काठमाडौं । हेर्दाहेर्दै पानीको तीव्र बहाव ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका-४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलवारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिवार गल्र्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् ।
लगातारको वर्षाले कच्ची घर बुधवार नै डुबेको कापरले बताए । “वर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो वर्खामा कहाँ राख्नु ” कापरले भने, “धन्न कसैलाई ढलेको घरले मिचेन ।” डुबानमा परेको घर ढल्नसक्ने छनक आफुले पाएपछि सचेतना अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ ।
बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । “हामी गरीब छौँ, हाम्रो स्वर कसले सुन्ने हजुर ”, बस्तीकै एकल मुस्लिम महिला ऐसा खातुनले भने, “हाम्रो बस्ती शिरानको झिल सानो ताल व्यवस्थित नगरी बालु गिट्टी उत्खनन गरिँदा डुबानको समस्या परेको हो ।” जिल्लामा यसपालि गत मङ्गलवारदेखि शनिवारसम्मको अविरल वर्षाले सयौँ पराले झुप्रा लडाएर बिल्लीबाठ बनाएको छ ।
जिल्लामा गहिरा ठाउँका र नदी किनार छेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाशा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी जलेश्वर नगरपालिकाका धवौली, मलिवारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतवारा, एकडारा गाउँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउछन् ।
यसैगरी जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ । जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै
कटान र डुबान गराउने नदी हुन् । जङ्घा, मरहा र बाँकेले जिल्लाका पश्चिमवर्ती, रातुले पूर्वी र मध्यवर्ती, ओक्सीले मध्यवर्ती तथा कुटमेश्वरीले दक्षिण पूर्ववर्ती भेगमा उत्पात मच्चाउने गरेका विगतदेखिको अनुभव जलेश्वर-५ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुछन् । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौँ बस्ती बर्सेनि कटान र डुबान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया