काठमाडौं । दमौलीमा पहिरोले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन
कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।
पृथ्वीराजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर अवरुद्ध भएको थियो । आंशिकरूपमा सडकखण्ड सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । “चार दिनदेखि
सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भइरहेको थियो, आंशिकरूपमा भए पनि सञ्चालनमा आएपछि केही सहज भएको छ”, उनले भने ।
पहिराले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छ । गाउँपालिकाले बन्दीपुर गाउँपालिका-२ ढाडखोलाको पहिरो पनि हटाउन शुरु गरेको छ । पहिरोले ढाडखोला
मोटरमार्गमा ठूलो क्षति पुर्याएको छ । ठाउँठाउँमा सडक भासिएको छ । पहिरोले गाउँपालिका भित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।गाउँपालिकाले बाढीपहिरा पीडित भएकालाई राहत वितरण शुरु गरेको छ ।
बन्दीपुर-२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल वितरण गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार अधिकांश घर बस्न नमिल्ने गरी जोखिममा परेको छ । “कोही चर्चमा, कोही बाल विकास केन्द्र, कोही विद्यालय र
सामुदायिक भवनमा आश्रय लिन बाध्य छन्”, उनले भने । बाढीपहिराले गाउँपालिकाभित्रका करिब १७२ घर जोखिममा परेको छ । बन्दीपुर-१, २, ३ र ४ मा बाढीपहिरोबाट बढी क्षति पुगेको जनाइएको छ ।
खुले सरकारी कार्यालय
कोरोना कहर र निषेधाज्ञाका कारण दुई महिनादेखि बन्द सरकारी कार्यालयका सेवा आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी भएपछि
सरकारी कार्यालयले आन्तरिक सेवाबाहेकका कार्य स्थगन गरेका थिए । लामो समय कार्यालयको सेवा प्रवाह रोकिँदा सर्वसाधारणलाई समस्या परेपछि जिल्ला प्रशासन
कार्यालय तनहुँले आजदेखि कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सबै कार्यालयले सेवा दिनेछन् ।
मालपोत कार्यालयले बारअनुसार सर्वसाधारणलाई सेवा प्रवाह गर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सरकारी कार्यालयका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै मालपोतले बारअनुसारको तालिका सार्वजनिक गरेको हो । मालपोत अत्यधिक भीडभाड
हुने कार्यालय भएकाले सेवा प्रवाह गर्दा स्वास्थ्य मापदण्ड अपनाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले बताउए । जिल्लाका १० वटै स्थानीय तहलाई बारअनुसार सेवा प्रवाह गरिने उनले बताए।
कार्यालयका अनुसार आइतबार र सोमबार व्यास, मङ्गलवार शुक्लागण्डकी, बुधबार भिमाद, ऋषिङ, म्याग्दे, बिहीबार भानु, देवघाट, घिरिङ र शुक्रवार बन्दीपुर र आँबुखैरेनीका सर्वसाधारणलाई सेवा दिइनेछ । बारअनुसार पालिका छुट्याउँदा
कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उनले बताए । जिप्रकाले यही असार १६ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर असार २४ गतेसम्म पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया