कांग्रेस बैठकमा आक्रोश : सभापतिज्यू अब केमा भोट हाल्ने ?

काठमाडौँ, १३ चैत- कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तह हुँदै प्रतिनिधिसभा निर्वाचनमा पार्टी नेतृत्वले एक पछि अर्को गर्दै आफ्ना मतदातालाई अरू दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य बनाएको बताएका छन् ।जारी केन्द्रीय समिति बैठकमा आफ्नो तीन पृष्ठ लामो लिखित धारणा राख्दै कांग्रेसमा बौद्धिक नेताका रूपमा चिनिने कोइरालाले पार्टी सभापतितर्फ इंगित गर्दै भने, ‘एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा, अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ?उनले बैठकमा लिखित धारणा राख्दै आफ्नो प्रश्नमा कार्यकर्ताको समेत प्रश्न समावेश रहेकाले कार्यकतालाई के जवाफ दिने भन्दै सभापतिलाई प्रतिप्रश्न गरेका छन् ।आफूले प्रचण्ड प्रधानमन्त्री हुने बित्तिकै सभापतिज्यूलाई पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिस्टले कब्जा गर्छ भन्दै सचेत गराएको तर सभापतिले बेवास्ता गरेका कारण पार्टी हारको अवस्थामा पुगेको दाबी गरे ।उनले पार्टीभित्र आजसम्म पनि कम्युनिस्टहरूसँगको सहकार्यको परिणामले देश र जनतालाई हित ग¥यो कि गरेन भन्ने बहस कायम रहेको आफ्नो लिखित धारणामा भनेका छन् । कोइरालाले पार्टीको निर्वाचन चिह्नमा मत माग्न छाडेर अरूको चिह्नमा मत मागेका कारण आमकार्यकर्ताको मनोबल गिरेको भन्दै गुमेको शाख जोगाउन धेरै मेहनत आवश्य पर्ने औंल्याएका छन् ।कोइरालाले कांग्रेसलाई इतिहासमा नै कमजोर बनाइएको भन्दै कारण खोजिनु जरुरी भएको समेत बताए । सातै प्रदेशमा प्रतिपक्षको हैसियतसमेत गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको कोइरालाले आफ्नो धारणा राखेका छन्, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?