गोपालमानलाई किन लाग्छ, कांग्रेस सभापति जित्छु ?

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पाका नेतामा गनिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र श्रेष्ठले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने बताएपछि सभापति देउवा समूहभित्र तरङ्ग उत्पन्न भएको छ ।

किनकि देउवाले आगामी भदौ १६ देखि १९ सम्म हुने कांग्रेस महाधिवेशनमा उम्मेद्वारी दिएर सभापतिमा दोहोरिने आकांक्षा राखिसकेका छन् । देउवा समूहबाटै उनलाई उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा चुनौती दिएका छन् ।

गोपालमानको उम्मेद्वारीलाई लिएर भने कतिपय कांग्रेसकै नेताहरुले उनको ‘बार्गेनिङ’ मात्रै भएको बताउने गरेका छन् । गोपालमानको उम्मेद्वारीलाई धेरैले कम आँकेका छन् । तर गोपालमान भने आफू सभापतिमा भिड्ने नै बताउँछन् । लोकपथसँग उनले भने “मेरो जित्ने आधार हुँदाहुँदै म किन पछि हट्ने ?” साथीभाइ, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि सबैको विश्वास आफूमाथि रहनु नै आफूले जित्ने बलियो आधार भएको उनको दाबी छ ।आफू कांग्रेसको लोकप्रिय नेता भएको पनि उनको भनाई छ ।

सभापति देउवाका निकट विश्वासपात्र मानिने गोपालमानले आफूले धेरै लामो समयसम्म देउवाको नजिक रहेर काम गरेको भन्दै अब देउवाले विगतको सहयोग सम्झेर आफूलाई सभापतिमा सघाउनु पर्ने उनको जिकिर छ ।

को हुन् गोपालमान ?

स्याङ्जा, पुतलीबजारका ७८ वर्षीय गोपालमान २०१७ देखि नै कांग्रेसमा सक्रिय छन् । गण्डकी प्रदेशका प्रदेश सांसद समेत रहेका कांग्रेस नेता मेखलाल श्रेष्ठ गोपालमानले कांग्रेसलाई परेको बेला आर्थिक र भौतिक रुपमा समेत सहयोग गर्ने गरेको सम्झिन्छन् । २०३१ मा रुपन्देहीको सुरजपुरा काण्डमा गिरिजाप्रसाद कोइराला, देउवा लगायतलाई आफैँले ट्रकमा हालेर भगाएर आक्रमणबाट जोगाएका थिए ।

सुरजपुरामा कांग्रेसको कार्यक्रम भइरहँदा तत्कालीन पञ्चायती सरकारद्वारा संरक्षित जत्थाले आक्रमण गरेका थिए । त्यतिबेला त्यहाँ यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भएको थियो ।

२०५९ मा देउवाले कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गर्दा गोपालमानले देउवालाई साथ दिएका थिए । उनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा देउवा गिरफ्तार भएपछि प्रजातान्त्रिक कांग्रेसको कार्यबाहक सभापति भएर काम गरे भने त्यसको महाधिवेशन गरेर देउवा जेलबाट छुटेपछि नेतृत्व हस्तान्तरण गरे ।

सायद गोपालमानले अहिले त्यसैको पैँचौ माग्दैछन् । तर देउवाले अर्कै दाउ खेल्दिए, आफैँ सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेर ।

कांग्रेसका तीन शीर्षस्थ नेता वीपी, गणेशमान र महेन्द्रनारायण निधिका पुत्रत्रय क्रमशः शंशाक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि समेत सभापति बन्ने दौडमा छन् । यसबाहेक कोइराला परिवारभित्रबाट शेखर कोइरालाले पनि सभापतिको उम्मेद्वारी दिने कुरा लुकाएका छैनन् । सुजाता कोइरालाको मनमा पनि बेला–बेला सभापतिको उम्मेद्वारी दिने ज्वारभाटा आइरहन्छ ।

अझ महत्वपूर्ण कुरा,कांग्रेस इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति बन्ने आफ्नो सपना कांग्रेसको यही १४ औँ महाधिवेशनबाट पुरा हुने ठानेका छन् ।

यस्तो रस्साकस्सीकाबीच गोपालमानले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?