इङ्ल्यान्डको खेल, घरेलु मैदान र इंग्लिश समर्थक

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज बुधवार मध्यरातमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै छन्।

सन् १९६६ विश्वकप फाइनल पश्चात् पहिलो पटक कुनै पनि प्रमुख प्रतियोगिताको फाइनलमा पुग्न प्रयासरत इंग्लिश टोलीले आजको सेमी फाइनल खेल घरेलु मैदानमा खेल्दै छ। इङ्ल्यान्डको राजधानी लन्डनस्थित ‘वेम्बली’ मैदानमा हुने आजको खेलमा ६० हजार दर्शक पनि उपस्थित हुनेछन्।

पछिल्लो समयमा बदलिएको इंग्लिश फुटबल र पहिलो युरो कप उपाधिको सपना, इङ्ल्यान्डले युरो कप २०२० उपाधि उचाल्ने हो भने, घरेलु मैदान र समर्थकले मुख्य भूमिका निर्वाह गर्नेछन्। नगरुन् पनि कसरी?

डेनमार्कविरुद्धको आजको खेलका लागि वेम्बली मैदानको टिकेट ‘सोल्ड-आउट’ भइसकेको छ। जबकि गए राति खेलिएको स्पेन र इटाली बिचको खेलमा सबै टिकेट बिकेका थिएनन्। बेलायतमा अहिले अरु राष्ट्रबाट आउने नागरिक अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ, त्यस कारण पनि युरो कपको क्रेजको बावजुद गए रातीको खेलमा कतिपय सिट खाली नै पाइएको थियो।

तर आज भने त्यस्तो अवश्य हुने छैन। फुटबल खेलकै शुरुवात भएको देश भएपनि इङ्ल्यान्डले मात्र एक पटक विश्वकप उपाधि जितेको छ। युरो कपमा त झन् इङ्ल्यान्डको उपाधि जित्ने सपना अहिलेसम्म अधुरो नै छ। आफ्नो खेल मैदान, अनी आफ्नै समर्थक, इङ्ल्यान्डले यस संस्करणमा पनि युरो कप जितेन भने, कहिले जित्ने?

भन्नै पर्दा यस युरो कप २०२० मा इङ्ल्यान्डलाई केही फाइदाहरु पनि भएका छन्। सेमी फाइनलसम्म आइपुग्दा इङ्ल्यान्डले मात्र एक खेल ‘अवे’ मैदानमा खेलेको छ। बाँकि ४ खेल घरेलु मैदानमा खेलेको इंग्लिश टोलीले आज सेमी फाइनल पनि घरेलु मैदानमा नै खेल्दै छ।

यति भन्दा इंग्लिश टोलीले प्रस्तुत गरेको शानदार प्रदर्शनीमा प्रश्न चिह्न लगाइएको भने पटक्कै होइन। युरोपियन फुटबलको महामेला युरो कप जस्तो प्रतियोगिताको अन्तिम ४ सम्म आइपुग्दा एक गोल पनि नखानु भनेको सानोतिनो कुरा होइन। त्यसमाथि अन्तिम १६ को खेलमा जर्मनी जस्तो टोलीलाई पाखा लगाउनु र आफ्नो एक मात्र ‘अवे’ खेलमा ४-० गोल अन्तरको जित दर्ता गर्नु, इङ्ल्यान्ड यस पटक साँच्चै नै बलियो देखिएको छ।

यद्यपि इंग्लिश समर्थक आफ्नो भूमिका निर्वाह गर्न पछि हटेका छैनन्। ‘इट्स कमिङ होम’, यो नारा हरेक इंग्लिश समर्थकको मन्त्र नै बनिसकेको छ। भाग्यमानी इंग्लिश समर्थकले त आज वेम्बलीको टिकेट पाए, तर कोरोनाका कारण मात्र ७५ प्रतिशत दर्शकलाई अनुमति दिइएको वेम्बलीमा लाखौं इंग्लिश समर्थकले स्थान पाउन असफल रहे।

उनीहरु पनि चुपचाप घर बस्न कहाँ मान्थे र? इङ्ल्यान्डको हरेक रेस्टुरेन्ट, पब, क्याफे लगायत ठाउँ ठाउँमा प्रोजेक्टर लगाई आजको खेल हेर्ने दर्शक जम्मा भइसकेका छन्। ‘द ब्रिटिश बियर एण्ड पब एसोसिएसन’ले त आज इङ्ल्यान्डमा ९.७ मिलियन बोतल बियर बिक्ने बताई सकेको छ। त्यसमध्ये पनि ६.८ मिलियन बोतल बियर त खेलको ९० मिनेटको समयमा मात्र बिक्ने अनुमान गरिएको छ।

इंग्लिश फुटबल समर्थकको ‘हुलिगनीजम’ विश्वव्यापी रूपमा प्रख्यात छ। क्लब फुटबलमा त ‘हुलिगन’ले भरिपुर्ण इंग्लिश समर्थक आफ्नो राष्ट्रको युरो कप सेमी फाइनल खेलको लागि कति उत्साहित होलान्? इङ्ल्यान्डको आजका केही तस्वीर;

द सनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?