पशुपति कुर्मीले किन त्यसो गरे ? (भिडियोसहित)

वैदेशिक रोजगारमा देखिएको बेथितीले समाज हल्लिएको छ

कपिलवस्तु,कृष्णनगर नगरपालिका–१० का स्थानीय पशुपति कुर्मी असार १९ मा पक्राउ परे । तीन वर्षअघि अर्थात २०७५ चैत १७ मा उनले गोली हानी स्थानीय पारस पुरीको हत्या गरेका थिए । मेनपावर व्यवसायी पुरीले कर्मीका छोरालाई वैदेशिक रोजगारमा पठाएका थिए । तर, उनले न भने जति सेवासुविधा पाए न राम्रो काम नै । यसै विषयमा दुईजनाबीच भएको विवादले पुरीको ज्यान गयो । कुर्मी अहिले हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीका अनुसार उनीविरुद्ध कर्तव्य ज्यान र हात हतियार तथा विष्फोट पदार्थ मुद्धा दायर भएको छ । घटनामा संलग्न अन्य दुई जना भारतीय नागरिक भने अझै फरार छन् ।

मुलुकमा बेरोजगारको समस्या ब्याप्त छ । धेरैले रोजगारी पाएका छैनन्, जतिले पाएका छन् उनीहरुमध्ये धेरैजसोले काम अनुसार दाम पाएका छैनन् । त्यसकारण उनीहरु आप्mनो कामबाट सन्तुष्ट छैनन् ।

नेपालमै केहि गरौं भनेर लगानी गर्नेहरुले समेत उचित वातावरण पाएका छैनन् । कम्पनी दर्ता गर्नदेखि उत्पादित सामग्रीको बजार ब्यवस्थापन गर्न समेत घुस खुवाउनुपर्छ । दलालीको बिगबिगी, कानूनी झन्झट, राजनीतिक अस्थिरता लगायतमन कारण जन्मभूमिमै केही गर्छु भन्नेहरु समेत हायलकायल छन् ।

यही बाध्यतावश परिवारको गासबासकै लागि लाइन लागेर विदेश जान बाध्य छन्, क्षमतावान युवा । चालु आर्थिक २०७७/०७८ मा मात्रै एक लाख ५३ हजार जना वैदेशिक रोजगारमा गएका छन् ।

विदेश जान पनि घुसको चक्र पार गर्नुपर्छ । तैपनि भने जस्तो न काम पाइन्छ न दाम नै । यसले गर्दा समाजमा अपराधिक घटनाहरु हुने गरेका छन् ।

राम्रो काममा लगाइदिन्छु भन्दै बढी पैसा असुल्ने, पैसा लिएर रोजगारीमा नपठाउने, एउटा काम भनेर लगेर अर्कै काममा लगाउने, आकर्षक सेवा सुविधाको लोभ देखाउने तर कम्पनीले भने अनुसार सुविधा नदिने, समयमा काम र दाम नपाउने, विदेश पुगेर अलपत्र हुने जस्ता अनेकन समस्याहरु छन् ।

व्यक्तिमार्फत् गएकाहरु मात्रै होइनन् मेनपावर कम्पनीबाट गएकाहरु समेत ठगिएका छन् । वैदेशिक रोजगारका क्रममा ठगीमा परे अथवा कुनै समस्या भए सम्वन्धित देशको राजदूतावास वा वैदेशिक रोजगार विभागमा सम्पर्क र उजुरी गर्न सकिने बताउँछन् वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराई । कुनै लोभलालचमा नपरि सरकारी नियम अनुसारको मापदण्ड अपनाएर मात्रै रोजगारीमा जाँदा समस्या नहुने उनको भनाइ छ ।

वैदेशिक रोजगारमा जाँदा, रहँदा र आउँदाको समस्या एकातिर छ, कतिपयले त पारिवारिक समस्या समेत झेल्न वाध्य भएका छन् । परिवारकै लागि भनेर विदेशिएकाहरु मध्ये कतिपय परिवारकै चोट सहन बाध्य छन् । कतिपय परिवारलाई थप पीडा दिएर वेपत्ता हुने गरेका छन् ।

कतिपय श्रीमान श्रीमतीबीच देखिएको शारिरिक, मानसिक र आर्थिक विवादले समाजमै नकारात्मक असर परिरहेको छ । त्यसो त नेपाली समाजमा एउटा भनाइ नै स्थापित भएको छ, ‘श्रीमान खाडीमा, श्रीमती अर्कैको गाडीमा, श्रीमती खाडीमा, श्रीमान अर्कैको साडीमा ।’

कोही यता श्रीमतीलाई विचल्लीमा पारेर उतै बेपत्ता भईदिन्छन्,कोही श्रीमान्को कमाइ कुम्ल्याएर अर्कैसँग सुइकुँच्चा ठोक्छन् ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रिय विभागका प्रमुख डा. टिकाराम गौतम ब्यक्तिमा आउने विचलित मानसिकताले यस्तो समस्या आउने बताउँछन् । फरक परिवेशमा पुग्दा कतिपय ब्यक्तिले आफ्नो विगतको ब्यवहार परिवर्तन गर्ने उनको भनाइ छ । यसले घर परिवारसँग टाढा हुने र सम्बन्ध बिग्रिँदै जाने उनको धारणा छ । यसप्रकारको समस्या समाधानका लागि स्वदेशमा बस्ने परिवारका सदस्य र विदेशमा जाने सदस्यलाई चेतना जगाउनुपर्ने डा. गौतमको सुझाव छ ।

धेरै जसो नेपाली जीवन निर्वाहका लागि विदेशिने गरेका छन् । विदेशिने मध्ये धेरै जसो खाडी मुलुकमा जाने गरेका छन् । उनीहरुले काम गर्ने क्रममा भोग्नु पर्ने अनेकन समस्या र पीडाहरु एकातिर छदैँछ, अर्काेतिर यसरी विदेशिन बाध्य युवाको जनधनको सुरक्षा समेत हुन सकेको छैन ।

मुलुकमा रोजगारका दर्जनौ कार्यक्रमहरु संचालनमा छन् । तर ति कार्यक्रमहरु लक्षित वर्गसम्म पुग्न सकेका छैननन । जसले गर्दा यस्ता कार्यक्रममा गरिएको लगानी बालुवामा पानी हाले जस्तै भएको छ । देशमा रोजगारीको वातावरण सिर्जना नगर्ने र वैदेशिक रोजगारीलाई पनि ब्यवस्थित नगर्ने प्रवृतिले आम युवापुस्ता निराश मात्रै छैनन्,उनीहरुको जोश–जाँगर समेत हराएको छ ।

कपिलवस्तुका पशुपति कुर्मीको नियती भोग्न के हामी अभिशप्त नै छौं ? उनले हत्या गरेर अपराध गरे । तर प्रश्न अझै बाँकी छ,त्यो हदसम्म पुग्न पशुपति किन बाध्य भए ? कसले सुन्दिने, कसले बुझिदिने पशुपतिको पिरलो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?