काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ ।
बिहीवार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए । सोहीबमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए । तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ । नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रवार केन्द्रीय कमिटीको बैठक राखेका हुन् ।
केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमवार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ । ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन् । सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन् ।
‘ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाललाई निर्देशन दिएपछि संवाद पनि भाँडिएको छ, अब संवादको पहल पनि निरर्थक हुँदै जाने देखिन्छ’, नेपाल निकट एक नेताले भने ।
ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन् । उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन् ।
केन्द्रीय कमिटीको बैठक बस्नुअघि भएको नेपाल–ओली संवाद फलदायी नभएपछि सुरेन्द्र पाण्डेलगायतका नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका थिए । तर उनीहरू पुग्नुअगावै नेपाल सुरक्षा गार्डसमेत छाडेर सभामुख अग्नि सापकोटाको सरकारी निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न निस्किएको स्रोतको दाबी छ । उनीहरूले एक घण्टाभन्दा बढी समय नेपाललाई कुरे । तर नेपाल नआएपछि उनीहरू ओलीलाई केन्द्रीय कमिटी बैठक रोक्न भन्न बालुवाटार पुगेका थिए । बालुवाटारमा ओली, ईश्वर पोखरेल र सुवास नेम्वाङलाई भेटेरे उनीहरूले बैठक रोक्न माग गरेका थिए । ओलीले भने पाण्डेलगायतका नेताहरूलाई केन्द्रीय कमिटीको बैठकचाहिँं नरोकिने भन्दै सहमतिका लागि प्रयास जारी राख्न भनेर फर्काएका थिए । ओलीले उनीहरूसँग आफू बैठक रोक्न तयार भए पनि माधवजीले भेट्न र कुराकानी गर्न नमानेको बताएका थिए । पाण्डेलगायतका नेताहरू दिउँसो चार बजेतिर भीम रावललाई भेट्न टोखा पुगेका थिए । ओली पक्षसँग निरन्तर संवाद गरिरहेका उनीहरूले रावललाई भेटेर ‘पार्टी एकतामै जोड गर्नुस्, पार्टी फुटाएर कहीं पनि पुगिँदैन, नेता नेपाललाई भेटेर कुरा गर्नुस्’ भनेका थिए । रावल पनि एकताकै पक्षमा सकारात्मक रहेकाले उनीहरूले नेपालसँग कुरा गर्न आग्रह गरेका थिए । नेता नेपालले ओली पक्षसँग संवादमा रहेका पाण्डेलगायतका पाँच नेतासँग शुक्रवार भेट नगरेको स्रोतको दाबी छ ।
दुवै पक्षका वार्ताकारले बिहीवार राति एक प्रकारको सहमतिको खाका बनाएर ओली र नेपाललाई संवादमा बस्न आग्रह गरेका थिए । आग्रहअनुसार दुवै नेताहरूबीच भएको टेलिफोन संवाद सुखद नभएपछि एकता प्रयास अघि बढ्न नसकेको नेताहरूको बुझाइ छ ।
‘अदालतको फैसलाबाहेक पार्टी विवादलाई मिलाउने विषयमा एक प्रकारले सहमति भएको थियो। केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक राख्ने र एकदुई दिनमै केन्द्रीय कमिटी बैठक राख्ने विषयमा ओली पक्ष सहमत भएको थियो । त्यसका लागि पहिला ओली–नेपालबीच वार्ता होस् भन्ने हाम्रो चाहना थियो । चाहनाअनुसार संवाद पनि भयो तर उहाँहरूबीच कुरा मिलेन’, नेपाल पक्षका एक नेताले भने ।
ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका नेताहरू पनि निरास भएका छन् । उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन् ।
केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षमा रहेका तीनजना नेता सहभागी भएका थिए। सिन्धुलीका कमलजंग राई, गणेश पहाडी र हरि पराजुली बैठकमा गएका थिए । तर नेपाल पक्षले बहिष्कार गरेको बैठकबाट ओलीले मिल्नेगरी भन्दा पनि पेल्नेगरी निर्णय गराएपछि पार्टी एक हुने सम्भावना क्षीण बन्न थालेको छ । ओलीले नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्री बनाउन र सर्वोच्च अदालतमा पेस गरेको हस्ताक्षरलाई मुद्दा बनाएर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेपाल बिच्किएको स्रोतको दाबी छ ।
राजनीतिक क्षेत्रमा यो निर्देशनबाट नेपाल पक्षलाई अब नयाँ गन्तव्य तय गर्न सजिलो भएको अनुमान गरिएको छ । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले नेता नेपालबिनाको एमाले अपूरो हुने र सँगैका साथीहरूलाई बाहिर राखेर बस्न नसकिने बताएका थिए । उनले नेपाल समूहसँगको विवाद मिलाउनुपर्नेमा जोड दिँदै यसको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए । ओलीले भने गौतमलाई आउने–जाने नगर्न आग्रह गरेका थिए । तर गौतमले आफू क्रिटिकल भएको बताउँदै सही विषयको मात्रै समर्थन गर्ने बताए । उनले ओलीलाई पार्टी एकता बनाइराख्न आग्रह गर्दै कसैलाई कारबाही गर्ने र कसैलाई पार्टीबाट निकाल्ने काम नगर्न भनेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया