सरकारको छिमेकीसँगको सम्बन्ध कस्तो रहेछ स्पष्ट भयो : सांसद अधिकारी

लोकपथ
385
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले सरकारले प्रचार गरेजसरी खोप ल्याउन नसकेको बताए । सरकारले खोप ल्याउन नसक्नुले नेपालको छिमेकि सँगको सम्बन्ध कस्तो रहेछ भन्नेपनि स्पष्ट भएको उनले बताए । सत्तारुढ राजनीतिक नेतृत्व कोभिड नियन्त्रणमा पुर्ण रुपमा असफल भएको उनले बताए । उनले भने– ‘खोप ल्याउने भनेर जति सरकारले प्रचारित गरेपनि खोप आउन नसकेको तितो यथार्थ छ । र हाम्रो कुटनीतिक प्रयास छिमेकीसँग पनि कस्तो रहेछ भन्नेकुरा यस पटक उदाङ्गो भएको छ । कोभिड नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्णत्ः असफल भएको छ ।’

उनले संसद विघटनको सम्बन्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जानु स्वभाविक रहेको बताए ।

राजनीतिक समस्याहरुलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने भएपनि राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यसको छिनोफानो अदालतले नै गर्ने उनले स्पष्ट पारे । उनले भने – ‘एउटा कुरा बिर्सिन भएन । राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो कुरा हिजोपनि सर्वोच्च अदालतले हेरको छ । आजपनि हेर्छ र भोलिपनि हेर्नुपर्छ । यो कुरा सबैलाई हेक्का होस् ।’

राष्ट्रिय सभा सदस्य अधिकारीले सरकारले चुनाव गर्ने हठ गरिएको भएपनि चुनाव अनुकुलको परिस्थिति नभएको बताए । चुनावमा जानको निम्ति सरकारकै कोभिड सम्बन्धी उर्दी बाधक बनेको उनले बताए । सरकारले सिडिओहरु मार्फत् राणा शासन चलाएको पनि उनले बताए । उनले भने– ‘सरकार चुनाव गराउने हठ गर्दैछ । चुनावमा जान प्रतिपक्षको हैसियतमा हामीले हौसिनुपर्ने हो तर परिस्थिति चुनाव अनुकुल छैन । चुनावको घोषणा भइसकेको छ । तर जनतामाझ जान सरकारकै उर्दी बाधक छ । म सोध्न चाहान्छु, के सरकारको निषेधाज्ञा तोडेर निर्वाचनमा जान भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ? विशेषज्ञहरु कोभिडको तेस्रो दौड कार्तिक, मंसिर ताका आउने भन्दैछन्, सरकारको यसमा भनाई के छ ? आम नेपाली जनताले राणाकालीन बडाहामिकको शासन बेहोर्नुपरेको छ । सिडिओ मार्फत् सरकार चलाइँदै छ । यो कहिलेसम्म जाने हो ? कहिलेसम्म चल्ने हो ?’

उनले सञ्चारकर्मी रुपा सुनारलाई दलीत भएकै कारणले कोठा भाडामा नदिएको प्रकरणमा आरोपितलाई मन्त्रीले दबाब दिएर आफ्नै गाडीमा राखि छुटाएको घटनाको जति निन्दा गरेपनि कम हुने धारणा व्यक्त गरे । उनले भने – ‘दलीतको सवालमा केही बोल्नैपर्ने भएको छ । गएको वर्ष रुकुमको घटना दर्दनाक रुपमा यहाँ उठाइएको थियो । यसपाला काठमाडौंको मुटुमा नै रुपमा सुनारले घरबहाल दलीत भएकै कारणले बस्न नपाएको तितो कुरा सतहमा आएको छ । त्यसभन्दा पनि बढी यो कुराले हाम्रो शिर निहुँरिएको छ कि बहालवाला मन्त्रीले आफ्नै गाडीमा रुपाको जाहेरीमा अनुसन्धान सुरु भएका व्यक्तिलाई दबाब दिएर छुटाउनुभयो र अनुसन्धानमा हस्तक्षेप गर्नुभएको छ । यसकुरामा बर्तमान सरकारको जति निन्दा गरेपनि कम हुन्छ ।’

राष्ट्रिय सभा अधिकारीले देशमा कोभिडको कारण चौतर्फी रुपमा समस्या भइरहेको भएपनि सरकार अर्थ व्यवस्थापनमा चुकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?