संक्रमितसँगै बस्दा परिवार कसरी जोगिने ?

काठमाडौं- काठमाडौंका घरमा डेरा गरि बस्नेलाई कोरोना संक्रमण पुष्टि भएपछि निकै समस्या हुने गरेको छ।

घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता संक्रमितको संख्या बढी रहेको छ । एउटै घरमा बस्ने कोही एक जनालाई कोरोना संक्रमण देखिँदा घरमा भएका अरुलाई पनि संक्रमणको जोखिम रहन्छ।

भर्खरै कोरोना संक्रमण मुक्त भएका अपिल गौतम आफ्नो अनुभव यसरी सुनाउछन् 

“म, श्रीमती र पाँच वर्षकी छोरी तीनै जनालाई नै संक्रमण पुष्टि भयो । शौचालय प्रयोग गर्दा समस्या भयो । एउटा फल्याटमा एउटा मात्रै शौचालय थियो । हामी तीनै जनाले त्यही शौचालय प्रयोग गथ्यौं । अरु कुनै विकल्प नै थिएन ।

बस्नलाई त फरक फरक कोठामा बस्यौं । तर छोरीले दिनकै प्रश्न गर्ने ‘बाबा हामी किन घरबाट बाहिर ननिस्क्या ? किन मलाई नबोक्नु भएको ?’ यस्ता प्रश्न आँउदा स्तब्ध हुने गरेको थिँए ।

एक हिसाबले मानसिक तनाव पनि हुँदो रहेछ । केही दिनसम्म लगातार ज्वरो आयो, मरिन्छ कि धेरै डर लाग्यो । कोठामा बस्दा एक्लो महसुस हुने गरेको र दिमागमा नकारात्मक कुरा मात्र खेल्थ्यो । एक्लो महसुस हुन नदिन आफन्तसँग भिडिओ कुराकानी योग, ध्यान, पढ्ने, लेख्ने र मन परेको कुराहरू गरेर समय बिताए ।

उच्च मनोबलले नै कोरोना जित्न सहयोग गर्यो । सरसफाइ, खानपान र दुरी पनि आवश्यक रहेछ ।”

संक्रमित भएको घरमा संक्रमित सहित आफू कसरी सुरक्षित रहने ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा.अनुप बास्तोलाका अनुसार पीसीआर पोजिटिभ हुँदैमा आत्तिनु नहुने र जथाभाबी औषधि सेवन गर्नु हुदैन ।

“पछिल्लो समय कोरोना भाइरस निको पार्ने भन्दै बजारमा धेरै औषधि विक्री वितरण हुने गरेको सुनेका छौं, त्यसको पछि नलाग्नु होला,” डा. बास्तोलाको सुझाव छ,“ पाँच दिन पछिसम्म पनि ज्वरो आउने, खोकी आउने र अक्सिजन कम हुने समस्या देखिइरहेमा चिकित्सकको सल्लाह लिनुहोला ।”

“सकेसम्म फरक शौचालय प्रयोग गर्नुपर्छ । यदि त्यो सम्भव नभएको खण्डमा एउटै शौचालय प्रयोग गरे पनि त्यसलाई हरेक पटक संक्रमित शौचालय जाँदा सफा गर्ने र खुला राख्नुपर्छ,” डा. बास्तोलाले भने,“हावा वारपार हुने अवस्था बनाउनु पर्छ । यस्तो भएको खण्डमा शौचालय प्रयोग गर्न सकिन्छ ।”

संक्रमित बस्ने कोठा कस्तो हुनुपर्छ ?

संक्रमितलाई छुट्टै कोठामा राख्नु पर्छ । कोठाको ढोका बन्द गरेर झ्यालहरू खोल्नुपर्छ।

कोठामा हावा वारपार हुने अवस्था बनाउनु पर्छ । त्यसका लागि पंखा खोल्न पनि सकिन्छ । संक्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गर्नुपर्छ ।

संक्रमितसँग एउटै कोठामा सुत्नुपर्ने अवस्था भएमा कम्तीमा दुई मिटरको दूरी बनाएर दुई वटा ओछ्यानको बीचमा पर्दा लगाएर भए पनि छेक्नुपर्छ।

सकेसम्म संक्रमितको कोठामा छिर्नु हुँदैन । छिर्नै परेमा पनि दूरी कायम गर्ने र दुवै जनाले मास्क लगाउने गर्नुपर्छ । संक्रमितले छोएका वस्तु छुँदा हातमा एक पटक मात्र प्रयोग गरेर फाल्ने खालको पन्जा लगाएर मात्र छुनुपर्छ ।

साथै, संक्रमितले थाल, गिलास, कचौराजस्ता वस्तु छुट्टै प्रयोग गर्नुपर्छ । संक्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुनले माझ्नुपर्छ । त्यसपछि हात पनि साबुन पानीले धुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?