युरो कप २०२० : ती ५ विश्वविख्यात खेलाडी जो यसपटक चुके

काठमाडौं । जारी युरो कप २०२० प्रतियोगितामा क्वार्टर फाइनल चरणका खेलहरु भोलि शुक्रवारबाट शुरू हुँदै छन् ।

‘मिनी वल्र्ड कप’ भनेर चिनिने युरो कप युरोपमा मात्र नभएर सारा संसारमै लोकप्रिय प्रतियोगिता हो । अझै नेपालमा अधिकांश दर्शकले इंग्लिश प्रिमियर लिग, इटालियन सिरी–ए, स्पेनिश ला–लिगा, जर्मन बुन्डेस लिगा तथा फ्रेन्च लिग–१ रुचाउने हुँदा युरोकप अझै प्रचलित हुन पुगेको हो ।

यसै सिलसिला यस १६औं संस्करणको युरो कपमा पनि जारी रह्यो । तर यस पटक भने केही वर्ल्ड क्लास खेलाडीले आफ्नो सामथ्र्य देखाउन सकेनन् । उनीहरूबाट अपेक्षा निकै नै धेरै राखिए पनि उक्त अनुरूप खेल देखाउन भने उनीहरूले सकेनन् ।

२४ राष्ट्र संलग्न यसपटकको युरो कपमा अब ८ राष्ट्र मात्र बाँकि छन् । १६ राष्ट्र यस प्रतियोगिताबाट बाहिरिएको अवस्थामा केही खेलाडीले गहिरो छाप छाडेर गए भने केही खेलाडीले बिर्सन योग्य प्रदर्शनी देखाए ।

क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, एमिल फोर्सबर्ग जस्ता खेलाडी प्रतियोगिताबाट बाहिरिँदा पनि अझै युरो कप गोल्डेन बुट रेसमा अरु खेलाडी भन्दा माथि नै छन् । तर आफ्ना क्लबका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने केही विश्व विख्यात खेलाडीले भने यस प्रतियोगितामा कुनै पनि प्रभाव पार्न सकेनन् ।

 

५) बरनार्डो सिल्भा (पोर्चुगल)

सन् २०१९ ‘पोर्चुगिज फुटबलर अफ द इयर’ बरनार्डो सिल्भाले यसपटकको युरो कपमा निराशाजनक प्रदर्शनी देखाए । सन् २०१७ देखि इंग्लिश क्लब म्यानचेस्टर सिटीका लागि व्यावसायिक फुटबल खेल्दै आएका सिल्भा क्लबका लागि उत्कृष्ट फुटबल खेल्ने गर्छन् ।

सिटीका लागि २०९ खेलमा ३७ गोल गरिसकेका सिल्भाले सन् २०१८, २०१९ र २०२१ मा इंग्लिश प्रिमियर लिग उपाधि पनि जितिसकेका छन् । अझै सन् २०१९ मा पोर्चुगलसँग ‘युईएफए नेसन्स लिग’ को उपाधि पनि जितेका मिडफिल्डर सिल्भाले क्लबका लागि सन् २०१८ देखि अहिलेसम्म चार पटक इंग्लिश लिग कप उपाधि र एफए कप उपाधि जितेका छन् ।

गत सिजन क्लब फुटबलमा २६ खेलमा २ गोल र ६ असिस्टको योगदान दिएका सिल्भाले युरो कप २०२० मा पोर्चुगलका लागि खराब प्रदर्शनी गरे । उनले फ्रान्सविरुद्ध ७२ मिनेट, हंगेरीविरुद्ध ७१ मिनेट र जर्मनी विरुद्ध ४५ मिनेट मैदानमा रहँदा कुनै पनि गोल तथा असिस्ट गर्न सकेनन् । त्यस्तै अन्तिम १६ को खेलमा बेल्जियम विरुद्ध ५५ मिनेट खेलेका सिल्भाको निराशाजनक प्रदर्शनीले गर्दा पनि पोर्चुगलको युरो यात्रा अन्त्य भएको हो ।

 

४) ग्यारेथ बेल (वेल्स)

‘ग्यारेथ बेल घाइते भएनन् भने उनी मेस्सी र रोनाल्डोको लेभलका खेलाडी हुन्’, रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोसका शब्द हुन्।

रियल मड्रिडसँग चार पटक च्याम्पियन्स लिग उपाधि जितेका बेल प्रमाणित विजेता तथा गोलकर्ता हुन् । सन् २०२०/२१ सिजन इंग्लिश क्लब टोटनह्याममा बिताएका बेलले इन्जुरीका बावजुद ३४ खेलमा १६ गोल गर्न सफल भए । अझै प्रिमियर लिगमा मात्र ११ गोल गरेका बेलले शेफिल्ड युनाइटेड विरुद्ध १ ह्याट्रिक समेत प्रहार गरेका थिए ।

वेल्सका लागि सधैं नै राम्रो प्रदर्शनी गर्ने बेलले यस पटकको युरो कपमा भने कुनै पनि गोल गर्न सकेनन् । यति भन्दा उनको योगदान त्यस्तो खराब रहेको पनि होइन। उनले यस प्रतियोगितामा कुल ३ सय ५६ मिनेट फुटबल खेल्दा दुई असिस्ट प्रदान गरे ।

सम्भवत वेल्सका लागि यस युरो कपका उत्कृष्ट खेलाडी बेल नै रहे । तर पनि उनको क्षमताको व्यक्तित्वले प्रतियोगिताको ४ खेलमा कुनै पनि गोल गर्न नसक्नुलाई असफलता नै मान्न मिल्छ । अझै समूह चरणमा टर्की विरुद्धको खेलमा उनले प्रहार गरेको पेनाल्टी किक आकासिएको थियो । यसले उनको असफलता प्रष्ट दर्शाएको छ ।

 

३) सर्ज ग्नाब्री (जर्मनी)

बायर्न म्युनिखका सुपरस्टार सर्ज ग्नाब्रीबाट यो युरो कपमा धेरै अपेक्षा राखिएको थियो ।

जर्मनीका सबैभन्दा महत्वपूर्ण खेलाडी पनि शायद ग्नाब्रीलाई नै मानिएको थियो। बायर्न म्युनिखका लागि गत सिजन २७ खेलमा १० गोल र २ असिस्टको योगदान दिएका ग्नाब्रीले बायर्नसँग च्याम्पियन्स लिग देखि बुन्डेस लिगा उपाधिसम्म सबै जितेका छन् ।

जब कोही खेलाडीले आफ्नो टोलीको लागि १० नम्बर जर्सी लगाएर खेल्छ, उसमा पुरै टोलीको जिम्मेवारी स्वत आउने गर्दछ । ग्नाब्री पनि जर्मनीका लागि १० नम्बर जर्सी लगाएर खेल्ने गर्दछन् । तर उनले यस प्रतियोगितामा न त कुनै गोल गर्न सके न त कुनै असिस्ट नै प्रदान गरे ।

युरो कप अघि लाटभियासँगको मैत्रीपूर्ण खेलमा मात्र एक हाफ खेलेर १ शानदार गोल गर्न सफल भएका ग्नाब्रीले यस प्रतियोगितामा हंगेरीविरुद्ध ६७ मिनेट, पोर्चुगलविरुद्ध ८८ मिनेट र फ्रान्सविरुद्ध ७४ मिनेट मैदानमा रहँदा पनि कुनै जादु गर्न सकेनन् । उनको प्रदर्शन यति खराब रह्यो की अन्तिम १६ मा इङ्ल्यान्ड विरुद्ध उनलाई केवल २२ मिनेट खेलाइयो ।

 

२) ब्रुनो फर्नान्डेज (पोर्चुगल)

पछिल्लो समय इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडको पुनरागमनमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका खेलाडी हुन् ब्रुनो ।

सन् २०१९/२० सिजनको मध्यान्तरमा पोर्चुगलबाट युनाइटेड आएका ब्रुनो मात्र आधा सिजन खेल खेल्दा ‘प्रिमियर लिग टिम अफ द सिजन’ मा पर्न सफल भएका थिए । यस सिजन पनि ‘प्रिमियर लिग टिम अफ द इयर’ मा परेका ब्रुनोले ३७ खेलमा १८ गोल गर्दा १२ असिस्ट प्रदान गर्न सफल भएका थिए ।

इंग्लिश प्रिमियर लिगकै उत्कृष्ट मिडफिल्डरमा पर्दछन् ब्रुनो । र युरो कप अगाडि पोर्चुगल र इजरायल विरुद्धको मैत्रीपूर्ण खेलमा उनले २ गोल र १ असिस्ट प्रदान गर्दा उनको उत्कृष्टता युरो कपमा पनि झल्किने निश्चित देखिएको थियो । तर ब्रुनोले सबैले सोचे विपरीत प्रदर्शन गरे । उनले यस युरो कपमा कुनै पनि गोल गर्न सकेनन् । अझै उनले पोर्चुगलको कुनै पनि गोलमा असिस्ट समेत प्रदान गर्न सकेनन् । हंगेरीविरुद्ध ८९ मिनेट र जर्मनीविरुद्ध ६४ मिनेट मैदानमा रहेका ब्रुनोको प्रदर्शनीमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोस निराश देखिए ।

उनले ब्रुनोलाई त्यसपछिको दुई खेलमा शुरुवात समेत गराएनन् । उनले फ्रान्सविरुद्ध मात्र १८ मिनेट खेले भने अन्तिम १६ मा बेल्जियमविरुद्ध ३५ मिनेट खेले । डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कपबाट यति छिट्टै बाहिरिनुमा ब्रुनोको खराब प्रदर्शनीको हात पनि रहेको छ ।

 

१) कीलियन एमबाप्पे (फ्रान्स)

फ्रेन्च लिग–१ का सर्वाधिक गोलकर्ता एमबाप्पेले जारी युरो कपमा कुनै पनि गोल नगर्लान् भन्ने शायदै कसैले कल्पना गरेका थियौं ।

पीएसजीका सुपरस्टार तथा ‘मोडर्न डे फुटबल’ मा उत्कृष्ट मध्येका एक खेलाडी एमबाप्पेले यसपटक आफ्नो करियरकै सबैभन्दा नराम्रो प्रदर्शनी देखाए ।
सन् २०१८ मा फ्रान्सले फिफा विश्वकप फुटबलको उपाधि जित्दा एमबाप्पेले ठूलो भूमिका निर्वाह गरेका थिए । सोही स्तरको प्रदर्शनीको अपेक्षा एमबाप्पेबाट यस युरो कपमा पनि थियो ।

फ्रान्सका जर्सी नम्बर १० एमबाप्पेले यस पटकको युरो कपमा भने सबैको सोचाई विपरीत निकै खराब प्रदर्शनी देखाए । गत सिजन पीएसजीका लागि ३१ खेलमा २७ गोल र ७ असिस्ट प्रदान गरेका एमबाप्पेले समूह चरणको तीनवटै खेलमा ९० मिनेट खेल्दा कुनै पनि गोल तथा असिस्टको योगदान दिएनन् ।
अन्तिम १६ को खेलमा स्विट्जरल्यान्ड विरुद्ध करिम बेन्जेमाको पहिलो गोलको लागि असिस्ट प्रदान गरेका एमबाप्पेले पेनाल्टी शुटआउटमा निर्णायक पेनाल्टी मिस गर्दा फ्रान्स प्रतियोगिताबाटै बाहिरियो । हरेक ९० मिनेटमा १.०२ गोल तथा ०.२६ असिस्टको औसत राख्ने फ्रेन्च स्टार एमबाप्पेले यस युरो कपमा ३ सय ९० मिनेट खेल्दा मात्र १ असिस्टको योगदान दिए ।

एमबाप्पे एक उत्कृष्ट खेलाडी हुन्, त्यसमा कुनै शंका छैन । तर यस प्रतियोगितामा सबै भन्दा निराशाजनक प्रदर्शनी गर्ने खेलाडी पनि एमबाप्पे नै हुन्, यसमा पनि कुनै दुई मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?