युरो कप खेल ४५ : लगातार तीन पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्ड युरो कपबाट बाहिरियो, स्पेन सेमी फाइनलमा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शुक्रवार भएको पहिलो क्वार्टर फाइनल खेलमा स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी ‘शुटआउट’मा ३-१ गोलले पराजित गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दा विजेता टुङ्गो लाग्न सकेको थिएन। पहिलो हाफको ८औं मिनेटमा स्पेनले खेलमा अग्रता लिएको थियो।

स्विस खेलाडी जकरियाको आत्मघाती गोलमा सन् २०१० को विश्वकप विजेता स्पेनले खेलमा १-० को पकड बनाउन सफल भएको थियो। तर दोस्रो हाफको ६८औं मिनेटमा स्विस कप्तान जेर्दान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा पुर्याउन सफल भए।

खेलको ७७औं मिनेटमा स्विस मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड पाएर मैदान बाहिर निस्किन बाध्य हुँदा स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित हुन पुग्यो। तर पनि निर्धारित ९० मिनेटको खेलमा विजेता टोलीको टुङ्गो नलाग्दा खेल अतिरिक्त समयतर्फ गएको हो। थपिएको ३० मिनेटको खेलमा पनि कुनै गोल हुन सकेन र पेनाल्टी शुटआउट नै अन्तिम विकल्प रह्यो।

स्पेनका कप्तान सर्जियो बुस्केट्सले प्रहार गरेको पहिलो पेनाल्टी पोस्टमा लागेर बाहिरियो। त्यसपछि स्विस खेलाडी गाभ्रानोभिचले आफ्नो पेनाल्टी मार्फत गोल गरे।

स्पेनले त्यस पश्चात् प्रहार गरेको चार पेनाल्टीमा तीन गोल गर्न सफल भयो। उता स्विट्जरल्यान्डले भने लगातार तीन पेनाल्टी किक मिस गर्न पुग्यो। स्विस खेलाडी शार, आकान्जी र भार्गास, तीनै जनाले आ-आफ्नो पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डको युरो कप २०२० यात्रा समाप्त भएको छ।

त्यस्तै यस जितसँगै तीन पटक युरो कप विजेता स्पेनले सेमी फाइनलमा स्थान पक्का गरेको छ। अब स्पेनले सेमिफाइनल खेलमा इटालीसँग वेम्बली मैदानमा प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?