युरो कप खेल ४६ : दोस्रो क्वार्टर फाइनलमा इटालीको तराजु भारी, विश्व नम्बर १ बेल्जियम बाहिरियो

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शुक्रवार राती भएको दोस्रो क्वार्टर फाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको छ।

जर्मनीको म्युनिखस्थित ‘एलियान्ज एरेना’मा भएको खेलमा चार पटक विश्वकप विजेता इटालीले शानदार खेलको नमुना पस्कियो। पहिलो हाफको १३औं मिनेटमा नै इटालीले गोल गर्न पुगेको थियो तर लियोनार्डो बोनुचि अफसाइड हुँदा सो गोललाई ‘भी.ए.आर.’ले खारेज गरिदियो।

त्यसपछि इटालीले खेलको ३१औं मिनेटमा पुनः गोल गर्यो। र यस पटक भने गोल मान्य पनि भयो। इटालियन मिडफिल्डर निकोलो बरेलाले शानदार फुटवर्क देखाउँदै सुन्दर गोल गर्दा इटालीले खेलमा अग्रता लियो।

पहिलो हाफमा निकै बलियो देखिएको इटालीले ४४औं मिनेटमा अग्रता दोब्बर बनायो। इटालियन फरवार्ड लोरेन्जो इन्सिन्याले सोलो गोल गरे। उनले बेल्जियमका युरी तिलीमान्सलाई सजिलै बिट गरेर ‘डी-बक्स’ बाहिरबाट प्रहार गरेको शटले बेल्जियमको पोस्टको ‘राईट टप कर्नर’ चुम्न पुग्यो।

तर पहिलो हाफको अतिरिक्त समयमा बेल्जियम खेलमा फर्कियो। बेल्जियन विंगर जेरेमी डोकु इटालियन ‘डी-बक्स’ भित्र लड्दा बेल्जियमले पेनाल्टी पायो। सो पेनाल्टीलाई रोमेलु लुकाकुले गोलमा परिणत गर्दा पहिलो हाफको खेल २-१ ले इटालीको पक्षमा गएको थियो।

दोस्रो हाफमा दुवै टोलीले निकै आक्रामक फुटबल खेले। बेल्जियमले केही सुवर्ण अवसरहरु पाउँदा पनि खेलमा बराबरी गोल गर्न भने सकेन। निर्धारित ९० मिनेटको समयमा अरु कुनै गोल हुन नसक्दा इटालीले विश्व नम्बर १ बेल्जियमलाई २-१ गोलले पराजित गरेको हो।

यस जितसँगै इटाली युरो कप २०२० को सेमी फाइनलमा प्रवेश गरेको छ। इटालीले सेमी फाइनलमा इङ्ल्यान्डको वेम्बली मैदानमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई बलिया टोली बिचको प्रतिस्पर्धा युरो कप इतिहासमै सबै भन्दा बढी खेलिएको खेल हो। सन् २०१२ युरो कपका दुई फाइनलिस्ट टोली स्पेन र इटाली युरो कपमा ७ पटक आमने सामने भइसकेका छन्।

उता बेल्जियमको युरो कप २०२० यात्रा भने अन्त्य भएको छ। फिफा वरियतामा विश्व नम्बर १ टोली बेल्जियमको ‘गोल्डेन जेनेरेशन’ भनिएको बलियो टोली यस पटक फेरी उपाधि विहिन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?