युरो कप खेल ४९: मोराटा बने ‘हिरो’ देखि ‘जिरो’, इटाली फाइनलमा

लोकपथ संवाददाता
9.6k
Shares
Soccer Football – Euro 2020 – Semi Final – Italy v Spain – Wembley Stadium, London, Britain – July 6, 2021 Italy’s Jorginho with teammates celebrate after winning the penalty shoot-out Pool via REUTERS/Carl Recine

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत पहिलो सेमी फाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी ‘शुटआउट’मा ४-२ गोलले पराजित गरेको छ।

१२० मिनेटको खेलसम्म पनि दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टी ‘शुटआउट’मा पुगेको खेलमा इटालीले स्पेनलाई पराजित गरेको हो। स्पेनका लागि खेलमा बराबरी गोल गरेर नायक बनेका अल्भारो मोराटाले नै स्पेनको अन्तिम पेनाल्टी मिस गर्दा इटालीले फाइनलको यात्रा तय गरेको हो।

इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा ६० हजार दर्शक सामु भएको पहिलो सेमी फाइनल खेलमा दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल खेलेका थिए। पहिलो हाफको शुरुवाती २५ मिनेटसम्म बल पोसेसनमा हैकम जमाएको स्पेनले इटालीलाई खेलमा निकै सकस दिएको थियो।

तर पनि तीन पटक युरो कप विजेता स्पेनले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा शुरुवाती ४५ मिनेटमा गोल गर्न सकेन। यद्यपि यस प्रतियोगितामा निकै नै बलियो देखिएको इटालीलाई स्पेनको ‘फल्स नाइन’ रणनीतिले खेलमा निकै अप्ठ्यारो भने अवश्य बनाएको थियो।

दोस्रो हाफमा इटालीको प्रदर्शनमा केही सुधार देखियो। र खेलको ६०औं मिनेटमा चार पटक विश्वकप विजेता इटालीले अग्रता पनि लियो। इटालीले शानदार ‘काउन्टर एट्याक’ मार्फत खेलमा अग्रता लिन सफल भएको थियो। इटालीका गोलरक्षक डोनारुम्माले शुरुवात गरेको काउन्टर एट्याकलाई इटालीले मात्र १३ सेकेन्डको फरकमा फेडेरीको किएसा मार्फत गोलमा परिणत गरेको थियो।

खेलमा अधिकांश समय बल पोसेसनमा कब्जा जमाएपनि गोल भने गर्न नसकेको स्पेनिश टोलीले खेलमा आफ्नो प्रमुख स्ट्राइकर अल्भारो मोराटालाई खेलको ६२औं मिनेटमा प्रतिस्थापन गर्यो।

त्यस पश्चात् स्पेनको एट्याकले खेलमा आफ्नो स्वरूप फेर्यो। मोराटा र ड्यानी ओलमोको शानदार ‘बिल्ड अप प्ले’मा स्पेनले खेलको ८०औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। ओलमोको पासमा मोराटाले सुन्दर गोल गर्दै स्पेनिश टोलीलाई बराबरीमा पुर्याए। यस गोलले मोराटालाई युरो कप प्रतियोगितामा स्पेनको सर्वाधिक गोलकर्ता पनि बनायो। युरोमा उनले ६औं गोल गर्दै फर्नान्डो टोरेसको कीर्तिमान तोडेका हुन्।

त्यसपछि खेलमा दुवै टोलीले निर्णायक गोलको प्रयास गरेपनि सो हुन सकेन र खेल अतिरिक्त समयतर्फ गयो। नक-आउट चरणमा स्पेनको यो लगातार तेस्रो अतिरिक्त समय रह्यो। अतिरिक्त समयको पहिलो हाफमा दुवै टोलीले खेलमा गोल गर्न सकेनन्। स्पेनले थप समयको पहिलो हाफमा केही अवसरहरू सिर्जना गरेपनि गोल भने गर्न सकेन।

थप समयको दोस्रो हाफमा भने इटालीले केही मौकाहरु बनाउन सफल भयो। खेलको १०९औं मिनेटमा इटालीका फरवार्ड बेरार्डीले गोल समेत गरेका थिए तर उनी अफसाइड भएकाले सो गोलले मान्यता पाएन। यसरी थपिएको ३० मिनेटको समयमा पनि कुनै गोल हुन नसक्दा खेल पेनाल्टी ‘शुटआउट’तर्फ गएको थियो।

पेनाल्टी शुटआउट

इटाली: लोकाटेल्ली (मिस)

स्पेन: ओलमो (मिस)

इटाली: बेलोटी (गोल)

स्पेन: जेरार्ड मोरेनो (गोल)

इटाली: बोनुची (गोल)

स्पेन: थियागो (गोल)

इटाली: बर्नारडेसकी (गोल)

स्पेन: मोराटा (मिस)

इटाली: जोर्जिन्हो (गोल)

स्पेनका लागि खेलमा बराबरी गोलकर्ता मोराटा र असिस्टकर्ता ओलमो दुवैले आ-आफ्नो पेनाल्टी किक मिस गर्दा स्पेन युरो कप २०२० बाट बाहिरिएको छ।

उता पछिल्लो ३३ खेलमा अपराजित इटालीले युरो कप २०२० को फाइनलमा स्थान पक्का गरेको छ। इटालीले अब दोस्रो सेमी फाइनल खेलको विजेता, इङ्ल्यान्ड वा डेनमार्कसँग ‘जुलाई ११’ मा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?