गण्डकी प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन हुने

RSS
286
Shares

कास्की । गण्डकी प्रदेश सामाजिक विकासमन्त्रालयले प्रदेशमा ‘एक व्यक्ति दुई खोप’ अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले कोरोना विरुद्धका खोप खरिदका लागि सङ्घीय सरकारसँग समन्वय गर्ने जनाएको छ ।

सामाजिक विकास मन्त्री कुमार खड्काले जिल्ला समन्वय समिति कास्कीद्धारा आज आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने जानकारी दिए ।

जनताको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र सङ्घ र स्थानीय सरकारका बीच प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्दे आएको उनकोे भनाई छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले अभिमुखीकरण कार्यक्रमले विकास निर्माणका कामको अनुगमनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक डा भरतराज पहारीले गुणस्तरीय स्थानीय पूर्वाधार र अर्थपूर्ण अनुगमन विषयमा सहजीकरण गर्दै मुठीभर मानिसको हितका लागि मात्र गरिने कामलाई विकास मान्न नसकिने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विकास र सुशासन विषयमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तरीय एवम् दीगो विकास अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिए । सुशासन तथा कानून विज्ञ वीरेन्द्र पराजुलीले कार्यपालिका सदस्यको काम कर्तव्य र अधिकारबारे जानकारी गराउँदै स्थानीय सरकार सञ्चालन ऐनका आधारमा जनप्रतिनिधिहरुले काम गरेमा सहज हुने विश्वास व्यक्त गरे।

समाजशास्त्रका प्राध्यापक अञ्चला चौधरीले समाजशास्त्रीय दृष्टिकोणमा विकासको अवधारणाबारे चर्चा गर्दै विकास समय सान्दर्भिक हुनुपर्ने धारणा राखे ।कास्की लगायत छिमेकी जिल्लाका कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा समन्वय उपप्रमुख सावित्रा भण्डारी, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले प्रभावकारी अनुगमन र गुणस्तरीय विकास निर्माणको आवश्यकता माथि जोड दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?