विम्बेलडन २०२१ मा अहिलेसम्म जे भयो

आर्जव घिमिरे
247
Shares
Roger Federer (SUI) playing against Marin Cilic (CRO) in the final of the Gentlemen’s Singles on Centre Court. The Championships 2017 at The All England Lawn Tennis Club, Wimbledon. Day 7 Monday 10/07/2017. Credit: AELTC/Thomas Lovelock.

काठमाडौं । जारी विम्बेलडन ‘ग्रान्ड स्ल्याम’ २०२१ अन्तर्गत महिला तथा पुरुष दुवैतर्फको क्वार्टर फाइनल समीकरण पूरा भएको छ।

‘द च्याम्पियन्स’ भनेर पनि चिनिने यस विम्बेलडन प्रतियोगिता सन् १८७७ देखि इङ्ल्यान्डको ‘अल इङ्ल्यान्ड क्लब’मा खेलिंदै आएको छ। १४४ वर्षदेखि चलिआएको यस प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो तथा प्रतिष्ठित टेनिस प्रतियोगिता हो।

‘ग्रास कोर्ट’मा खेलिने एकमात्र ग्रान्ड स्ल्याम प्रतियोगिता हरेक वर्ष जुलाई महिनामा आयोजना हुने गर्दछ। र यस प्रतियोगिताको परम्परा अनुसार सबै खेलाडीले सेतो पोशाक नै लगाउनु गर्नु पर्ने हुन्छ। कोरोना महामारीका कारण सन् २०२० को विम्बेलडन संस्करण स्थगित गरिएको थियो।

दोस्रो विश्वयुद्धदेखि सन् २०२० मा मात्र आयोजना हुन नसकेको यस प्रतिष्ठित विम्बेलडनको सन् २०२१ संस्करणमा भने महिला तथा पुरुष दुवै विधातर्फ क्वार्टर फाइनलको समीकरण पूरा भइसकेको छ। यस पटकको विम्बेलडन प्रतियोगिता शुरु हुनु अघिदेखि नै चर्चामा आएको थियो।

विश्वविख्यात टेनिस सुपरस्टार रफाएल नाडालले यस संस्करणको विम्बेलडनमा सहभागिता नजनाउने खबरका साथ विम्बेलडन चर्चामा आएको थियो। २० पटक ग्रान्ड स्ल्याम विजेता नाडालसँगै महिलातर्फ जापानकी नाओमी ओसाकाले पनि विम्बेलडन २०२१ बाट आफ्नो नाम फिर्ता लिएकी थिइन्।

दुई विश्वविख्यात खेलाडी बिना शुरु भएको विम्बेलडन २०२१ मा अन्य अप्रत्याशित घटनाहरु पनि घटे। यसै महिना ‘रोलान्ड गारोस’मा आयोजित फ्रेन्च ओपनका उप-विजेता स्टेफानोस ट्सिट्सिपास विम्बेलडन २०२१ को पहिलो चरणबाटै बाहिरिए। उता भेट्रान महिला खेलाडी सेरेना विलियम्स पनि इन्जुरीका कारण पहिलो चरणबाटै ‘वाकओभर’ लिन बाध्य भइन्।

त्यस्तै अरु दुई अमेरिकी विश्वविख्यात खेलाडी सोफिया केनिन र भिनस विलियम्स पनि दोस्रो चरणबाटै बाहिरिए। पुरुषतर्फ लामो समयपछि टेनिसमा ‘कमब्याक’ गरेका एन्डी मुरे तेस्रो चरणमा पराजित भए भने न्युजिल्यान्डका लोकप्रिय खेलाडी निक किर्गियोस पनि तेस्रो चरणबाटै बाहिरिए।

यद्यपि केही कुराहरु भने विम्बेलडन २०२१ मा पनि यथावत नै रहेका छन्। ती हुन् विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचको दबदबा र विम्बेलडनका राजा रोजर फेडेररको उत्कृष्ट प्रदर्शनी। सर्वाधिक ग्रान्ड स्ल्याम तथा विम्बेलडन विजेता फेडेरर र भर्खरै फ्रेन्च ओपन विजेता जोकोभिचलाई यस प्रतियोगिताको दावेदार खेलाडी मानिएको छ।

फेडेररले अन्तिम १६मा इटालीका लोरेन्जो सोनेगोलाई ७-५, ६-४ र ६-२ को सोझो सेटमा पराजित गरे भने साविक विजेता जोकोभिचले चिलेका क्रिस्टियन गारिनलाई ६-२,६-४ र ६-२ को सोझो सेटमा पराजित गर्न सफल भएका हुन्। २० वटा ग्रान्ड स्ल्याम उपाधि जितेका फेडेररले विम्बेलडन प्रतियोगिता मात्र ८ पटक जितिसकेका छन् भने १९ पटक ग्रान्ड स्ल्याम विजेता जोकोभिच आफ्नो ६औं विम्बेलडन जितेर फेडेरर र नाडालसँग सर्वाधिक ग्रान्ड स्ल्याम विजेताको कीर्तिमानी बराबरी गर्ने दाउमा देखिन्छन्।

यसैबिच विम्बेलडन २०२१ मा महिला तथा पुरुष दुवै विधाको क्वार्टर फाइनल समीकरण पुरा भएको छ।

अन्तिम ८ मा महिलातर्फ

१) करोलिना प्लिसकोभा (८)विरुद्ध भिक्टोरिजा गोलुबिच

२) करोलिना मुचोभा (१९)विरुद्ध एन्जेलिक कर्बर (२५)

३) ओन्स जाबेयुर (२१)विरुद्ध आरिना साबालेनका (२)

४) आशली बार्टी (१)विरुद्ध आजला टोमजानोभिच

 

अन्तिम ८ मा पुरुषतर्फ

१) करेन खाचानोभ (२५)विरुद्ध डेनिस शापोभालोभ (१०)

२) माटियो बरेटिनी (७)विरुद्ध फेलिक्स अगर आलियासिमे (१६)

३) नोभाक जोकोभिच (१)विरुद्ध मार्टोन फुक्सोभिक्स

पुरुषतर्फ रोजर फेडेररसँग प्रतिस्पर्धा गर्ने अन्तिम क्वार्टर फाइनलिस्ट भने पक्का हुन बाँकी रहेको छ। वर्षाका कारण स्थगित भएको मेडवेडेभ र हुरकाज बिचको खेलको विजेताले विम्बेलडन इतिहासकै सबैभन्दा बढी उमेरका क्वार्टर फाइनलिस्ट, फेडेररसँग (३९ वर्ष ३३७ दिन) प्रतिस्पर्धा गर्नेछन्।

अब विम्बेलडनमा महिलातर्फको अन्तिम ८ का खेलहरु आज ‘मंगलवार’बाट शुरू हुनेछन् भने पुरुषतर्फका क्वार्टर फाइनल खेलहरु बुधवार ‘जुलाई ७’बाट शुरू हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?