प्रदेश नं १ प्रदेश सभा बैठकमा के – के भयो ?

लोकपथ
117
Shares

मोरङ । प्रदेश – १ का उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री जगदीशप्रसाद कुसियतले बजेट घाटा एवं कोभीड – १९ को विषम परिस्थितिका कारण ५० प्रतिशत बजेट कटौतीका कारण मन्त्रालयसँग सम्वन्धित विगतका आयोजनालाई बाध्यतावस निरन्तरता दिन नसकिएको बताए ।

प्रदेश – १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनशको २०औँ आजको बैठकमा विनियोजन विधेयक २०७८ मा निर्दिष्ट गरी मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि विभिन्न सदस्यले राख्नुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो धारणा राखेका हुन् ।

प्रदेश सदस्यको भावनाअनुसार प्रदेशलाई उत्कृष्ट बनाउनका सरकार प्रत्यनशील रहेको चर्चा गर्दै उनले सोचेअनुसार पर्यटन क्षेत्रमा कार्य गर्न नसकेको र प्राथमिकताका अनुसार सबै जिल्लालाई समानुपातिक ढङ्गले बजेट विनियोजन गरेको बताए । मन्त्री कुसियतले प्रदेशको पहाडी क्षेत्रमा ७५ किलोमिटर र खुम्वु क्षेत्रमा निर्माण गरिएका पदमार्गको चर्चा विश्वमा चलेको धारणा राखे ।

उनले तराई क्षेत्रमा धार्मिक पर्यटकको आवागमन वृद्धिका लागि कोशी व्यारेजदेखि रामधुनी, चतरा, धरान र तालतलैया जोड्ने वहुवर्षीय करिडोर निर्माणका लागि बजेट विनियोजन गरेको बताए । मन्त्री कुसियतले १४ जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्वरोजगारका लागि मुलकलाई आवश्यकता अनुसारको शीप विकास तालीम सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा कार्यालयले प्रविधि हस्तान्तरण कार्य गर्ने बताए ।

यसैगरी आज भएको शून्य समयमा पदमकुमारी गुरुङ र राधा थापाले प्रदेशको समसामयिक विकासमा जिज्ञासा राखेका थिए । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत केदार कार्कीलाई विशेष समय दिएका थिए ।

सभामुख भण्डारीले प्रदेशसभा निमावली २०७४ को १४३ को उपनियम १ बमोजिम सार्वजनिक लेखा समितिले तयार पारेको आव २०७६/७७ को वार्षिक प्रतिवेशन सभामा पेश समितिका सभापति शिवनारायण गनगाईंलाई अनुमति दिए । प्रदेशसभाको अर्को बैठक यही असार २५ गते शुक्रबार दिनको ११ बस्ने सभामुख भण्डारीले सदनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?