तनहुँ । भानु नगरपालिका – १ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दीपुर – १ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको छ । आयोजनाले बन्दीपुर गाउँपालिका – १ पिप्लेदेखि खेलमैदान हुँदै गुरुङटार जाने सडक मार्गमा गरेको कालोपत्र उप्किएको हो ।
सङ्घीय सरकारको दुई करोड रुपैयाँ बजेटमा ठेकेदार कम्पनीले एक करोड २९ लाख रुपैयाँमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो । कालोपत्र गर्ने समयमा राम्रोसँग गर्न भनी स्थानीयवासीले पटकपटक घच्घचाए पनि खासै चासो नदिँदा यो समस्या आएको गाउँपालिका – १ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।
आयोजनाले ५०० मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरिएको जनाएको छ । ढलान र कालोपत्रेको जडान राम्रोसँग सुक्न नपाउँदै पानी पसेर चर्किन जाँदा करीब एक मिटर कालोपत्र उप्किएको आयोजनाका प्रमुख सफल श्रेष्ठले जानकारी दिए । सुलभ इन्फा काठमाडौँले ठेक्काको उक्त कार्यको जिम्मा पाएको थियो । कालोपत्र उप्किएको जनगुनासा आएपछि तत्कालै प्राविधिक टोली पठाएर अनुगमन गरिएको छ । उनले भने, ‘योजनाको कार्य सम्पन्न भैनसकेकाले ठेकेदारलाई पुनः कालोपत्रको लागि आग्रह गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया