युरो कप खेल ५०: ५५ वर्ष पछि इङ्ल्यान्ड फाइनलमा, कप्तान केनले गरे निर्णायक गोल

लोकपथ संवाददाता
9.6k
Shares
Soccer Football – Euro 2020 – Semi Final – England v Denmark – Wembley Stadium, London, Britain – July 7, 2021 England’s Harry Kane celebrates scores their second goal Pool via REUTERS/Laurence Griffiths

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत दोस्रो सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ।

इङ्ल्यान्डको घरेलु मैदान ‘वेम्बली’ मैदानमा भएको दोस्रो सेमी फाइनल खेलमा दुवै टोलीले शुरुवाती मिनेटदेखि नै निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। ६० हजार दर्शक माझ खेलिएको सो खेलमा डेनमार्कले अग्रता लिन सफल भयो।

ड्यानीस युवा खेलाडी डाम्सगार्डले खेलको पहिलो गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ३०औं मिनेटमा डेनमार्कले पाएको ‘फ्रि-किक’लाई डाम्सगार्डले उत्कृष्ट तरिकाले गोलमा परिणत गरेका थिए। यस प्रतियोगितामा इङ्ल्यान्डले आफ्नो पोस्टमा हुन दिएको यो पहिलो गोल रह्यो।

तर डेनमार्कको अग्रता १० मिनेटसम्म पनि टिकेन। घरेलु टोली इङ्ल्यान्डका कप्तान ह्यारी केनले खेलको ३९औं मिनेटमा शानदार ‘थ्रु बल’ निकाले। सोही बलमा बूकायो साकाले निकालेको क्रस ड्यानीस कप्तान सिमोन कायरलाई लागेर गोल पोस्टमा छिर्न पुग्यो। कप्तान कायरको आत्मघाती गोलमा इङ्ल्यान्डले बराबरी गोल गर्न सफल भएको हो।

त्यसपछि पहिलो हाफमा दुवै टोलीले अरु गोल गर्न सकेनन् र शुरुवाती ४५ मिनेटको खेल १-१ गोलको बराबरीमा सकियो।

दोस्रो हाफमा इङ्ल्यान्ड बलियो देखियो। तर इङ्ल्यान्डले बारम्बार ड्यानीस पोस्टमा प्रहार गरिरहँदा पनि गोल भने गर्न सकेन। उता दोस्रो हाफमा केही अल्मलिएको डेनमार्कले सोही स्तरको एट्याक गर्न सकेन। निर्धारित ९० मिनेटको खेल समाप्त भएसँगै खेलमा ६ मिनेटको इन्जुरी समय थपिएको थियो।

इङ्ल्यान्डले थपिएको इन्जुरी समयमा निकै खतरनाक एट्याक गरेपनि गोल गर्न भने हरेक पटक चुकेको थियो। निकै कोशिश गर्दा पनि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल अतिरिक्त समयतर्फ जान पुग्यो।

अतिरिक्त समयको पहिलो हाफमा इङ्ल्यान्डले पेनाल्टी प्राप्त गर्यो। डेनमार्कका रक्षक माएलेले रहिम स्टरलिङलाई ‘डि-बक्स’मा लडाउँदा डच रेफ्री ड्यानी मक्केलीले घरेलु टोलिलाई पेनाल्टी प्रदान गरेका थिए।

इंग्लिश कप्तान ह्यारी केनले उक्त पेनाल्टी प्रहार गरे। तर सो प्रहारलाई डेनमार्कका गोलरक्षक कास्पर स्माइकलले शानदार बचाउ गरिदिए। त्यही बल ‘रिबाउन्ड’मा केनको खुट्टामा पर्यो। प्राप्त दोस्रो मौकामा भने इंग्लिश कप्तानले कुनै गल्ती गरेनन् र खेलमा इङ्ल्यान्डले अग्रता लिन सफल भयो।

त्यसपछि खेलमा अरु कुनै गोल हुन सकेन र जित इङ्ल्यान्डको पक्षमा गयो। यस जितसँगै इङ्ल्यान्ड सन् १९६६ पश्चात् कुनै पनि प्रमुख प्रतियोगिताको फाइनलमा पहिलो पटक प्रवेश गरेको छ।

५५ वर्ष अघि विश्वकप विजेता बनेको इङ्ल्यान्डले अब आफ्नो पहिलो युरो कप उपाधिको लागि ‘जुलाई ११’ तारीखमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?