डेनमार्कको उच्च मनोबल, इङ्ल्यान्डको उत्कृष्ट लय

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज बुधवार मध्यरातमा दोस्रो सेमी फाइनल खेलको तालिका रहेको छ ।

इङ्ल्यान्डको राजधानी लन्डनस्थित ‘वेम्बली’ मैदानमा आज राती युरोपियन फुटबलका दुई ‘अन्डरडग’ राष्ट्र इङ्ल्यान्ड र डेनमार्क आमने सामने हुँदै छन्। सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड र सन् १९९२ को युरो कप विजेता डेनमार्क बिचको आजको खेल निकै नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

डेनमार्क र इङ्ल्यान्ड दुवैलाई यो प्रतियोगिता आ-आफ्नो तरिकाले विशेष बनेको छ। समूह चरणको पहिलो खेलमा नै ड्यानिस सुपरस्टार क्रिस्टियन एरिकसन मैदानमा अचेत अवस्थामा पुगेका थिए। हृदयघातका कारण मैदानमा ढलेका एरिकसनको दुःखद घटना पश्चात् डेनमार्कले उनका लागि यस प्रतियोगिताका बाँकि खेल खेल्ने निधो गरेको थियो।

त्यस पश्चात् डेनमार्कको प्रदर्शनीले साँच्चै सबैलाई स्तब्ध बनाएको छ। युरो कप इतिहासमै डेनमार्कले लगातार ३ खेलमा जित निकालेको यो पहिलो पटक हो। अझै डेनमार्कले यस प्रतियोगितामा ११ गोल गरिसकेको छ। यो संख्या कुनै पनि प्रतियोगितामा ड्यानिस टोलीले प्रहार गरेको सर्वाधिक गोल संख्या हो।

उता सन् १९६६ विश्वकप फाइनल पछि कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल पुग्न नसकेको इङ्ल्यान्डले घरेलु मैदानमा पहिलो पटक युरो कप उपाधि उचाल्न चाहन्छ। क्वार्टर फाइनल खेलमा युक्रेनविरुद्ध ४-० गोलको जित दर्ता गरेको इंग्लिश टोलीले यस प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

प्रतियोगिता अन्त्य नहुँदै इङ्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले ‘गोल्डेन ग्लोभ’ जितिसकेका छन्। यस प्रतियोगितामा आफ्नो पोस्टमा १ गोल पनि हुन नदिएको इङ्ल्यान्डको रक्षापंक्तिको आज परीक्षा हुने निश्चित देखिन्छ।

 

यो किन भने डेनमार्कले सन् २०२० सेप्टेम्बर ९ यता मात्र १ खेलमा गोल गर्न सकेको छैन। यस दौरान १६ खेल खेलिसकेको डेनमार्कले एरिकसनको दुःखद घटना घटेको फिनल्यान्डविरुद्धको खेलमा मात्र गोल गर्न सकेको थिएन।

 

इङ्ल्यान्डविरुद्ध डेनमार्क

नेपाली समय: मध्यरात १२:४५
स्थानः वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
रेफ्रीः ड्यानी मक्केली (नेदरल्यान्ड्स)

 

हेड टू हेड

१ फेब्रुअरी २०११ डेनमार्क १–२ इङ्ल्यान्ड
६ मार्च २०१४ इङ्ल्यान्ड १–० डेनमार्क
९ सेप्टेम्बर २०२० डेनमार्क ०–० इङ्ल्यान्ड
१५ अक्टोबर २०२० इङ्ल्यान्ड ०–१ डेनमार्क

 

सम्भावित शुरुवाती ११

इङ्ल्यान्ड (फर्मेशन ४–२–३–१)
गोलरक्षकः पिकफर्ड
डिफेन्डरः वाकर, स्टोन्स, मगवायर, श
डिफेन्सिभ मिडफिल्डरः फिलिप्स, राइस
एट्याकिङ मिडफिल्डरः सान्चो, माउन्ट, स्टरलिङ
स्ट्राइकर: केन

प्रशिक्षक (ग्यारेथ साउथगेट)


डेनमार्क (फर्मेशन ३–४–३)
गोलरक्षकः कास्पर स्माइकल
डिफेन्डरः क्रिस्टियनसन, कायर, भेस्टरगार्ड
मिडफिल्डरः लारसन, होइवियर्ग, डेलानी, माएले
एट्याकः डाम्सगार्ड, ब्राथवेट, डोलबर्ग

प्रशिक्षक (कासपर हुलमान्ड)

प्लेयर्स टू वाच


इङ्ल्यान्ड: रहिम स्टरलिङ
डेनमार्क: कास्पर स्माइकल

 

युरो कप उपाधि


डेनमार्क: १ (१९९२)
इङ्ल्यान्ड: ०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?