सुदूरपश्चिममा बढ्दो घटना : बलात्कारदेखि हत्यासम्म

लोकपथ
189
Shares

शेरबहादुर ऐर/धनगढी । कैलालीको कैलारी गाउँपालिका ४ के गाउँ बस्ने ३९ वर्षका सोम बहादुर बस्नेतलाइ जेठ २५ गते मदिरा सेवन गरि साथीको हत्या गरेको आरोपमा पक्राउ गर्‍यो ।

लम्कीचुहा नगरपालिका-२ मोतिपुर स्थित पदम बहादुर बुढा क्षेत्रीको घरमा डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने अन्दाजी वर्ष ३६ को विशाल बुढाथोकीसँग घरेलु मदिरा सेवन गरी दुबै जनाबिच बादविवाद हुँदा घरकोठामा रहेको फलामको कर्नीले टाउकोमा हिर्काउँदा मृत्यु भएको थियो ।

अन्दाजी २८ वर्षिय एक युवक जेठ १४ गते धनगढी बसपार्कमा मृत फेला परे । प्रहरीले अनुसन्धान गर्दै जाँदा युवकलाई चार जनाको समुहले हत्या गरेको पुष्टि भयो । उनको हत्यामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही रहेका थिए ।

प्रहरीलाई उनीहरुले दिएको अनुसार पैसा लुट्न कुटपिट गरेको बयान रहेको छ । कैलाली प्रहरीले लम्की चुहा नगरपालिका वडा नम्बर २ बस्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो । ती पुरुषलाई आफ्नै १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार “जेठ २७ गते दिउँसो पुरुषले भैँसी गोठमा लगी बालिकालाई जवरजस्ती करणी गरेर भैँसी गोठमा नै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाइएको थियो ।”

माथि उल्लेखित केही प्रतिनिधीमूलक घटनामात्र हुन । कैलालीसहित प्रदेशभरीनै सरकारले जारी गरेको निषेधाज्ञा अवधिमा पनि अपराध घटना कमि आउन सकेको छैन । प्रदेशमा घटेका अधिकाँस ज्यानसम्बन्धी मुद्दामा आफन्त तथा नजिककै चिनजानको मानिसको संलग्नता रहेको पाइएको छ ।

हत्यादेखि बलात्कारसम्मको घटनामा बढीजसो आफन्तकै संलग्नता देखिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको हो । सो कार्यालयका अनुसार प्रदेशमा अपराधका घटना बढिरहेको र ८० प्रतिशत अपराधका घटना आफन्तले आफन्तमाथि नै घटाइरहेका छन् ।

प्रदेशमा ६४ प्रतिशत महिला घरपरिवार, आफन्त, नातागोता, छिमेकी र साथीहरुबाट नै बलात्कृत भइरहेको प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पुरुषोतम कँडेलले बताए ।

“प्रदेशमा बलात्कार, हत्या, हिंसा बढेको बढ्यै छन”, उनले भने “त्यस्ता घटनामा सबैभन्दा बढी संलग्नता घरपरिवारका सदस्य, आफन्त वा चिनेजानेकै व्यक्तिहरुको रहने गरेको छ ।” प्रहरीका अनुसार हत्याका अधिकांस घटना पारिवारिक रिसिइवी, लेनदेन, मदिरा सेवन गरि बादविवाद, जग्गा विवाद लगायतका कारण रहेका छन ।

प्रदेश प्रहरी कार्यालय दीपायलले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारले निषेधाज्ञा जारी गरेको बैशाख १६ गतेदेखि जेठमसान्तसम्म प्रदेशमा ज्यानसम्बन्धी ६२ वटा मुद्दा दर्ता भएका छन । प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीमा २५ र कञ्चनपुरमा १० वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

दार्चुला र बझाङमा ६-६, डोटी र बैतडीमा ५-५, बाजुरामा तीन तथा अछाम र डडेल्धुरामा एक-एक ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जनाइएको छ । निषेधाज्ञा अवधिभर प्रदेशमा विभिन्न अपराधका तीन सय १७ वटा मुद्दा दर्ता भएको जनाएको छ ।

गत वर्ष सरकारले जारी गरेको लकडाउनमा प्रदेशमा एक सय ७५ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका थिए । २०७६ चैत ११ देखि असारमसान्तसम्म जारी भएको लकडाउनमा सबैभन्दा बढी ज्यानसम्बन्धीका घटना कैलाली र कञ्चनपुरमै भएका थिए । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार कैलालीमा ६९ र कञ्चनपुरमा ४० वटा मुद्दा दर्ता भएका थिए । गत वर्षको लकडाउनको अवधिमा प्रदेशमा विभिन्न अपराधका सात सय ३६ मुद्दा दर्ता भएका थिए ।

प्रदेशमा चालु आर्थिक वर्षको जेठमसान्तसम्म ज्यानसम्बन्धी ५ सय ७७ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ज्यानसम्बन्धी ५ सय २५ मुद्दा दर्ता भएका थिए ।

प्रदेशमा विभिन्न अपराधका दुई हजार आठ सय ५६ मुद्दा दर्ता भएका छन भने आर्थिक वर्ष २०७६/७७ मा दुई हजार आठ सय ८० मुद्दा दर्ता भएका थिए ।

पारिवारिक रिसिवले बालकको हत्या : 

कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षिय बालक विवेश विष्टको आफनै नाता पर्ने दिदिले हत्या गरेको खुलेको छ ।

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ५ बस्ने विष्टको नाता पर्ने १५ वर्षिय दिदी र लम्की चुहा नगरपालिका घर भई टीकापुर ब्लक नम्बर ५ मा डेरा गरी बस्ने बाला बरामद भएकी १४ वर्षिय बालकलाई नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो ।

‘पारिवारिक सिसइवी डाहका कारण मार्ने योजना बनाई जामुन खाने निहुँमा बालकलाई घरबाट लगिएको थियो’ अनुसन्धानमा खटिएका कैलाली प्रहरी उपरिक्षक विश्व अधिकारी बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै भने –”घरबाट करिव चार-पाँच सय मिटर उत्तरतर्फ रहेको जमरा कुलोको डिलमा लगि पहिले खुट्टामा लगाएको चाँदीको बाला निकाली वालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको स्वीकारेकी छिन ।”

सोमवारदेखि वेपत्ता बालक बुधबार कुलोमा मृत अवस्थामा फेला परेका थिए । प्रहरीले सुक्ष्म अनुसन्धान गर्दै जाँदा बालक र नाता पर्ने १५ वर्षिय दिदि सो दिन जमरा कुलोको आसपास देखिएको खुलेको थियो ।

प्रहरी उपरिक्षक अधिकारीले भने –‘रानी जमराको कुलो बन्द गराई टोली परिचालन गर्दा बालक घटनास्थलबाट करिव पाँच किलोमिटर तल टीकापुर नगरपालिका वडा नम्बर ४ घोयली उपभोक्ता वन स्थित जमरा कुलोमा किनारतर्फ रहेको बेतको झ्याङमा मृत अवस्थामा फेला परेका थिए ।’

उनका अनुसार मृतक बालकलाई लिएर गएकी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्य प्रमाणले गलत देखिएपछि घटना घटेको दिनको १५ वर्षिय बालिकाको सम्पूर्ण दैनिकीलाई प्रहरीले पहिल्याएको थियो । प्रहरी उपरिक्षक अधिकारीले भने –”टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नंम्बर ५ मा बस्ने साथीलाई घटना घटेकै दिन दुई वटा चाँदीको बाला राख्न दिएको खुल्न आएको र सो बालाहरु बलककै भएको परिवारले सनाखत गरेका थिए ।”

प्रारम्भिक अनुसन्धानमा बालकका नाता पर्ने दिदीले प्रहरी समक्ष जमुन खाएर फर्किन भन्दा नजिकै रहेको आफन्तको घरतर्फ खेल्न जान्छु भनी जिद्दी गरेकाले आफन्तको घर जाने बाटो नजिक छोडी आफु किताव लिन त्यसको तीन सय मिटर उत्तरतर्फ रहेको साथीको घरमा गएको बयान दिएकी थिइन ।

अनुसन्धानका लागि बालकलाई घरबाट लिएर जाने निजकी दिदी र बाला बरामद भएकी १४ वर्षीय बालिकालाई समेत प्रहरीले नियन्त्रणमा लिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?