अझै भेटिइनन् नौ दिनदेखि हराएकी विना

काठमाडौं । चितवनमा मृत अवस्थामा भेटिएकी सुजिता भण्डारीको घटनाको रहस्य सुल्झिन नपाउदै फेरि अर्की युवती बेपत्ता भइन् ।

नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा नौ दिनदेखि बेपत्ता छिन । असार १४ गते रातीदेखि बेपत्ता भएकी उनको आज नौ दिन बितिसक्दा पनि उनको अवस्था बारे केहि पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय गैंडाकोट प्रहरीले उनको खोजी कार्य तिब्र पारिएको बताएको भए पनि यो समाचार लेख्दासम्म उनको अवस्था अज्ञात छ ।

बीच सडकबाटै यसरी बेपत्ता भएकी थिइन विना :

घटनाको पहिलो पात्र : विना सापकोटा
घटनाको दोस्रो पात्र : प्रहरी नियन्त्रणमा रहेका युवक (विनाका प्रेमी)

विना भरतपुर–४ का एक युवकसँग प्रेममा थिइन । पाँच वर्ष अघि उनीहरुको फेसबुकमार्फत चिनजान भएको थियो । लण्डनबाट ती युवक आफ्नो दाईको विवाहका लागि नेपाल आएका थिए ।

विना बेपत्ता भएको दिन (असार १४ गते) पनि ती युवक विनाकै घरमा खाजा खाएर त्यहाँबाट निस्केका थिए । विना पनि उनीसँगै घरबाट निस्किएकी थिइन । विनाको परिवारमा ती युवकको राम्रै चिनजान भएकाले कसैले आपत्ती जनाएका थिएनन ।

***

घटनामा अर्को मोड : तेस्रो पात्र

विना र ती युवक प्रेममा थिए । तर अर्की एक युवतीले विनाका प्रेमी अर्थात घटनाका दोस्रो पात्रलाई मन पराउँथिइन ।

अर्की युवतीले स्कूल पढ्दादेखि नै युवकलाई मन पराउने कुरा विनाले थाहा पाएपछि उनीहरु घटना भएको दिन आफ्नो घरबाट खाजा खाएर उनको घर गएका थिए । म्यासेन्जरमा निरन्तर म्यासेज आएपछि विनाले युवकलाई उसको घर जान दवाव दिएकी थिइन ।

ती युवतीको घरमा के भयो ?

ती युवतीको घरमा पुगेपछि उनीहरु बीच चर्काचर्की भएपछि विना एक्कासी बेहोस भएकी थिइन । विना बेहोस भएपछि युवकले विनाका बाबुलाई फोन गरे । र फोनमा विना बेहोस भएको जानकारी दिए । त्यसपछि विनाका बाबुले विनालाई घर ल्याइदिन भनेका थिए ।

पानी छम्केपछि विनाको होस आएपछि ती युवकले स्कुटरमा हालेर घर लैजादै थिए । चौविस कोठीमा एटीएममाा पैसा निकाल्न युवक एटीएममा गए । विना त्यतिबलेला स्कुटरमै बसी रहेकी थिइन ।

तर जब युवक पैसा निकालेर बाहिर निस्किए, विना त्यहाँ थिइनन् । एताउता खोज्दा पनि विनालाई नभेटेपछि उनले विनाका बाबुलाई फेरि फोन गरे । फोनमा उनले आफू एटीएमबाट बाहिर निस्किदा विना फेला नपरेको जानकारी दिए ।

घटनाबारे यसो भन्छ प्रहरी : 

अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका ती युवा अर्थात विनाका प्रेमीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवकलाई चितवन प्रहरीलाई बुझाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले लोकपथलाई जानकारी दिइन् ।

प्रहरीको अनुसन्धानबाट विना र ती युवक दुबैले आफ्नो फेसबुक आइडीमा रिलेसनसीपमा रहेको इन्फो राखेका छन । विनाको परिवारलाई उनीहरुको सम्बन्धबारे थाहा थियो र विवाहका लागि पनि तयार रहेको थियो । तर युवकको घरमा भने उनीहरुको सम्बन्धबारे थाहा नभएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

एटीएमको सिसिटीभि फुटेज हेर्दा युवकले भित्र छिरेर पैसा निकालेको देखिएको प्रहरीले बताएको छ ।

विनाको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले लोकपथलाई जानकारी दिए ।

विना र ती युवकका परिवार पनि उनको खोजी कार्यमा लागेका छन ।

(माथि उल्लेख गरिएका घटनाक्रम विनाका प्रेमीले प्रहरीलाई दिएको बयानमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?