विधायन व्यवस्थापन समितिको बैठक : कसले के भने ?

लोकपथ
168
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको भुमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमवार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्र्तगतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भुमिकालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा। विमला राई पौड्यालले संविधानले दुई सदनात्मक व्यवस्था गरेको भएपनि प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाको औचित्य नै नभएको जस्तो देखिएको बताइन्। संविधानले राष्ट्रिय सभा सधैँ रहन्छ भनेको भएपनि कामले पनि सधै रहेको जस्तो देखाउनुपर्ने उनले बताइन् ।

समितिले विपत अथवा संविधानको मौलिक हकसँग सम्बन्धित कुनै कानुनहरुको बारेमा छलफल गर्नुपर्ने उनले बताइन् । उनले भनिन् – ‘विपतको हुनसक्छ, हाम्रो संविधानको मौलिक हकसँग सम्बन्धित अरु कुनै कानुनहरुको हुनसक्छ त्यस्तो छानेर हामी निरन्तर काम गरौँ । दुई सदनात्मक व्यवस्थाको औचित्य नै नभएको जस्तो लाग्छ कहिलेकाहीँ । प्रतिनिधि सभा मर्दा राष्ट्रिय सभा पनि मरेको हुने भए त यो दुईवटा सदनको कुनै औचित्य नै नहोला जस्तो । संविधानमा राष्ट्रिय सभा सधैँ रहन्छ भनेको छ, कामले पनि रहेको जस्तो देखिनुपर्‍यो ।’

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभा सदस्यहरुले पनि क्रियाशिलता बढाउनुपर्ने बताए । राष्ट्रिय सभा सदस्यहरुको संसदको भुमिका भन्दा पनि बढी पार्टीको भुमिकामा बढी देखिएका कारण प्रभावकारीता हुन नसकेको उनले बताए । पार्टी सदस्य र संसद सदस्यको भुमिकामा स्पष्ट हुँदै सांसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताए । उनले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पुर्‍याएर छलफल गर्नुपर्ने बताए ।

विधायन व्यवस्थापन समितिका सभापति परशु राम मेघी गुरुङले समितिको आगामी बैठकले सामाजिक सुधार ऐन र संक्रामक रोग ऐन सम्बन्धी ऐनको विषयमा छलफल गर्ने जानकारी दिए । समितिले क्रमशः प्रतिलिपि अधिकार ऐन, भुमी सम्बन्धी, सार्वजनिक खरिद ऐन र भ्रष्टाचारको सम्बन्धमा छलफल गर्ने पनि जानकारी दिए ।

राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु भएसँगै समितिहरु क्रियाशिल हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?