राष्ट्रियसभा शुन्य समय : सरकारको ध्यानकर्षणदेखि चीनलाई बधाईसम्म

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रियसभाको बुधवारको बैठकको शुन्य समयमा बोल्दै सदस्यहरु समसायिक र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अर्थमन्त्रीको बजेट बक्तव्य पुस्तिकाको २ सय ५३ नम्बर बुँदामा दाङको लमही क्रिकेट मैदानका लागि बजेट बिनियोजन गरेको छु भने पनि खेलकुद मन्त्रालयले विनियोजन छैन भनेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएकी छिन् । साथै उनले दाङको निर्माणाधिन ४ लेनको सडक समयमा सम्पन्न नहुँदा स्थानीयले दुख पाएको भन्दै त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

उनले पहिलो डोज कोभिडशिल्ड लगाएका ज्येष्ठ नागरिकले दोश्रो डोज खोप लगाउन जीवनभर पर्खनुपर्ने हो भनी प्रश्न गरिन् ।

यसैगरी राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपाली कोभिड १९ को महामारीका कारण जनस्वास्थ्य पछि शिक्षा क्षेत्र नराम्रोसँग प्रभावित भएको बताइन् । उनले शहरका बालबालिका इन्टरनेटको पहुँचमा भएपनि ग्रामिण क्षेत्रका बालबालिकाले इन्टरनेट नभएकाले शिक्षाबाट बञ्चित भएको भन्दै तीनै तहको सरकारको समन्वयमा ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको पहुँच विस्तार गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य उदय शर्मा पौडेलले नेपाली जनता दिनप्रतिदिन मूल्यवृद्धिको मारमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले कोडिभ १९ को महामारीका कारण देखा परेका समस्याका कारण महिलाहरु झनै पिडीत भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रियसभा सदस्य खिमकुमार विकले मुलुक भ्रष्टाचारले डुंगडुंगी गन्हाएको आरोप लगाएका छन् । उनले असारे विकासको नाममा जथाभावी बजेट छर्ने काम भएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले अपाङ्गहरुलाई खोपको प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरे । त्यसैगरी छोटो समयमा पटक पटक इन्धनको मुल्य बढेको र त्यसले जनताको ढाड सेक्ने काम गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए ।

यसैक्रममा राष्ट्रियसभा सदस्य कोमल ओलीले भने छिमेकी मित्रराष्ट चीनले विश्वमा आफ्नो आवश्यकता महसुस गराउन सफल भएको भन्दै चीनको कम्युनिष्ट पार्टी स्थापनाको सतबार्षिकीको अवसरमा चीनका राष्ट्रपतिका साथै सरकार र चिनियाँ जनतालाई चिनियाँ भाषामा नै शुभकामना र बधाई समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?