‘सत्ता स्वार्थकै लागि उनीहरुले होटलमा लगेर सांसदलाई थुने’ (भिडियोसहित)

लोकपथ
910
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण एक जुट बन्न पुगेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर २०७७ बैशाख १० मा जसपा गठन भएको थियो । निर्वाचन आयोगले जसपाको विवादमा आधिकारिकता महन्थ ठाकुर पक्ष या उपेन्द्र यादव पक्षले भन्ने विषयमा इजलास गठन गरेर प्रक्रिया अघि बढाएको छ ।

असार २२ मा जसपा अध्यक्षद्वय ठाकुर र यादवलाई आयोगले सहमतिका लागि मौका दिएको थियो । तर सहमति हुन सकेन । दुवै पक्ष जसपाको औपचारिक विभाजनको साइत हेरिरहेका छन् । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव पक्षमा खुलेर लागेका नेता महेन्द्र राय यादवसँग लोकपथका लागि रामेश्वर सापकोटाले गरेको कुराकानीको अंश : 

दुई पार्टी जुटेको एक वर्षमै फुट्ने अवस्था आयो,यस्तो नरम गरम किन ?

पार्टी एकताको एक वर्षमा हामीले खुशीयाली मनाउनु पर्ने बेलामा देशमा यस्तो परिस्थिति निर्माण भएको छ । यसमा हामी चिन्तित छौ । पार्टी भनेको विचार, सिद्धान्त,नीति नियम र बिधि विधानले चल्छ । तर ठाकुर पक्षबाट यी सबै कुरा मिच्ने र वेवास्ता गर्ने काम भयो । हामी अहिले पनि पार्टी एकताको पक्षमा हौ । जुनसुनै पार्टी पनि फुट्नु देश र लोकतन्त्रका लागि राम्रो होइन । हामी लोकतन्त्र बलियो र देशका समस्या समाधान गर्ने उद्येश्य सहित एकजुट भएका थिर्याै । पार्टी समायोजनका काम पनि रोड म्याप अनुसार हुन सकेन । हिमाल, पहाड र तराई त्यो सबै जनताका लागि ऐतिहासिक एकता थियो । तर त्यो लामो समयसम्म टिक्न सकेन ।

२०७७ बैशाख ८ मा सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि वैशाख १० मा तपाइँहरु तत्कालीन राजपा र समाजवादी पार्टीलाई प्रधानमन्त्री ओलीले आफ्नो सत्ता सुरक्षित पार्न फुटाउन खोजेको भन्दै राता रात एकजुट हुनुभयो । अहिले प्रधानमन्त्री ओलीकै कारण फुट्नु हुने भयो हैन ?

प्रधानमन्त्री ओलीको कारण हामी जुटेको र फुटेको होइन । हाम्रै पार्टीका केही व्यक्तिका कारण यस्तो भएको हो । पार्टी एकता हुने बेलामा हामीले धेरै लामो समयदेखि तयारी गरेका थियौै । तर त्यतिबेला तत्कालीन राजपा र समाजवादी पार्टीका केही अवसरवादी व्यक्तिको आग्रहमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु भयो । हामीले एकताको तयारी गरिरहेका बेला अध्यादेश ल्याउन खोज्नु एउटा संयोग मात्रै हो । अहिले पनि पार्टीका केही व्यक्तिहरुकै कारण पार्टी विभाजको अवस्था आयो । फुट र जुटमा अरुलाई दोष छैन् ।

तर ठाकुर पक्षले उपेन्द्र पक्षले पार्टीको विधि,विधान मानेन् भनेर आरोप लगाएका छन् ।

