युरो कप खेल ४८: इङ्ल्यान्डको अवे खेलमा पनि उत्कृष्ट नतिजा, युक्रेन भारी अन्तरले पराजित

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शनिवार खेलिएको दोस्रो तथा अन्तिम क्वार्टर फाइनल खेलमा इङ्ल्यान्डले युक्रेनलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

इटालीको राजधानी रोमस्थित ‘ओलम्पिक स्टेडियम’मा भएको खेलमा इङ्ल्यान्डले शानदार खेल प्रस्तुत गर्यो। पहिलो हाफको शुरुवाती मिनेटदेखि खेलमा हैकम जमाएको इङ्ल्यान्डले अन्तिम मिनेटसम्म पनि त्यस्तै दबदबा बनाई रह्यो।

पहिलो हाफको ४औं मिनेटमा कप्तान ह्यारी केनको गोल मार्फत इङ्ल्यान्डले खेलमा अग्रता लिएको थियो। रहिम स्टरलिङको ‘थ्रु बल’मा कप्तान केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा केही प्रतिस्पर्धात्मक खेल खेले पनि युक्रेनले गोल भने फर्काउन सकेन।

दोस्रो हाफमा इङ्ल्यान्ड तथा इंग्लिश लेफ्ट ब्याक लुक शले उत्कृष्ट खेल देखाए। दोस्रो हाफको शुरुवाती मिनेटमै शले प्रहार गरेको फ्रि-किकमा डिफेन्डर ह्यारी मागवायरले गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ५०औं मिनेटमा शले अर्को शानदार पास निकाले। सोही पासमा कप्तान केनले व्यक्तिगत दोस्रो तथा इङ्ल्यान्डको तेस्रो गोल गर्न सफल भए।

विश्व वरीयतामा चौथो स्थानमा रहेको इङ्ल्यान्डले खेलको ६३औं मिनेटमा पुनः गोल गर्यो। यस पटक इंग्लिश क्लब लिभरपुलका कप्तान तथा मिडफिल्डर जोर्डन हेन्डरसनले हेडर गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरे।

यस शानदार जीतसँगै इङ्ल्यान्डको सेमी फाइनल यात्रा पक्का भएको छ। यस युरो कप २०२० मा आफ्नो पोस्टमा एक गोल पनि हुन नदिएको इंग्लिश टोलीले अब सेमी फाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?