निषेधाज्ञामा ट्राफिक प्रहरीको सक्रियता : ३३ मोटरसाइकल धनीलाई जिम्मा

लोकपथ
154
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एव नियन्त्रण गर्न खटिएको बिशेष अपरेसन टोलीले जारी निषेधाज्ञाको समयमा समेत सक्रियता पुर्वक परिचालन भई चोरी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी नियन्त्रणलाई निरन्तरता दिदै यस अवधीमा विभिन्न स्थानबाट हराएका ३३ वटा मोटरसाईकल आज एक कार्यक्रमकाबीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका ३३ मध्ये २३ वटा मोटरसाईकल र १० वटा स्कुटर रहेका छन्।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले निषेधाज्ञाकै समयमा समेत टोलीले बिशेष सूचना संकलन गरि उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

चोरको आँखामा एनएस पल्सर
पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरू बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका छन् ।

विशेष गरि चोरी गर्ने समूहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

विशेषगरी त्यस्ता चोरी गर्ने समूहले ग्रामीण ईलाकामा लगी नम्बर प्लेट र स्वरुप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने र कतिपय अबस्थामा बास्तिक नम्बर नै प्रयोग गरेको अबस्थामा समेत फेला परेको एसएसपी भट्टराईले बताए ।

यसरी हराएका मध्ये करिब ७० प्रतिशत पल्सर मोटरसाईकल हुने गरेको ट्राफिक महाशाखाको तथ्याङ्कबाट देखिएको समेत उनले जानकारी दिए ।

यस आर्थिक वर्षमा मात्रै हराएका ४१३ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

सवारी साधनमा अतिरिक्त ह्विल लक, डिस्क लक, सेक्युरिटी साइरनहरु जडान गर्न, लामो समयसम्म एकान्त स्थानमा पार्किङ्ग नगर्न र जथाभावी पार्किङ्ग नगर्न महाशाखाले बिशेष अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?