जर्मनी । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी, भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधवारदेखि हटाउने भएको छ।
दुवै खोप लगाइसकेका र कोभिड–१९ संक्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारेन्टाइमा समेत बस्नु नपर्ने बर्लिनले जनाएका छन्।
यद्यपी खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । खोप नलगाएका व्यक्तिले पनि क्वारेन्टाइनमा बसेको पाँचौ दिनमा परीक्षण गर्दा कोभिड–१९ संक्रमण नपाइएमा उनीहरूलाई स्वतन्त्र हिँडडुल गर्न दिइने पनि जर्मनीको प्रशासनले बताएको छ ।
बेलायत, पोर्चुगल, रूस, भारत र नेपाललाई हालसम्म कोभिडको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भाइरसको प्रकार फैलिएका कारण कोभिडको महामारीजन्य जोखिमयुक्त मुलुकका रूपमा वर्गीकरण गरिएको थियो । शुरुमा भारतमा पहिचान भएको कोभिडको ‘डेल्टा’ प्रजातीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिमयुक्त प्रजातीका रूपमा वर्गीकरण गरेको थियो।
महामारी नियन्त्रणका लागि ती मुलुकका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइएको भएपनि जर्मनीका नागरिक वा स्थायी बासिन्दाहरूमाथि प्रतिबन्ध लागु गरिएको थिएन तर उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था भने गरिएको थियो ।
यी पाँच राष्ट्रहरूलाई अब संक्रमितहरूको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया