काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ ।
निगमले बुधवार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भएको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले रणनीतिक साझेदार भित्राउने प्रक्रियाका लागि अवधारणा पत्र पेस गर्न दिएको निर्देशनअनुसार नै गरिएको उल्लेख गरेको हो । निगममा रणनीतिक साझेदार भित्राउने सरकारको प्रयास रहे पनि यसलाई निजीकरण गर्न लागिएको आरोप लाग्न थालेको छ ।
निगमले भने निजीकरणको प्रयास नभई रणनीतिक साझेदार भित्राउन कम्पनीको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी बुझाइएको जनाएको छ । अर्थ मन्त्रालयले असार १५ भित्र मस्यौदा पेस गर्न दिएको निर्देशनअनुसार निगम सञ्चालक समितिले असार १० गते उपसमिति गठन गरी मस्यौदा तयार गरिएको निगमले उल्लेख गरेको छ ।
त्यसरी तयार गरिएको मस्यौदा असार १३ गते निगम व्यवस्थालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई बुझाउन सञ्चालक समितिले निर्देशन दिएको पनि विज्ञप्तिमा जनाइएको छ । उक्त मस्यौदा निगम व्यवस्थापनलाई नभई अर्थ मन्त्रालयको निर्देशनअनुसार मन्त्रालयलाई नै बुझाइएको निगमले स्पष्ट पारेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया