‘ओली सच्चिएको खण्डमा पार्टी एकता हुन सक्छ’ (भिडियोसहित)

लोकपथ
3.3k
Shares

दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि देशका प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढेको छ । विघटन विरुद्धको मुद्धा सर्वाेच्च अदालतमा विचाराधीन छ । नेकपा माओवादी प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरताको पक्षमा छैन ।

यिनै विषयमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

 

तपाईहरु प्रतिनिधि सभा विघटनको विरोधमा हुनुहुन्छ ? के जनतामा जान मुद्दा नभएर हो ? निर्वाचनमा जान किन डराएको ?

जनतामा जान हामी किन डराउने ? जनतामा जान पनि आवधिक चरण हुन्छ । निश्चित समय, प्रणाली,प्रक्रिया र प्रतिवद्धता अनुरुप जनतामा जाने हो । हामी पाँच वर्षको निम्ति जनतामा गइकन प्रतिनिधि सभामा निर्वाचित भएर आएको हो । दुई– दुई पटक सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले जबर्जस्ती जननिर्वाचित संस्थालाई बिघटन गर्नुभएको छ ।

नराम्रो शब्दमा भन्नु पर्दा ओलीले प्रतिनिधि सभालाई लात हानेर उठ्नै नसक्ने र थला पर्ने गरी प्रहार गरिरहनु भएको छ । यो प्रसङ्गगमा चुनाव गर्नको निम्ति घोषणा गरिएको चुनाव होइन । सत्ता लम्ब्याउने षडयन्त्र गर्ने र एकतर्फी रुपमा कुनै दल, लोकतान्त्रिक समूह,पक्षहरुसँग कुनै सरोकार नराखीकन एकतर्फी रुपमा सत्ता चलाउने सोचसहित प्रतिनिधि सभा बिघटन गरेर निर्वाचन घोषणा गरेकाले हामीले विरोध गरेको हो ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्तावित गरेर राष्ट्रपतिकहाँ जानु भयो । तर प्रतिनिधि सभा विघटन भयो । बिघटनको मुद्दा सर्वाेच्चमा विचाराधीन छ । प्रतिनिधि सभा पुनः स्थापित हुन्छ भन्नेमा तपाइँहरु कत्तिको आशावादी हुनुहुन्छ ?

प्रधानमन्त्रीको जन्म हुने भनेको हाम्रो संवैधानिक र कानूनी व्यवस्था अनुरुप प्रतिनिधि सभा हो । प्रतिनिधि सभाले प्रधानमन्त्री जन्माउँछ र आवश्यक पर्यो भने त्यसले नै विकल्प पनि दिन्छ । अर्थात कुनै प्रधानमन्त्रीले बहुमत प्राप्त गर्न सकेनन् भने बहुमत प्राप्त गर्न सक्ने अर्काे प्रधानमन्त्रीको व्यस्थाका लागि संविधानको धारा ७६ मा पाँच वटा अवस्थाहरु प्रष्ट रुपमा उल्लेख गरिएको छ ।

यी अवस्थाहरु हेर्दा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा मन लागेको बेलामा आफ्नो अनुकुलतामा भएन,आफूले बहुमत सिद्ध गर्न सक्दिन कि भनेर शंका लाग्यो भने प्रतिनिधि सभा भङ्ग गर्ने अधिकार दिइएको छैन । त्यसकारण देशको लोकतान्त्रिक प्रणाली, हामीले प्राप्त गरेको उपलब्धीहरु, हामीले जनताको रगत पसिनाबाट प्राप्त गरेको मूल्य मान्यताहरुको संरक्षणका लागि पनि हामी अदालत जान बाध्य भयौं ।

राष्ट्रपतिले बहुमतको सरकार बनाउन तोकेको धेरै छोटो समयसीमा भित्रै पनि संयोगले सबैजना सांसदहरु काठमाडौंमै रहेछन् र देउवालाई बहुमतको प्रधानमन्त्री बनाइयोस भनेर आधार सहित राष्ट्रपतिकहाँ पुगे । तर राष्ट्रपतिले त्यसको सुनुवाई गर्नुको साटो उल्टै प्रतिनिधि सभा विघटन गर्नुभयो ।

त्यसकारणले त्यसमा न्याय पाउँ भनेर ६/६ घण्टा लाइनमा बसेर हामी सर्वाेच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन राजी खुशी छौ भनेर हस्ताक्षर सनाखत गर्न गयौं । सम्मानीय राष्ट्रपतिकहाँ बहुमतको हस्ताक्षर पेश गर्दा गर्दै उहाँले अवसर दिनु भएन । त्यसकारण हामी अदालत आएका छौ भनेर अदालत गएका हौ ।

पाँच दलीय गठबन्धन सिंहदरवार प्रवेशका लागि मात्रै होकि यसले निरन्तरता पनि पाउँछ ?

सिंहदरवार प्रवेशका लागि मात्रै भएको भए त ओलीसँगै मिल्दा भैहाल्थ्यो नि । उहाँले सबैलाई सरकारमा आउनु भन्नु भएकै हो । अझ माओवादीको कुरा गर्नुहुन्छ भने त माओवादी ओलीसँगै सरकारमै थियो । ओलीले ‘मिलेर गरौं,तपाइँहरुले मलाई मान्नुस म तपाइँहरुलाई जे पनि दिन तयार छु’ भन्नु भएकै हो ।

कतिपय माओवादीका साथीहरु ओलीतिरै गए त्यहि प्राप्तिका लागि । त्यसकारण यो सिंहदरवार प्रवेशका लागि मात्रै बनेको गठबन्धन होइन् । नेपाली जनताले ठूलो त्याग र तपस्याबाट प्राप्त गरेका उपलब्धी रक्षाका लागि यो गठबन्धन हो । प्रधानमन्त्री ओलीका प्रतिगमनकारी कदम नरोकिएसम्म गठबन्धन कायमै रहन्छ । साझा मुद्दा रहिरहनेछन् ।

एमाले वरिष्ठ नेता माधव नेपाल पनि तपाइँहरुसँगै हुनुहुन्छ । भोली उहाँबाट गठबन्धनलाई धोखा त हुँदैन ?

यो उहाँको कुरा हो । उहाँले आजसम्म चाहि निष्ठाको राजनीति गर्नु भएको छ । कुनै छलछाम गर्नु भएको छैन । नेपाल आफ्नै दलभित्रबाट हुने गरेका प्रतिगमनकारी कदम बिरुद्ध लडिरहनु भएको छ । उहाँलाई इमान्दार नेताको रुपमा हामीले लिएका छौं ।

३ जेठ २०७५ मा एमालेसँग पार्टी एकीकरणमा जानु भयो । अहिले राजनीतिक घटना क्रमलाई हेर्दा तपाइँहरुलाई के लागेको छ ? के त्यो एकता गलत थियो ?

त्यो एकता गलत थिएन । एकदम ठीक थियो । राजनीतिक स्थायित्वको उच्च भावना सहित पार्टी एकीकरण गरेका थियौैं । तर ओलीकै कारण त्यो एकता जोगिन सकेन । भोलि फेरि ओली सच्चिएको खण्डमा पार्टी एकता हुन सक्छ । तर अहिलेचाहि ओली एकदम हावादारी र उट्पट्याङ कुरा गर्दै हिड्नु भएको छ । ओलीका कारण सबै पार्टी भाँडभैलोमा गए ।

मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहँदा जनताका आशा र अपेक्षा कहिले पूरा हुन्छ ?

आफूले लिएको जिम्मेवारी अनुरुप सबैजना आत्मालोचना गर्न तयार हुनुपर्छ । जनताको बीचमा गरेका प्रतिवद्वता कहाँनिर पूरा भएन भनेर समीक्षा गर्नुपर्छ । त्यसो भएमा राजनीतिलाई सङलो पार्न सकिन्छ । राजनीतिलाई जनताको सेवाको रुपमा लिनुपर्छ ।

कतिपयले त माओवादी पार्टी विसर्जनतिर जान लागेको होकि भनिरहेका छन् नि ?
?

जसलाई माओवादी मन परेन उनीहरुले त्यो विश्लेषण गरेका होलान् । यसको मतलव हाम्रो पार्टीमा केही समस्या नै छैन भन्ने होइन । टुट,फुट र विभाजनले केही आंशिक रुपमा क्षति त भयो नै । तर अहिले नै हेर्नुभयो भने पनि सबैभन्दा समर्पित,निष्ठावान,सबैभन्दा त्याग गरेका र देश र जनताप्रति समर्पित भएका व्यक्तिहरु माओवादीमै छन् । बिसर्जन भयो भन्ने सही होइन । अहिले पनि पनि ७७ जिल्लाको वडा वडामा माओवादीको संगठन छ । तर पनि देशमा समृद्धिका लागि नयाँ प्रकारले समय सापेक्ष पार्टी अघि बढाउनुपर्छ भन्नेमा हामी छौं । यो बहस एमालेमा पनि चलोस् ।

नेपालमा राजनीतिक अस्थिरता बढिरहेको अवस्थामा तपाईले विदेशी चलखेलको संभावना कतिको देख्नु भएको छ ?

यो कसैले देखेर प्राप्त गर्ने कुरा होइन । यो अनुभूति गरेर भित्र थाहा पाउने कुरा हो । आजको विश्वमा शक्ति राष्ट्रहरुले अरु कुनै पनि राष्ट्रमा आफ्नो प्रभुत्व जमाउन प्रयत्न गरिरहेका छन् । सम्भवत हामी पनि शक्तिशाली भएको भए त्यसो गथ्र्याै होला । तर पनि नेपालको राष्ट्रियता,अखण्डता र सार्वभौमिकतालाई अक्षुण राखेर अघि बढ्नु आज सबैको साझा कर्तब्य हो । प्रधानमन्त्री पद प्राप्तिका लागि सत्ता प्राप्तिका लागि अरु अन्तराष्ट्रिय समर्थन जुटाउँछु भनेर आफ्नो स्वाभीमान, देशभक्तिपना र हाम्रो पूर्खाहरुले स्थापित गरेका गौरवान्वित मूल्य मान्यतालाई तलमाथि गर्न मिल्दैन । कतिपय बेला त्यो गन्ध आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?