सडक दुर्घटनाका पीडितलाई आर्थिक सहयोग

टोकियो, जापान, २२ असोज ।रोजगारीका लागि कतारमा गएका बागलुङका एक पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।गम्भीर घाइते गल्कोट–६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ ‘गल्कोट समाज जापान’ले पाँच लाख २० हजार ४२१ जापानी यान उपलब्ध गराएको हो ।उक्त समाजले जापानमा शुरु गरेको सहयोग अभियानअन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए ।रोजगारीका लागि कतार गएका विश्वकर्माको सडक दुर्घटनामा परी अचेत अवस्थामा स्वदेशमै ल्याएर काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।कमाउने मूल व्यक्ति विगत छ वर्षदेखि अचेत भएको र पारिवारिक अवस्था कमजोर भएको समाचार मूलधारका पत्रपत्रिकामा प्रकाशित भएपछि उक्त समाजले जापानको टोकियो, ओशाका, नागोयालगायतका स्थानमा सहयोगका लागि अभियान चलाएर दुईसातासम्म रकम संकलन गरेको थियो । विश्वकर्माको परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी छन् ।यसअघि पनि जापानवासी नेपालीले रकम अभावमा उपचारमा समस्या भोगिरहेका मिर्गौलापीडित गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भुसाललाई सहयोग उपलब्ध गराएका थिए । गुरुङलाई तीन लाख ७८ हजार ९०५ र भुसालको उपचारका लागि एक लाख ३८ हजार ७४५ जापानी यान सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?