमारले आफ्नो निकटका मित्र मेस्सीको तारिफ गर्न भने पछि हटेनन्। “मेस्सी पनि अर्जेन्टिनासँग आफ्नो पहिलो कोपा जित्ने दाउमा छन्। ब्राजिल नखेलेको प्रतियोगितामा त म सधैं उनकै समर्थन गर्छु”, उनले भने। “सन् २०१४ विश्वकप फाइनलमा पनि मैले उनलाई नै समर्थन गरेको थिएँ”, नेयमारले जानकारी दिए।

“तर अहिले अर्जेन्टिना ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ, मित्रताको सवाल नै छैन। मित्रता भुलाउन सजिलो छैन तर हामी साथीसँग भिडियो गेम खेल्दा त जित्ने चाहना लिएर खेल्छौं, यो त कोपा फाइनल हो, मेस्सीलाई हराउन आतुर छु”, नेयमारले हाँस्दै भने।

आइतवार आयोजना हुने फाइनल खेलमा ब्राजिल आफ्नो १०औं कोपा अमेरिका उपाधि उचाल्न प्रयासरत हुनेछ। त्यस्तै अर्जेन्टिना भने २८ वर्ष पछि कोपाको उपाधि उचाल्ने दाउमा मैदानमा उत्रिने छ। फाइनलसम्म आइपुग्दा अर्जेन्टिना १९ खेलमा अपराजित छ भने ब्राजिलले पछिल्लो १३ खेलमा हार बेहोरेको छैन।

(फोटमोब बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?