बजार अभावले मूर्तिकला पेशा संकटमा

बाजुरा, २२ असोज ।दुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ ।भारत जान घरबाट निस्कनु भएका जैशीले आठ दिनसम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गरे । यसैबीच अचानक उनमा स्वरोजगार बन्नका लागि मूर्ति बनाउने सोच आएकाले यसैतर्फ होम्मिए ।भारतको यात्रा थाति राख्दै मूर्ति बनाउन थालेको १० महिना बित्यो, मूर्ति बनाए पनि बजार नपाएकाले सोचे जस्तो आम्दानी नभएको मूर्तिकार जैशीले बताए ।अहिले सोचेभन्दा कम आम्दानी भएको छ मूर्ति बेचेर छजनाको परिवार पाल्नुपर्ने बाध्यता जैशीमा छ तर बजार अभावले मूर्ति बनाउने पेशा संकटमा पर्ने हो की भन्ने चिन्ता उनमा छ ।जैशीले भने, “मूर्ति बनाउने आवश्यक उपकरण नहुँदा काममा ढिलाइ हुन्छ तर त्यस्ता उपकरण पाए दैनिक २० वटाभन्दा बढी मूर्ति बनाउन सक्छु । ”मूर्तिकला केन्द्र बनाइ यसलाई स्तरोन्नति गर्दै उद्योग बनाउने सोच उनको छ । दश महिनाभित्र रु तीन लाखभन्दा बढीको कारोबार गरेका मूर्तिकार जैशीका प्रतिमूर्ति रु २५ हजारदेखि रु ६० हजारसम्ममा बिक्री हुने गरेपनि समयमै मूर्ति विक्री नहुँदा खर्च बढेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?