खेल तीन, दावेदार चार : यस्तो छ सम्भावना

युरो कप

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अब दुई सेमी फाइनल सहित एक फाइनल खेल मात्र बाँकी रहेका छन् ।

अन्तिम चार टोलीको रूपमा डेनमार्क, इङ्ल्यान्ड, इटाली र स्पेन उपाधिका लागि भिड्दै छन् । इङ्ल्यान्डको राजधानी लन्डनस्थित वेम्बली मैदानमा अबका तीन खेलको तालिका रहेको छ । घरेलु मैदान भएको कारणले इङ्ल्यान्डलाई केही फाइदा अवश्य भए पनि बाँकि रहेका उपाधि दावेदार टोलीलाई रंगशाला र स्थानले त्यस्तो ठूलो प्रभाव नपर्ने देखिएको छ।

२१औं शताब्दीको जमानामा विश्व ‘ग्लोबल भिलेज’ बनेको छ भने ‘टेक्नोलोजी’ निकै विकशित। खेलकुदको मामलामा झन् कम्प्युटर र नयाँ प्रविधिले मानौं काँचुली नै फेरिसकेको छ। कुनै पनि खेल शुरू हुनु अघि नै वर्षौं अगाडि देखिका तथ्याङ्क, प्रदर्शनी, नतिजा, ‘हेड टू हेड’ रेकर्ड आदि इत्यादिको मद्दतले विभिन्न ’सफ्टवेर’ले आउँदो नतिजा समेत पूर्वानुमान गर्न सक्ने भइसकेको छ।

युरो कपमा पनि ’स्ट्याट्स परफर्म युरो प्रेडिक्सन’ नामक सफ्टवेरको मद्दतले सम्भावित विजेताको पूर्वानुमान गरिसकेको छ। स्ट्याट्स परफर्मको ’ए.आई.’ टिम र ’ओप्टा डाटा’को मिलेमतोमा बनाइएको ’स्ट्याट्स परफर्म युरो प्रेडिक्सन’ले यस संस्करणको संभावित विजेताको पूर्वानुमान गरिसकेको छ।

’स्ट्याट्स परफर्म’को यस्तो नमुनाले कुनै पनि टोलीको विगतका र अहिले खेलिएका खेलहरुको आधारमा टिम वरियता, खुबी, कमजोरीहरूको तथ्याङ्क निकालेर प्रतिद्वन्दीको तथ्याङ्कसँग दाँज्ने काम गर्दछ। सो तथ्याङ्कलाई उक्त सफ्टवेरले ४० हजार पटक कम्प्युटर मार्फत ’सिमुलेशन’ गरी, हरेक नतिजालाई विश्लेषण गरेर आउने खेलको विजेताको पूर्वानुमान गर्न मद्दत गर्दछ।

हुन त यो सफ्टवेरले शत प्रतिशत नतिजा भने अवश्य दिँदैन र यसै युरो कप २०२० मा पनि यसले गलत पूर्वानुमान गरिसकेको छ। त्यो पनि दुई पटक । यस सफ्टवेरले वर्तमान विश्वकप विजेता फ्रान्सको युरो कप यात्रा निकै लामो रहने अनुमान गरेको थियो। त्यस्तै फिफा बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमको पूर्वानुमान पनि गलत नै सावित भएको थियो।

तर आधुनिक प्रविधिमा भिजिसकेका फुटबल प्रेमीहरूले यस सफ्टवेरको पूर्वानुमानलाई नकार्न सकेका छैनन्।

विश्वव्यापी रूपमा नराम्रोसँग मौलाएको सट्टेबाजीमा त मानौं यस्ता सफ्टवेरले ख्याती नै कमाइसकेका छन्। अधिकांश समय सही नतिजा पूर्वानुमान लगाउने यस सफ्टवेरले युरो कप २०२० को विजेता टोलीको सम्भावना पनि पूर्वानुमान गरेको छ।

४) डेनमार्क (१०.४ प्रतिशत)


सन् १९९२ मा युरो कप उपाधि उचालेको डेनमार्क त्यस पश्चात् पहिलो पटक कुनै पनि प्रमुख प्रतियोगिताको अन्तिम चारमा पर्न सफल भएको टोली हो। तर यस पटक ड्यानिस टोलीले देखाएको प्रदर्शनीले सबैलाई स्तब्ध बनाएको छ।

युरो कप इतिहासमै डेनमार्कले लगातार तीन खेलमा जित निकालेको यो पहिलो पटक हो। त्यस्तै यस प्रतियोगितामा डेनमार्कले प्रहार गरेको ११ गोल कुनै पनि प्रतियोगितामा ड्यानिस टोलीले प्रहार गरेको सर्वाधिक गोल संख्या पनि हो।

तर रसिया, वेल्स र चेक गणतन्त्रभन्दा इङ्ल्यान्डको चुनौती डेनमार्कलाई निकै कठिन हुने निश्चित देखिएको छ। त्यसमाथि इंग्लिश टोलीको ’रेड हट फर्म’ हेर्दा डेनमार्कको फाइनल यात्रा अप्ठ्यारो देखिएको छ।

 

३) स्पेन (२३.० प्रतिशत)

समूह ’इ’को उप-विजेता बनेर नक-आउट चरण प्रवेश गरेको स्पेनको यात्रा त्यति सजिलो भने भएको छैन ।

अन्तिम १६ मा क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको स्पेनले क्वाटर फाइनलमा पनि सन्तोषजनक प्रदर्शनी देखाउन सकेन। वर्तमान विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेको स्विट्जरल्यान्डलाई स्पेनले क्वार्टर फाइनलमा पेनाल्टी शुटआउट मार्फत पराजित गरेको थियो। सबै खेल ‘नेक टू नेक’को स्थितिमा जितेको स्पेनका लागि सेमी फाइनल ठूलो अग्नीपरीक्षा हो ।

स्पेनले अन्तिम चारको लडाईमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ र फाइनलको यात्रा स्पेनलाई कति कठिन छ, हामी अनुमान लगाउन सक्छौं।

 

२) इङ्ल्यान्ड (२६.७ प्रतिशत)

सेमी फाइनलमा डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्न गइरहेको इङ्ल्यान्डलाई घरेलु मैदानको फाइदा अवश्य पनि मिल्नेछ ।

सन् १९६६ विश्वकप विजेता इङ्ल्यान्ड त्यस पश्चात् पहिलो पटक कुनै पनि प्रमुख प्रतियोगिताको फाइनलमा पुग्न प्रयासरत रहेको छ। क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४-० गोल अन्तरले जित दर्ता गरेको ’थ्री लायन्स’को आत्मविश्वासले आकाश चुमेको अवस्था छ।

अझै इङ्ल्यान्डले यसपटकको युरोमा गोल खानै बाँकि छ र यस्तो तथ्याङ्कले कुनै पनि टोलीको तराजु अवश्य पनि भारी देखिन्छ नै।

 

१) इटाली (३९.९ प्रतिशत)


’स्ट्याट्स परफर्म’अनुसार इटालीले युरो कप २०२० उपाधि कब्जा गर्ने सम्भावना अन्य टोली भन्दा धेरै देखिएको छ।

पछिल्ला ३२ खेलमा अपराजित रहेको इटाली आफ्नो फुटबल इतिहासकै स्वर्णिम कालमा रहेको छ। पछिल्ला १३ खेलमा जित दर्ता गरेको रोबर्टो म्यान्सिनीको इटालियन टोलीले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी देखाएको छ।

क्वाटर फाइनल चरणमा बलियो टोली बेल्जियमलाई पाखा लगाएको इटाली युरोपियन राष्ट्रहरू मध्ये सबैभन्दा धेरै सेमी फाइनल खेल खेल्ने राष्ट्रको दोस्रो नम्बरमा पर्दछ। जर्मनीले युरो तथा विश्वकप गरेर २० पटक सेमी फाइनल खेलेको छ भने इटालीले १२ पटक अन्तिम चारको यात्रा तय गरेको छ।

सन् १९६८ को युरो कप विजेता इटाली यस पटकको युरो कप उपाधि होडमा शीर्ष स्थानमा रहेको छ। कमसेकम तथ्याङ्कले त त्यस्तै बताउँछ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?