काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ ।
बुधवार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ । ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन । कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए । नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए । दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधवार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए । त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो ।
ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए । उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ । ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए । पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन् । त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन् ।
कार्यदलमा रहेका नेताले भने संवाद सकारात्मक रहेको बताएका छन् । नेपाल पक्षबाट कार्यदलमा रहेका भीम रावल र सुरेन्द्र पाण्डेले संवाद सकारात्मक रहेको बताए। पाण्डेले थपे, ‘बिहीबार निष्कर्ष निस्कन्छ ।’ नेपाल पक्षले दोस्रो अध्यक्ष भएर जाँदा पनि अधिकारसहित हुनुपर्ने र संवैधानिक निकायमा नियुक्ति दुवै अध्यक्षको हस्ताक्षरमा हुनुपर्ने कुरा उठाउँदै आएको छ । यही विषयमा ओली–नेपालबीच कुराकानी नमिलेको स्रोतको दाबी छ । नेपालसँगको कुराकानीपछि ओलीले बुधवार राति आफू निकटका नेतासँग छलफल गरेका थिए । ‘विधान, संगठन लगायतका धेरै विषयमा कार्यदलले सहमति गरिसकेको छ तर दुई नेताबीच शक्ति बाँडफाँड भएर भने विवाद निरुपण कठिन छ’, एमाले उच्च स्रोतले भन्यो । एमालेको विवाद सुल्झाउन गठित कार्यदलको बैठक तीन दिनदेखि जारी रहँदा समस्या समाधान हुने दिशामा बढेको नेताहरूले जनाएका थिए । तर पनि ओली र नेपालबीचको भेटघाटमा सहमति जुट्न सकेन ।
यसअघि ओली र नेपालबीच वैशाख ८ गते र ९ गते भेटवार्ता भएको थियो । ओलीले नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको थियो । त्यसअघि चैत २ मा पार्टी कार्यालयमा उनीहरूबीच वार्ता भएको थियो । त्यहाँ सकारात्मक कुराकानी नभए पनि ओली र नेपालबीच वैशाख ३० गते चार घण्टा कुराकानी भएको थियो । त्यसपछि १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले काम गरिरहेका बेला नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई कारबाही गरियो । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षले रामबहादुर थापालाई मतदान नगरेपछि कार्यदललाई जेठ ७ अघि नै निष्कृय पारिएको थियो ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया