काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशिल शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रवार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशिल शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरु भइरहेको बताएका हुन् । उनले देशलाई अनुशासनहिन, उश्रृङ्खल र सामाजिक सभ्यताहरुको उल्लंघन गरेर स्तरहिन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि बताए । उनले भने– ‘अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरुले अहिलेपनि आन्दोलनको संगठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने ति प्रवृत्तिहरु बढेका छन् । र देशलाई एउटा अनुशासनहिन, उश्रृङ्खल र सामाजिक सभ्यता, मर्यादाहरुको उल्लंघन गर्ने, छाडा, स्तरहिन प्रवृत्ति तर्फ धकेल्न खोजिएको छ । अहिले राजनीतिक मुद्दा आफ्नो ठाउँमा छन्, राजनीतिक थलोबाट मुद्दालाई अदालततिर पठाइएको छ । जनतामा जान नदिने प्रयासहरु भइरहेका छन् । ति प्रयास सँगसँगै अदालतलाई दबाब दिनका लागि र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्नका लागि त्यसलाई कमजोर पार्न, त्यसलाई छिन्नभिन्न पार्न अनेक प्रयास भएका छन् ।’
उनले नेकपा(एमाले)लाई जनताकोबीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताए । उनले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताए । उनले भने– ‘हाम्रो पार्टीको साख जनताको बिचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरु पनि भइरहेका छन् ।’
उनले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरु पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुठा लाञ्छनाहरु लगाएर समाजलाई असभ्य बनाउन खोजिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया