राष्ट्रिय प्रसारण लाइन पुगेपछि कैलासवासीमा छायो खुशीयाली

RSS
104
Shares

काठमाडौं । साँझमा धिपधिप बल्ने सोलार बत्ती । कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता । साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ ।

सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् ।

यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ ।

जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुशी भएका छन् । नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नं १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुशी भएका हुन् ।

जयपृथ्वी नगरपालिका-१, कैलाशका स्थानीय रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताएका छन्।

विकले, भने, “गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपथ्र्यो, अब त्यो समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।”

बल्लतल्ल सडक पु¥याए पनि यहाँ केन्द्रीय प्रशारण लाइन पुग्न सकेको थिएन । नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका वासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन् ।

स्थानीय ६२ वर्षीय केशवबहादुर सिंहले भने, “गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो । धेरैले हामीलाई आशा देखाउँथे तर बत्ती वर्षौंसम्म आएन, हामीले हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो तर आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुशी लागेको छ ।”

प्रसारण लाइन गत वैशाखमै पुर्‍याएर जेठबाट बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्ष गगनबहादुर सिंहले बताए । गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?