त्यो उनीहरुको गलत कुरा हो । हामीले कहाँ विधि विधानको कुरामा गल्ती गर्यौ ?यदि त्यस्तो हो भने त उनीहरु छलफलमा आउन पर्यो नि । पार्टीको बैठक बोलाउँदा नआउने, भित्र भित्रै पार्टी हित विपरितका काम गर्दै सरकासँग साँठगाँठ गर्ने,निर्वाचन आयोगमा पार्टीको नक्कली कागजात पेश गर्ने यस्ता कामहरु ठाकुर पक्षबाट भए । सत्ता स्वार्थकै लागि उनीहरु पार्टीलाई क्षत विक्षत गर्न तयार भए । भक्तपुरको होटलमा लगेर सांसदलाई थुने । यस्ता काम गर्नेले हामी बिधि प्रक्रिया अनुसार अघि बढेको अवस्थामा त्यस्ता आरोपको कुनै अर्थ छैन ।

पार्टी आधिकारिकताका लागि निर्णय गर्ने जिम्मा निर्वाचन आयोगमा पुगेको छ । को हो त आधिकारिक ?

आधिकारिक जसपा भनेकै हामी हौं । हामीले पार्टीमा निर्णय गर्दा हरेक कुरामा बिधि विधान र प्रक्रिया अपनाएका छौं । निर्वाचन आयोग पनि स्वतन्त्र संवैधानिक निकाय भएकाले उसले पनि ती सबै कुरा हेर्नेछ र त्यही बमोजिम निर्णय आउँछ भन्ने हाम्रो विश्वास छ । जसपाबाट केही व्यक्ति अलग्गिन खोजेका हुन् । तर जसपा फुटेको भन्ने अर्थ लगाउनु हुँदैन ।

तराई–मधेशका धेरै मुद्धाहरु छन् । तपाईहरुको एकता पनि दीर्घकालिन हुन सकेन । अव मधेशको मुख्य राजनीतिक शक्ति को हुनसक्छ ? सीके राउतको पार्टी पनि छ । कि तराइ मधेशमा मूलधारकै राजनीतिक दलहरु हावी हुनेछन् ?
जसपाले नै तराई–मधेश, हिमाल र पहाडका मुद्धा बोकेको छ । यो नै आधिकारिक शक्ति हो । बिगतमा पनि जसपाले ती मुद्दा उठाएको थियो । तराई–मधेशमा जसपाबाट छुट्टिएर जानेले ती मुद्धा बोक्न सक्दैनन् । सीके राउतको पार्टी त पार्टी नै होइन । प्रायोजित समूह हो,सीके राउतको पार्टी । जसपा नै मूलधार हो । खस,आर्य सबैको मुद्धालाई समेट्ने र हिमाल, पहाड अनि तराई जोड्ने काम नै जसपाले गर्छ ।

प्रतिनिधि सभा विघटन विरुद्ध सर्वाेच्च अदालत जानु भयो ? सर्वाेच्चमा बहस पनि सकिएको छ । अर्काे पेशी असार २८ गते ताकिएको छ । त्यो दिन फैसला आउला या बहस थप अघि बढ्ला त्यो आफ्नो ठाउँमा छ ? प्रतिनिधि सभा पुनः स्थापनामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

सर्वाेच्च अदालतले संविधानको रक्षा गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु । किनकि प्रतिनिधि सभा विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो । त्यसैले हामी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्र्दै अदालत पुगेका हौ । प्रतिनिधि सभा पुनः स्थापना भएर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

कांग्रेस सहित पाँच दल मिलेर गठबन्धन बनाउनु भएको छ,यो गठबन्धन लामो समयसम्म जान्छ कि सत्ता स्वार्थका लागि मात्रै हो ?

यो गठबन्धन निरन्तर अघि बढ्छ । हामी लोकतन्त्रको रक्षाका पक्षधर हौं ।

देशमा कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन,बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समय छ अहिले यस्तोमा सरकारको काम गराइप्रति तपाइँको विश्लेषण के छनि ?

हेनुस् देशमा कोरोना संकटका बेला पनि सरकारले राम्रोसँग काम गर्न सकेन । खोपको समयमै प्रवन्ध गरेन । झण्डै दुइ तिहाइको बहुमत रहेको सरकार अहिले यस्तो अवस्थामा छ ।जनताको पक्षमा यो सरकारले कामै गरेन । अहिले सबैतिर बाढी पहिरो र डुवानको समस्या छ । त्यसमा सरकारले दीर्घकालीन सोचका साथ काम गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?