युरो कप खेल ४७: डेनमार्कको रणनीति अगाडि चेक फिक्का, पहिलो हाफको दुई गोलमा सेमी फाइनलको यात्रा पक्का

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत तेस्रो क्वार्टर फाइनल खेलमा डेनमार्कले चेक गणतन्त्रलाई २-१ गोलले पराजित गरेको छ।

आजरबैजानको बाकुस्थित ‘ओलम्पिक स्टेडियम’मा शनिवार भएको पहिलो खेलमा सन् १९९२ को युरो कप विजेता डेनमार्कले पहिलो हाफको शुरुवाती ५ मिनेटमै गोल गर्न सफल भएको थियो। खेलको पहिलो कर्नर किकमा नै डेनमार्कका मिडफिल्डर थोमस डेलाइनीले शानदार हेडर गोल मार्फत आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफ सक्किन ३ मिनेट बाँकी रहँदा डेनमार्कले खेलमा अग्रता दोब्बर बनायो। ड्यानिश लेफ्ट ब्याक माहेलेको ‘आउटसाइड बुट’ क्रसमा स्ट्राइकर कास्पर डोलवर्गले गोल गर्दा पहिलो हाफ २-० गोलले डेनमार्कको पक्षमा गएको थियो।

दोस्रो हाफमा चेकले आफ्नो प्रदर्शनीमा केही सुधार गर्यो। खेलको ४९औं मिनेटमा चेकका स्ट्राइकर प्याट्रिक शिकले गोल गरे। उनले भ्लादिमिर कुफालको क्रसमा गोल गर्दै चेकलाई खेलमा फर्काएका थिए।

दुवै टोली निर्धारित ९० मिनेटको खेलसम्म शानदार एट्याकिङ ‘बिल्ड अप’ गर्न सफल भए। डेनमार्कले कुल ५ शट चेकको पोस्टमा प्रहार गर्दा चेकले जवाफमा ७ शट प्रहार गरेको थियो। बल पोसेसनमा पनि दुवैले लगभग ५० प्रतिशत कब्जा जनाउँदा डेनमार्कको रणनीति चेक गणतन्त्र माथि भारी सावित भयो।

यस जितसँगै डेनमार्कले युरो कप २०२० को सेमी फाइनलमा स्थान पक्का गरेको छ। उता चेक गणतन्त्रको युरो यात्रा भने क्वार्टर फाइनलबाटै अन्त्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?