तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका – ४ स्थित पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आएको बाढीको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पानीको बहाव घटाउन प्रहरी र स्थानीयवासी खटिइरहेको उनले बताए ।
यसैबीच, बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोले दुई घर पुरेको र १० घरमा क्षति भएको छ । पहिरोले घर पुरे पनि मानवीय क्षति भने नभएको गाउँपालिका कार्यालयले जनाएको छ ।
ऋषिङ – ५ को पिपलटाका १० घरमा पहिरोले क्षति पु¥याएको छ । स्थानीयवासी नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ ।
त्यसैगरी सीता केसीको घर पहिरोले पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको पाक्न लागेको मकै बाली क्षति भएको उनले बताए । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी, ऋषिङ–४ का वडासदस्य टोलनाथ थापाको घर पहिरोले पुरेको छ । घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया