दलितले चिया माग्ने तरिकानै फरक !

वीरगन्ज, १३ चैत – पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ५० बर्से निरक्षर लक्ष्मी डोम सधैं बिहानै चिया पिउन गाउँको चिया पसल पुग्छन् । पसलमा चाँडै पुगे पनि अरूले सिसाको गिलासमा चिया खाइसकेपछि मात्र उनले बेग्लै राखिएको प्लास्टिकको गिलासमा चिया खान पाउँछन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।पसलको एउटा कुनामा बेग्लै झोलामा राखिने प्लास्टिकको त्यो गिलास उनी र उनका समुदायका अरूलाई चिया दिन राखिएको हो । त्यही चिया पसलमा महम्मद फकरोदिन देवानलाई भने सिसाको गिलासमा चिया दिइन्छ तर ३/४ पटक माझेर । लक्ष्मीलाई चिया दिने प्लास्टिकको गिलास भने सफा गरिँदैन ।त्यति मात्र होइन, लक्ष्मीले अदबपूर्वक चिया माग्नुपर्छ, नत्र चिया खान नपाइने मात्र होइन अनेकौं वचनका बाण सहनुपर्छ । अरूले चिया माग्दा भोजपुरीमा ‘चाय द’ (चिया दिनुस्) भने पुग्छ तर उनले ‘जी मालिक चाय’ (हजुर मालिक चिया) भनेर माग्नुपर्छ । उनले चुल्होभन्दा ५ मिटर पर भुइँमा बसेर चिया पिउनुपर्छ तर उनीसँगै चिया पिउन त्यहाँ पुगेका देवानसहित अरूले भने टेबलवरिपरि बसेर मजाले चियाको चुस्की लिन पाउँछन् ।चियाको पैसा तिर्दै सबै जना आ-आफ्नो बाटो लाग्छन् । अरूजस्तै लक्ष्मी पनि चियाको पैसा तिर्छन् र उनले तिरेको पैसा पनि सबैले तिरेको पैसा राख्ने बाकसमा (पेटी) मै राखिन्छ । पैसामा कुनै भेदभाव छैन ।पैसा एउटै बाकसमा राख्न हुने, पैसामा कुनै छोइछिटो नहुने तर पानी छोइने देखेर उनका मनमा अनेकौं प्रश्न उब्जन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?