गोरखा । बारपाक बाह्रकिलो सडकखण्ड अन्तर्गत बालुवास्थित दरौदीको पक्की पुल बाढीले क्षति पुर्याएको छ । गत तीनदिनदेखि परेको अविरल वर्षाका कारण दरौदी नदीमा आएको बाढीले अजिरकोट गाउँपालिका वडा नम्बर ४ स्थित सो पुल क्षति भएको हो ।
बाढीले पुलको बालुवा तर्फको भागमा करिब ३० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । सडक नदीले कटान गरेपछि पुल सडकको भागबाट नै छुट्टिएको उनले जानकारी दिए । बाढीले पुलमा क्षति पु¥याएपछि बाह्रकिलो बारपाक सडकखण्ड अहिले पूर्ण रुपमा अवरुद्ध छ ।
उक्त सडक खण्ड अन्तर्गत पर्ने नै बालुवादेखि बारपाक क्षेत्रमा पनि सडक भासिएको उनले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २, स्थित मान्द्रे भन्ने ठाउँमा सडक करिब ५० मी तलसम्म भासिएको बताइएकोे छ । बाह्रकिलो बारपाक सडक खण्डमा पूर्ण रुपमा यातायात अबरुद्ध भएको प्रहरीले जनाएको छ । बारपाक पुग्ने एक मात्र सडक अबरुद्ध भएपछि अहिले आवत जावतमा समस्या भएको छ । बाढी र पहिरोले अबरुद्ध भएको उक्त सडक तत्कालै सञ्चालनमा ल्याउन सक्ने अबस्था नरहेको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया